RayNewsDaily
मन्त्रिपरिषद्को पहिलो बैठकः जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय   

काठमाण्डू । नवगठित सरकारको पहिलो मन्त्रिपरिषद् बैठकले गत भदौ २३ र २४ गतेको प्रदर्शनका क्रममा भएको घटनाको छानबिन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको छ । साथै बैठकले सरकारको प्रवक्तामा शिक्षा, विज्ञान तथा प्रविधि र युवा तथा खेलकुदमन्त्री सस्मित पोखरेललाई तोक्ने निर्णय गरेको छ ।    
    
पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको आयोगको प्रतिवेदनले कारबाहीका लागि सिफारिस गरेकामध्ये सुरक्षा निकायका हकमा अर्काे अध्ययन समिति गठन गर्ने र अन्यको हकमा तत्काल कार्यान्वयन गर्ने निर्णय भएको बैठकपछि सरकारका प्रवक्ता पोखरेलले जानकारी दिनुभयो ।    
    
आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, तत्कालीन गृहमन्त्री रमेश लेखक, तत्कालीन प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङलगायतलाई कारबाही सिफारिस गरेको थियो ।    
    
तत्कालीन प्रधानमन्त्री सुशीला कार्कीलाई बुझाइएको सो प्रतिवेदन सङ्घीय संसद् सचिवालयको पुस्तकालयमा अभिलेख राखी सार्वजनिक गर्ने निर्णय गरिएको थियो । बैठकले जेनजी आन्दोलनलगायत विभिन्न आन्दोलनमा साहदत प्राप्त भएकाहरूलाई श्रद्धाञ्जलि दिने निर्णय पनि गरेको छ ।     
    
बैठकले शासकीय सुधारका योजना स्वीकृत गरेको प्रवक्ता पोखरेलले जानकारी दिनुभयो । नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदबारस्थित पदभारपछि मन्त्री र सचिवहरूलाई जनताको पक्षमा काम गर्न निर्देशन दिनुभएको थियो । रासस   
  
  

प्रकाशित मिति: शुक्रबार, चैत १३, २०८२  १९:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update