RayNewsDaily
निर्वाचनले लोकतान्त्रिक अभ्यासलाई सफल बनाएको छ : प्रधानमन्त्री कार्की    
प्रधानमन्त्री सुशीला कार्कीलाई बिहीबार जुम्लामा स्वागत गर्दै जुम्लावासी । गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनलाई सफल बनाउन फिल्डमै खटिएर भूमिका निर्वाह गर्ने कर्मचारी, सुरक्षाकर्मी तथा आमनेपाली नागरिकप्रति धन्यवाद व्यक्त गर्न उहाँ जुम्ला आउनुभएको हो । तस्बिर सौजन्यः प्रधानमन्त्रीको सचिवालय/रासस

काठमाडौँ । प्रधानमन्त्री प्रधानमन्त्री सुशीला कार्की फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनलाई सफल बनाउन कार्यक्षेत्रमै खटिएर भूमिका निर्वाह गर्ने कर्मचारी, सुरक्षाकर्मी तथा आम नेपाली नागरिकप्रति धन्यवाद व्यक्त गर्नुभएको छ ।     
     
आज कर्णालीमा पुगेर निर्वाचनमा सहयोग पु्र्याउन सबैलाई धन्यवाद दिनुभएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार रामबहादुर रावलले जानकारी दिनुभयो । उहाँ निर्वाचनपूर्वको निरीक्षण भ्रमणमा कर्णाली पुग्न सक्नुभएको थिएन ।     
     
प्रधानमन्त्री कार्की आज बिहान मुगु जिल्लाको रारा पुग्नुभएको थियो । त्यहाँ जिल्लास्तरीय सुरक्षा प्रमुखहरूसँग अन्तरक्रिया गर्नुभयो । त्यसपछि उहाँ जुम्लाको खलङ्गा पुगेर जिल्लास्तरीय सुरक्षा प्रमुखहरूसँग अन्तरक्रिया गर्नुभयो । सो क्रममा उहाँले सीमित स्रोतसाधन र कठिन भूगोलका बाबजुद पनि प्रभावकारी समन्वय र प्रतिबद्धताका साथ निर्वाचन सम्पन्न गराएको भन्दै सुरक्षा निकाय र कर्मचारीहरूको प्रशंसा गर्नुभयो ।     
     
उहाँले स्थानीय बासिन्दासँग पनि भेटघाट तथा अन्तरक्रिया गर्दै निर्वाचनलाई शान्तिपूर्ण र सफल बनाउन देखाइएको एकता, सद्भाव र सहकार्यप्रति विशेष धन्यवाद व्यक्त गर्नुभयो । प्रधानमन्त्री कार्कीले भन्नुभयो, “देशले कठिन परिस्थितिमा पनि लोकतान्त्रिक अभ्यासलाई सफल बनाएको छ, यसको श्रेय सम्पूर्ण नेपाली जनतालाई जान्छ ।”     
     
यसै क्रममा, प्रधानमन्त्री कार्कीले जुम्लास्थित कर्णाली प्राविधिक शिक्षालयको अवलोकन पनि गर्नुभयो । विसं २०३७ मा स्थापना भएको उक्त संस्थालाई नेपालकै पहिलो प्राविधिक शिक्षालयमध्ये एक मानिन्छ । विद्यार्थी, शिक्षक तथा स्थानीय बासिन्दाले प्रधानमन्त्रीलाई लालीगुराँस दिएर स्वागत गरेका थिए ।     
     
प्रधानमन्त्री कार्कीको यो भ्रमणको मुख्य उद्देश्य निर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा धन्यवाद व्यक्त गर्नुका साथै छोटो कार्यकालमा सरकारलाई प्राप्त जनसमर्थनप्रति कृतज्ञता प्रकट गर्नुरहेको प्रेस सल्लाहकार रावलले बताउनुभयो । रासस

प्रकाशित मिति: बिहीबार, चैत ५, २०८२  १६:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update