RayNewsDaily
पूर्वी नेपालमा शान्तिपूर्ण रुपमा मतदान हुँदै

रमेश हतुवाली/विराटनगर । आज भैरहेको प्रतिनिधि सभाको निर्वाचनमा पूर्वी नेपालका मतदाताले उत्साहपूर्वक मतदान गरिरहेका छन् ।

पूर्वी नेपालका ताप्लेजुङ, पाँचथर, झापा, इलाम, मोरङ, सुनसरी, धनकुटा, संखुवासभा, उदयपुर, सोलुखुम्बू लगायतका जिल्लाहरुमा शान्तिपूर्ण रुपमा मतदान भैरहेको छ । कोशी प्रदेश निर्वाचन कार्यालयका अनुसार धेरै मतदाताहरु बिहान ७ बज्नु भन्दा पहिले नै मतदान स्थलमा पुगेका थिए । मतदाताहरुलाई सहज मतदानमा कुनै समस्या नहोस भनेर आयोगले मतदान केन्द्रलाई व्यवस्थित बनाएको छ । 

कोशी प्रदेशको राजधानी विराटनगरका मतदाताहरु बिहान सबैरैदेखि मतदानका लागि पायक पर्ने मतदान केन्द्रमा पुगेका थिए । दिउँसो गर्मी हुने र खाना खाए पछि मतदान केन्द्रमा भिडभाड समेत हुने भएकाले अधिकांश पाको उमेरका मतदातालाई बिहानै मतदान केन्द्रमा पुर्याईएको थियो । 

विराटगनरको पुष्पलालचौकस्थित जनता आदर्श बहुमुखी क्याम्पस मतदान केन्द्र, शंकरपुरस्थित जनता नमूना मा.वि. मतदान केन्द्र, शनिहाटस्थित आदर्श रात्री विद्यालय, शहीद रंगशालास्थित आदर्श उच्च मा.वि. केन्द्र लगायका मतदान स्थलहरुमा समाचार तयार पार्दा सम्म ४५ प्रतिशत भन्दा बढी मतदान भएको निर्वाचन आयोगले जनाएको छ । 

प्रकाशित मिति: बिहीबार, फागुन २१, २०८२  १५:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update