रमेश हतुवाली/विराटनगर । पूर्वी नेपालमा प्रतिनिधि सभाको भोलि हुने निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको छ ।
मोरङ जिल्लास्थित निर्वाचन कार्यालयका अनुसार भोलिको निर्वाचनमा सो जिल्लाबाट ७ लाख ८३ हजार ५० जनाले मतदान गर्ने अधिकार प्राप्त गरेका छन् । मोरङमा यस निर्वाचनमा विभिन्न राजनीतिक दल र स्वतन्त्र गरी १ सय १० जना उम्मेदवार रहेका छन् । सो जिल्लामा ३ सय ६ वटा मतदान स्थल र ८ सय ८८ वटा मतदान केन्द्र तोकिएको छ ।
मुरारी आचार्य, मतदान अधिकृत, सुशिक्षा निकुञ्ज आधारभूत विद्यालय केन्द्र, विराटनगर
मोरङमा ६ वटा निर्वाचन क्षेत्र रहेका छन् । यस निर्वाचनमा सो जिल्लाबाट नेकपा एमाले, नेपाली कांग्रेस, नेपाली कम्युनिष्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी, श्रम संस्कृति पार्टी लगायकाबीचमा वलियो प्रतिस्पर्धा हुने देखिएको छ ।
जिल्लाको शान्ति सुरक्षाको अवस्था चुस्त दुरुस्त राखिएको र मतदान केन्द्रमा सहज रुपमा मतदान गर्ने वातावरण निर्माण गरिएको निर्वाचन आयोगले जनाएको छ । भोलि बिहान ७ बजेदेखि मतदान सुरु हुने भएकोले हुनाले सम्पूर्ण मतदातालाई परिचय पत्र बोकेर समयमै मतदान केन्द्रमा उपस्थित हुन पनि निर्वाचन आयोगले अनुरोध गरेको छ ।
विराटनगर ८ स्थित सुशिक्षा निकुञ्ज आधारभूत विद्यालय केन्द्रका मतदान अधिकृत मुरारी आचार्यले सो केन्द्रमा मतदानको तयारी अन्तिम चरणमा पुगेको र भोलि बिहान ७ बजे मतदान गर्न सकिने रे टेलिभिजनलाई जानकारी दिनुभयो ।
गत भदौं २३ र २४ गते भएको जेन जी आन्दोलनपछि हुन लागेको प्रतिनिधि सभाको निर्वाचनलाई मुलुकमा विद्यमान राजनीतिक संकटलाई निकास दिने महत्वपूर्ण अवसरका रुपमा हेर्नुपर्ने विज्ञहरुले बताएका छन् ।
