RayNewsDaily
विशिष्ट पदाधिकारी, दलका नेता र लब्ध प्रतिष्ठित व्यक्तिका मतदान केन्द्र    

काठमाडौँ । प्रतिनिधिसभा सदस्यको भोलि फागुन २१ गते हुने निर्वाचनका लागि मुलुकका अतिविशिष्ट पदाधिकारीदेखि राजनीतिक दलका मुख्य नेता र समाजका लब्ध प्रतिष्ठित व्यक्तिहरूले तोकिएका मतदान केन्द्रमा मतदान गर्दै हुनुहुन्छ । उहाँहरूले यसअघिका निर्वाचनमा जस्तै आआफ्नो मतदाता नामावली कायम भएको मतदान केन्द्रमा गई अमूल्य मतदान गर्नुहुनेछ ।     
     
प्रधानमन्त्री सुशीला कार्कीले काठमाडौँको टोखा नगरपालिका धापासीस्थित मतदान केन्द्रबाट मतदान गर्ने उहाँका प्रेस सल्लाहकार रामबहादुर रावलले जानकारी दिनुभयो । राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले चितवनको भरतपुर महानगरपालिका-१४ स्थित नेपाल प्रहरी स्कुल शान्तिपुरको मतदान केन्द्रबाट मतदान गर्नुहुने भएको छ ।     
     
नेपाली कांग्रेस सभापति गगनकुमार थापाले काठमाडौँको मैतीदेवी मयुर कुण्ड मतदान केन्द्रबाट मतदान गर्नुहुनेछ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने काठमाडौँको चुच्चेपाटीस्थित उपत्यका खानेपानी लिमिटेडको महाँकाल मतदान केन्द्रबाट मतदान गर्दै हुनुहुन्छ । रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाहले काठमाडौँ महानगरपालिका-९ तीनकुने गैरीगाउँस्थित अन्नपूर्ण विद्यालय केन्द्रबाट मतदान गर्ने जनाइएको छ ।     
     
पूर्वराष्ट्रपति रामवरण यादवले धनुषाको लक्ष्मीनियाँ गाउँपालिका-४ सपहीस्थित विपी कोइराला मावि मतदान केन्द्रमा मतदान गर्नुहुनेछ भने अर्का पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले काठमाडौँको बूढानीलकण्ठ नगरपालिका-२ भङ्गालस्थित साविकको गाविस भवन मतदान केन्द्रबाट मतदान गर्नुहुनेछ ।     
     
नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको मतदान केन्द्र डडेल्धुराको गन्यापधुरा गाउँपालिका-१ स्थित असिग्राम मावि रुवाखोला भए पनि यसपटक उहाँ मुलुक बाहिर रहनुभएकाले मतदान गर्नुहुने छैन ।     
 नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले भक्तपुरको सूर्यविनायक नगरपालिका-२ बालकोटस्थित महेन्द्र शान्ति माध्यमिक विद्यालय मतदान केन्द्रमा मतदान गर्ने उहाँको सचिवालयले जनाएको छ ।     
     
यस्तै नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चितवनको भरतपुर महानगरपालिका-१४ स्थित नेपाल प्रहरी स्कुल शान्तिपुर मतदान केन्द्रबाट मतदान गर्नुहुनेछ । नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले रौतहटको रामजानकी कन्या आधारभूत विद्यालय मतदान केन्द्रबाट मतदान गर्नुहुनेछ ।     
     
सोही पार्टीका वरिष्ठ नेता झलनाथ खनालको इलामको सूर्योदय नगरपालिका-९ रम्फोकस्थित राष्ट्रिय आधारभूत विद्यालयको मतदान केन्द्रको मतदानस्थलमा नामावली समावेश छ ।     
     
पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले गोरखा क्षेत्र नं २ अन्तर्गत पालुङटार नगरपालिकाको खोप्लाङस्थित अन्नपूर्ण माध्यमिक विद्यालयमा रहेको मतदान केन्द्रबाट मतदान गर्नुहुनेछ । मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले काठमाडाँैको पुरानो बानेश्वरस्थित सानो गौचरण पार्क मतदान केन्द्रबाट मतदान गर्नुहुनेछ ।     
     
यसैगरी कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले काठमाडौँको अनामनगरस्थित मिलन विद्या मन्दिर मतदान केन्द्रमा मतदान गर्नुहुनेछ । निर्वाचन आयुक्त डा जानकीकुमारी तुलाधरले लमजुङको सुन्दरबजार नगरपालिका-२ स्थित महेन्द्र मावि परेवाडाँडा र आयुक्त सगुन शम्शेर जबराले टोखा नगरपालिका-४ फैमाचुली धपासी निमावी मतदान केन्द्रबाट मतदान गर्नुहुनेछ । मुख्यसचिव सुमनराज अर्यालले गोकर्णेश्वर नपा-६ लर्डलाइट एकेडेमी मतदान केन्द्रबाट मतदान गर्नुहुनेछ ।     
     
जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले मोरङको विराटनगर-१४ स्थित स्नातकोत्तर क्याम्पसको विज्ञान भवन मतदान केन्द्रमा मतदान गर्दै हुनुहुन्छ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले झापाको हल्दिबारी गाउँपालिका-१ स्थित वडा कार्यालयमा मतदान गर्नुहुनेछ ।     
     
यस्तै नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले भक्तपुर नगरपालिका-५ विद्यार्थी निकेतन माध्यमिक विद्यालय साकोठा मतदान केन्द्रबाट मतदान गर्दै हुनुहुन्छ ।     
     
उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले काठमाडौँ महानगरपालिका-६ महाँकालस्थित जनकल्याण मावि मतदान केन्द्रबाट मतदान गर्ने सचिवालयले जनाएको छ । यस्तै श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले सुनसरीको धरान उपमहानगरपालिका-१८ कार्मेल विद्यालय बुद्धचोक मतदान केन्द्रबाट मतदान गर्नुहुनेछ ।     
     
कांग्रेसका नेता प्रकाशमान सिंहले नेपाल युवक माध्यमिक विद्यालय पकनाजोल, नेता डा शेखर कोइरालाले मोरङको विराटनगर-७ आदर्श माध्यमिक विद्यालय मतदान केन्द्र, नेपाली कम्युनिष्ट पार्टीका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले गोरखाको सिरानचोक गाउँपालिका-८ जौबारीस्थित परोपकार आर्दश मावि ‘क’ मतदान केन्द्र, एमालेका महासचिव शङ्कर पोखरेलले दाङको तुलसीपुर उपमहानगरापलिका-१८ विजौरीस्थित जनता संस्कृत मावि मतदान केन्द्र, एमाले उपमहासचिव योगेश भट्टराईले ताप्लेजुङको मैवाखोला गाउँपालिकास्थित नारायणी मावि मतदान केन्द्रमा मतदान गर्दै हुनुहुन्छ ।     
     
कांग्रेस उपसभापति विश्वप्रकाश शर्माले झापाको मेचीनगर-९ स्थित कविशिरोमणि मावि मतदान केन्द्र, नेता विमलेन्द्र निधिले धनुषाको नगराइन नगरपालिका-२ स्थित श्री राजेश्वर निधि मावि मतदान केन्द्र, नेता कृष्णप्रसाद सिटौलाले झापाको भद्रपुर नगरपालिका-१० स्थित कलवलगुडी आधारभूत विद्यालयको (क) मतदान केन्द्र र एमाले वरिष्ठ नेता ईश्वर पोखरेलले टोखा नगरपालिका-६ कार्यालयस्थित धापासी मतदान केन्द्रबाट मतदान गर्ने हुनुभएको छ ।     
     
एमाले नेता सुरेन्द्र पाण्डेले चितवनको राप्ती नगरपालिका-५ भण्डारा अस्पताल मतदान केन्द्र, प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता एवं पूर्वअर्थमन्त्री जनार्दन शर्माले रुकुमपश्चिमको मुसिकोट नगरपालिका-५ सेरीगाउँस्थित यमुना नन्द नमूना माध्यमिक विद्यालय मतदान केन्द्र र नेकपाका नेता वर्षमान पुनले रोल्पा नगरपालिका-७ स्थित बालउदय मावि माडीचौर मतदान केन्द्रबाट मतदान गर्दै हुनुुहन्छ ।     
     
यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डिपी अर्यालले काठमाडौँ महानगरपालिका–१६ र स्वर्णिम वाग्लेले गोरखा सहिद लखन थापा गापाबाट मतदान गर्नुहुनेछ ।     
     
शताब्दी पुरुष एवं राष्ट्रिय मानव अधिकार आयोगका पूर्वसदस्य गौरीशङ्करलाल दासले काठमाडौँ महानगरपालिका–७ सिफलचौर मतदान केन्द्रबाट मतदान गर्नुहुनेछ । त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति केदारभक्त माथेमाले ललितपुर महानगरपालिका-२ सानेपास्थित राजघाट मतदान केन्द्रबाट मतदान गर्नुहुनेछ ।     
     
नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले काठमाडौँ महानगरपालिका विशालनगरस्थित विशाल मिलन केन्द्र मतदान केन्द्र, नेपाल उद्योग परिसङ्घका अध्यक्ष वीरेन्द्रराज पाण्डेले कुलेश्वरस्थित कृषि सामग्री संस्थान मतदान केन्द्र र नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले काठमाडौँको पद्मकन्या मावि डिल्लीबजार मतदान केन्द्रबाट मतदान गर्नुहुनेछ ।     
     
अभिनेता राजेश हमालले लैनचौरस्थित जननाथ स्मृति मावि केन्द्र, अभिनेत्री करिश्मा मानन्धरले महाराजगञ्जस्थित काठमाडौँ महानगरपालिका-३ को वडा कार्यालयमा रहेको केन्द्र र अभिनेता भुवन केसीले काठमाडौँ क्षेत्र नं २ स्थित गुह्येश्वरी मावि केन्द्रबाट मतदान गर्नुहुनेछ । रासस

प्रकाशित मिति: बुधबार, फागुन २०, २०८२  १६:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update