RayNewsDaily
आर्थिक सहयोग गरेर विद्यालयलाई ऋणमुक्त

म्याग्दी ।  जलजला गाउँपालिका-१ बाँसखर्कमा रहेको ज्योति मण्डल माध्यमिक विद्यालयलाई दाताहरूले आर्थिक सहयोग गरेर ऋणमुक्त बनाएका छन् ।    
    
निजी स्रोतबाट मावि तह सञ्चालन, जग्गा खरिद, भवनलगायत पूर्वाधार निर्माणका लागि विद्यालयले प्रधानाध्यापक मेखबहादुर खत्रीको घरजग्गा सहकारीमा धितो राखेर ऋण लिएको थियो ।    
    
पूर्वशिक्षक, व्यवस्थापन समितिका पूर्वअध्यक्ष तथा बाँसखर्कका पूर्वप्रधानपञ्च लालबहादुर पुनका नातिनीहरूले सहकारीको ऋण तिरेर विद्यालयलाई ऋणमुक्त बनाएका हुन् ।    
    
पुन परिवारले सहकारीमा रहेको रु नौ लाख २९ हजार ऋण तिरेर धितो राखेको जग्गाधनी प्रमाणपत्र फिर्ता गराएको प्रअ खत्रीले जानकारी दिनुभयो । लालबहादुरका नातिनी ज्वाइँ कमलबहादुर पुर्जा, नातिनीहरू पार्वती, राधा, सीता, शान्ति र पनाति पवनको तर्फबाट विद्यालयलाई सहयोग प्राप्त भएको हो । सहयोगदाताहरूलाई सोमबार बाँसखर्कमा विद्यालयले कार्यक्रमसहित सम्मान गरेको थियो ।    
    
विद्यालयले धितो रहेको प्रअ खत्रीको जग्गाधनी प्रमाणपत्र फिर्ता गरेको थियो । कक्षा १० सम्म पठनपाठन हुने विद्यालयमा ९४ जना विद्यार्थीहरू रहेका छन् । रासस   
 

प्रकाशित मिति: मंगलबार, फागुन १२, २०८२  ०७:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update