RayNewsDaily
बदर मत घटाउन सक्रिय सहजकर्ता        

गलकोट (बागलुङ) । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै बागलुङमा मतदाता शिक्षा कार्यक्रम तीव्र पारिएको छ । यही फागुन ३ गतेदेखि थालिएको मतदाता शिक्षा कार्यक्रमले बदर मत घटाउन सघाउने अपेक्षा गरिएको छ ।     
     
निर्वाचनका क्रममा बदर मतको सङ्ख्या न्यून बनाउने उद्देश्यसहित जिल्ला निर्वाचन कार्यालयले मतदाता शिक्षाका लागि वडा–वडामा कर्मचारी खटाइएको छ । खटाइएका सहजकर्ता अहिले टोल टोलमा पुगेका छन् ।     
     
जिल्ला निर्वाचन कार्यालयका प्रमुख यज्ञप्रसाद रिजालका अनुसार १० वटै स्थानीय तहमा ८५ वटै वडामा मतदाता शिक्षा कार्यक्रम एकसाथ थालिएको छ । मतदातालाई मतदान प्रक्रियाबारे स्पष्ट जानकारी दिनु, मतपत्र प्रयोग गर्ने सही तरिका बुझाउनु तथा मतदान गर्दा ध्यान दिनुपर्ने विषयमा सचेत गराउन मतदाता शिक्षा आवश्यक रहेको र त्यसका लागि नमूना मत चिह्नसहितको आवश्यक नमूना मतपत्रसहित वडा तहमा कर्मचारी खटाइएको छ ।     
     
रिजालका अनुसार मतदाता शिक्षा कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन हुन सकेमा मतदातालाई मतदान गर्न सहज हुने र बदर मतको समस्या उल्लेखनीय रूपमा घट्ने विश्वास व्यक्त गर्नुभयो ।     
     
विशेषगरी नयाँ मतदाता, पहिलोपटक मतदान गर्ने युवा, ज्येष्ठ नागरिक तथा कम साक्षर मतदातालाई लक्षित गरी व्यावहारिक अभ्याससहित कार्यक्रम सञ्चालन गरिने छ । एक वडा एक सहजकर्ता खटाइएको छ । मतदातालाई मतदान प्रक्रियाको विषयमा जानकारी गराउँदै मतदाताहरूलाई दिएको शिक्षाको विषयमा आयोगमा जानकारी दिने काम भइरहेको बागलुङ नगरपालिका-१ का सहजकर्ता दुर्गा शर्माले जानकारी दिनुभयो । उहाँले अधिकांश जनतालाई मतदानको विषयमा जानकारी भएको र सिकाएको कुरा चासो दिएको बताउनुभयो ।     
     
कार्यक्रमअन्तर्गत मतपत्रमा सही चिह्न कसरी लगाउने, समानुपातिक र प्रत्यक्ष प्रणालीको भिन्नता, मतदान केन्द्रमा पालना गर्नुपर्ने आचारसंहिता तथा मतदानको गोपनीयतासम्बन्धी विषयमा जानकारी गराउँदै घर-घरमा हिँडेको शर्माको भनाइ छ । शर्मा जस्ता ८५ वडाका सहजकर्ताले फागुनको १७ गतेसम्म मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्नेछन् ।     
     
जिल्ला निर्वाचन कार्यालयले सबै मतदातालाई मतदाता शिक्षा कार्यक्रममा सक्रिय सहभागिता जनाउन आग्रह गर्दै, निष्पक्ष, मर्यादित र सफल निर्वाचन सम्पन्न गर्न सामूहिक प्रयास आवश्यक रहेको जनाएको छ । ८५ वटा वडामा ८५ वटा मतदाता शिक्षा सहजकर्ता खटाएर फागुन ३ गते वडामा पठाइएको हो । रासस

प्रकाशित मिति: सोमबार, फागुन ११, २०८२  १४:००
प्रतिक्रिया दिनुहोस्
Weather Update