दमौली (तनहुँ) । पोखराबाट काठमाडौँतर्फ जाँदै गरेको ग२ख १४२१ नम्बरको बस धादिङको बेनीघाट रोराङ गाउँपालिका-५ भैँसीगौडामा दुर्घटना हुँदा १९ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमध्ये तनहुँका तीन जना रहेका छन् ।
मृतकमध्ये हालसम्म नौ जनाको सनाखत भएको प्रहरी नायब उपरीक्षक प्रकाश दाहालले जानकारी दिनुभयो । उहाँका अनुसार दुर्घटनामा तनहुँको व्यास नगरपालिका-४ का ४० वर्षीय ओमकुमार मल्ल, शुक्लागण्डकी नगरपालिका-७ का ५५ वर्षीय विष्णुमाया ढकाल र भिमाद नगरपालिका-६ का ४५ वर्षीय हरिप्रसाद सिग्देलको मृत्यु भएको छ ।
यसैगरी, तनहुँको शुक्लागण्डकी नगरपालिका-४ का ४५ वर्षीय सोमप्रसाद मल्ल, म्याग्दे गाउँपालिका-६ का ४४ वर्षीय मानबहादुर थापा, व्यास नगरपालिका-५ की ३८ वर्षीया सुकमाया श्रेष्ठ, शुक्लागण्डकी नगरपालिका-१२ की सदीक्षा हमाल र शुक्लागण्डकी नगरपालिका-४ का १८ वर्षीय सुविन मल्ल घाइते भएका छन् । उनीहरूको काठमाडौँमा उपचार भइरहेको प्रहरीले जनाएको छ । रासस
