RayNewsDaily
रौतहटको गौरमा कफ्‌र्यु आदेश जारी

रौतहट । जिल्ला प्रशासन कार्यालय रौतहटले  सदरमुकाम गौरमा कफ्‌र्यु आदेश जारी गरेको छ ।

जिल्ला सुरक्षा समिति रौतहटको निर्णय अनुसार शनिबार दिउँसो १ बजे देखि अर्को आदेश नहुन्जेल सम्मको लागि कफ्‌र्यु आदेश जारी गरिएको रौतहटका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुषालले जानकारी दिनुभयो ।

पूर्वमा मुडवलबा गेट, पश्चिममा लालबकैया बाँध, उत्तरमा बम नहर र दक्षिणमा गौर भन्सार कार्यालय क्षेत्रमा कफ्‌र्यु लगाइएको उहाँले बताउनुभयो ।

कफ्‌र्यु लगाइएको क्षेत्रमा कुनै व्यक्ति आवत जावत गर्न, भेला गर्न, सभा जुलुस तथा प्रदर्शन गर्न नपाउने गरि स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (क) बमोजिम रोक लगाइएको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ ।

आदेशको उल्लङ्घन गर्नेलाई कानुन बमोजिम कारबाही गर्ने जनाइएको छ । जिल्ला प्रशासन कार्यालय रौतहटमा शुक्रबार साँझ भएको ६ बुँदे सहमति विपरित शनिबार बिहान पुनः दुई समुदायबीच झडप भएसँगै अवस्था तनावग्रस्त भए पछि कफ्‌र्यु जारी गरिएको हो ।

बिहान करिब ९ बजेदेखि ढुङ्गामुढा सुरु भएपछि स्थिति नियन्त्रणमा लिन सयौँ सुरक्षाकर्मी परिचालन गरिएको छ । झडप उग्र रूप लिन थालेपछी नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालका संयुक्त टोली घटनास्थलमा खटिएका छन् ।

शनिबार गौरको बिभिन्न ठाउँमा भएको झडपमा कैयौँ गाडी जलाइएको छ भने गौर-३ मा रहेको एउटा मस्जिद समेत जलाइएको छ ।

शुक्रबार साँझ भएका वार्तामा सामाजिक सद्भाव कायम गर्ने, संयमता अपनाउने र आउँदो २१ गते हुने निर्वाचनमा सबैको सहभागिता सुनिश्चित गर्ने प्रतिबद्धता दोहोर्‍याइएको थियो ।

बिहीबार राती सवगढामा विवाहको जन्ती बाजा बजाउँदै आउँदा मस्जिद अगाडि अवरोध भएपछि विवाद चर्किएको थियो । गोरखापत्र अनलाइन

प्रकाशित मिति: शनिबार, फागुन ९, २०८२  २०:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update