रमेश हतुवाली/विराटनगर । नेपालीहरुको रंगीन चाड फागुपूर्णिमा होली हिजै सकिए पनि तराई-मधेसमा आज पनि स्थानीयहरु होलीमा रमाईरहेका छन् ।
रातो, पहेँलो, निलो, हरियो लगायतका विभिन्न रंग एकआपसमा दलेर मानिसहरु रमाईरहेका दृश्य सडकहरुमा देखिएको छ । मान्यजन र आफन्तबाट विभिन्न किसिमका दलेर रमाउनेहरुको संख्या पनि उत्तिकै छ भने कतिपय नाचगानमा रमाईरहेका दृश्यहरु पनि यत्रतत्र देखिएको छ ।
पहाडी क्षेत्रमा फागुपूर्णिमाका दिन र त्यसको भोलिपल्ट तराई मधेसमा होली खेल्ने परम्परा रहँदै आएको भए पनि हिजो चन्द्र ग्रहण लागेको हुनाले धेरै मानिसहरुले आज होली पर्व मनाएका हुन् ।
असत्यमाथि सत्यको विजयको प्रतीक, पारिवारिक एवं सामाजिक एकताको पर्वका रुपमा पनि यो पर्व मनाउने प्रचलन छ ।

वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाउने परम्परा छ । यस पर्वका अवसरमा काठमाण्डूको वसन्तपुरमा उपस्थित मानिसले वातावरणलाई नै रङ्गीचङ्गी तुल्याउँदै त्यहाँ गाडिएको चीरलाई विधिपूर्वक ढाली बाजागाजाका साथ टुँडिखेलमा लगी जलाउँछन्। उक्त चीरमा राखिएका ध्वजापताका औषधोपचारको काममा आउने विश्वासका साथ लुछाचुँडी गरी लिने र अनिष्ट टर्छ भनी चीरको खरानीको टीका लगाइन्छ।
यस पर्वलाई एक आपसमा विभिन्न रङ्ग तथा अबीर लगाएर मनाउने चलन छ ।
