RayNewsDaily
प्रजातन्त्रको मूल आधार जनताको सर्वोच्चता  : पूर्व राष्ट्रपति यादव        

काठमाडौँ । सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादव २०६५ साउनमा निर्वाचित हुनुभएको थियो । यसअघि उहाँ लामो समय नेपाली कांग्रेस पार्टीमा विभिन्न जिम्मेवारीमा रही अग्रणी भूमिका निर्वाह गर्नुका साथै स्वास्थ्यमन्त्री हुनुभएको थियो । विसं २०६५ साउन ८ गतेदेखि २०७२ कात्तिक ११ सम्म मुलुकको राष्ट्रपति रहनुभएका उहाँले २०७२ असोज ३ गते नेपालको संविधान जारी गर्नुभएको थियो । २०६२÷६३ सालको जनआन्दोलनको जगमा गठन भएको संविधानसभाको पहिलो बैठकले २०६५ जेठ १५ गते सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको थियो ।     
     
प्रजातन्त्र दिवसलाई केबल उत्सव होइन, जिम्मेवारी र आत्ममूल्याङ्कनको दिनका रुपमा पनि व्याख्या गर्नुहुने उहाँ नेपाली जनताको दीर्घ सङ्घर्ष, त्याग र बलिदानको ऐतिहासिक उपलब्धिको प्रतीकको रुपमा लिने । भएकाले खासगरी युवा पुस्ताले यस दिवसको ऐतिहासिक महत्व र विशिष्टतालाई बुझ्न जरुरी रहेको उहाँको भनाइ छ । प्रस्तुत छ, प्रजातन्त्र दिवसको अवसरमा प्रथम राष्ट्रपति डा यादवसँग राससका आलेख प्रमुख कृष्ण अधिकारीले गर्नुभएको कुराकानी :     
     
प्रजातन्त्र दिवसले नेपाली जनताको सङ्घर्ष र उपलब्धिलाई स्मरण गराउँछ । प्रजातन्त्र दिवसको सान्दर्भिकतालाई तपाई कसरी हेर्नुहुन्छ ?     
     
नेपालमा प्रत्येक वर्ष फागुन ७ गते मनाइने प्रजातन्त्र दिवस केबल ऐतिहासिक सम्झनाको दिन मात्र होइन, लोकतान्त्रिक मूल्य, जनअधिकार र राष्ट्रिय एकाताको पुनःप्रतिबद्धताको अवसर पनि हो । प्रजातन्त्र दिवसले नेपाली जनताले अधिकार प्राप्त गरेको २००७ सालको क्रान्तिको याद गराउँछ । यस महत्वपूर्ण अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा हार्दिक शुभकामना व्यक्त गर्दै, लोकतन्त्रको संरक्षण, सुदृढीकरण र समुन्नतिका लागि सबैलाई एकजुट हुन आह्वान गर्दछु । नेपाली जनताको अधिकारको ढोका खुलेको फागुन ७ गते अविस्मरणीय दिन रहेको छ । लामो सङ्घर्षबाट जनताले पाएको अधिकार २०१७ सालमा अपहरण भएकामा २०४६ सालमा पुनः प्राप्त हुनसक्यो ।     
विसं २०५९ राजाको प्रत्यक्ष हस्तक्षेपबाट प्रजातन्त्र अपहरणमा भएकामा २०६२÷६३ को आन्दोलनबाट पुनः त्यो अधिकार जनतामा आएइको छ । यसरी नेपालको इतिहासमा २००७, २०४६ र २०६२÷६३ सालका आन्दोलनहरुका आ–आफ्नै महत्व रहे पनि यी सबै आन्दोलनको जग भने २००७ सालकै क्रान्ति हो । नेपाली जनताले निरङ्कुश शासन व्यवस्थाविरुद्ध सङ्घर्ष गर्दै प्रजातन्त्र स्थापना गरेका थिए ।     
     
नेपाली जनताको दीर्घकालीन सङ्घर्ष, त्याग र बलिदानबाट प्राप्त प्रजातन्त्र हाम्रो राष्ट्रिय गौरवको धरोहर हो । यस ऐतिहासिक उपलब्धिले जनताको सार्वभौमसत्ता स्थापित गर्दै देशलाई लोकतान्त्रिक मार्गमा अग्रसर गराएको छ । प्रजातन्त्र दिवसलाई केबल उत्सव होइन, जिम्मेवारी र आत्ममूल्याङ्कनको दिनका रुपमा पनि व्याख्या गर्नुहुन्छ । यस ऐतिहासिक दिवसका अवसरमा म सम्पूर्ण नेपालीमा लोकतान्त्रिक मूल्य-मान्यतालाई आत्मसात गर्दै समृद्ध, न्यायपूर्ण र आत्मनिर्भर नेपाल निर्माणका लागि आ-आफ्नो क्षेत्रबाट सक्रिय योगदान गर्न हार्दिक आह्वान गर्दछु ।     
     
लोकतन्त्रप्रति युवाको विश्वास र सहभागिता बढाउन कस्तो पहल गर्नुपर्ने देख्नुहुन्छ ?     
प्रजातन्त्रको मूल आधार भनेको जनताको सर्वोच्चता हो । प्रजातन्त्रमा जनता नै सार्वभौम हुन्छन्, उनीहरु नै मालिक हुन् । शासन जनताको इच्छाअनुसार चल्नुपर्छ भन्ने सिद्धान्तलाई व्यवहारमा लागू गर्नु नै प्रजातन्त्रको वास्तविक परीक्षण हो । जनताको सक्रिय सहभागिताबिना लोकतन्त्र सुदृढ हुनसक्दैन । संविधानले दिएका अधिकारको उपयोगसँगै नागरिकले आफ्नो कर्तव्य पनि पूरा गर्नुपर्छ । नेपालको राजनीतिमा २०१७ सालको घटनापछि गत भदौ २३ र २४ गतेको घटनाले लोकतन्त्र र संविधानलाई नराम्ररी प्रभावित पारेको छ । भदौ २३ गते जेनजी युवाहरुले गरेको प्रदर्शन सही थियो तर २४ गतेको घटनाले लोकतन्त्रमाथि खतराको सङ्केत गर्दछ । प्रजातन्त्र दिवस नेपाली जनताको दीर्घ सङ्घर्ष, त्याग र बलिदानको ऐतिहासिक उपलब्धिको प्रतीक भएकाले खासगरी युवा पुस्ताले यसको ऐतिहासिक महत्व र विशिष्टतालाई बुझ्न जरुरी छ ।     
     
लोकतन्त्रको सफलताका लागि सुशासन अपरिहार्य मानिन्छ । भष्ट्राचार नियन्त्रण र पारदर्शीता प्रवद्र्धनका लागि प्रभावकारी उपायहरु के हुनसक्छन् ?     
     
सुशासन, पारदर्शीता, भ्रष्टाचार नियन्त्रण, सामाजिक न्याय र समान अवसरको सुनिश्चिततामार्फत समृद्ध र आत्मनिर्भर नेपाल निर्माणतर्फ अघि बढ्न सकिन्छ । विकास, सुशासन, भ्रष्टाचार नियन्त्रण, र समान अवसरको सुनिश्चितता लोकतन्त्रको सार्थकता मापन गर्ने आधार हुन् । लोकतन्त्रको सफलता नागरिकको जीवनस्तरमा सुधार, पारदर्शीता, भ्रष्टाचार नियन्त्रण र सेवा प्रवाहसँग जोडिएको हुन्छ । लोकतन्त्रलाई सुदृढ बनाउन राजनीतिक स्थायित्व, सुशासन, पारदर्शीता, भ्रष्टाचार नियन्त्रण, न्यायिक स्वतन्त्रता र प्रभावकारी सेवा प्रवाह अनिवार्य छन् ।     
     
विविधतापूर्ण नेपाली समाजमा सामाजिक सद्भाव र राष्ट्रिय एकता कायम राख्न लोकतान्त्रिक नेतृत्वले कस्तो भूमिका खेल्नुपर्छ ?     
नेपालको बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक विशेषतालाई लोकतन्त्रको शक्ति मान्न सकिन्छ । प्रजातन्त्र केबल अधिकार प्राप्तिको माध्यम मात्र होइन; यसले कर्तव्यबोध, सहिष्णुता, राष्ट्रिय एकता र पारस्परिक सम्मानलाई पनि सुदृढ बनाउँछ । लोकतन्त्र तब मात्र सार्थक हुन्छ, जब राज्यका सबै नागरिकले समान अवसर र सम्मानको अनुभूति गर्छन् । समावेशीता, सङ्घीयता र सामाजिक न्यायको अवधारणा यही चरणमा सुदृढ भएको देखिन्छ । सामाजिक सद्भाव कायम गर्दै विकास, सुशासन, पारदर्शिता र भ्रष्टाचार नियन्त्रणमार्फत समृद्ध राष्ट्र निर्माण गर्नु आजको प्रमुख आवश्यकता हो । लोकतन्त्रको रक्षा र सुदृढीकरणमा राज्य, राजनीतिक दल र नागरिक सबैको साझा दायित्व रहेको हुन्छ ।     
     
विषम परिस्थितिमा मुलुकमा आमनिर्वाचन हुन गइरहेको छ, यसलाई तपाइँले कसरी हेर्नु भएको छ ?     
     
गत भदौ २३ र २३ गतेको घटनापछि उत्पन्न राजनीतिक परिस्थितिले लोकतन्त्रको लागि झण्डै आठ दशकको बलिदानबाट लोकतान्त्रिक संविधानलाई नराम्ररी ‘ड्यामेज’ गरेको छ । आशा गरौँ यही फागुन २१ गते हुन गइरहेको निर्वाचनले लोकतन्त्रलाई सबलीकरण गर्दै संविधानको संरक्षण गर्न सहयोग पुग्नेछ । यसलाई सकारात्मक रुपमा लिनुपर्छ । जनता सजग नभएसम्म यस्ता घटना भइरहन्छन् । जनता चेतनशील हुनुपर्छ । संविधान प्रदत्त समावेशीता, लोकतान्त्रिक प्रणाली समाज निर्माण गरिरहेका छौँ । भदौ २४ मा भएको क्षतिलाई निर्वाचनले पूरा गर्न सक्ने विश्वास लिएका छौँ । अब पनि यस्ता दुर्घटनाहरु हुन नदिन तथा शान्ति, स्थिरता र अमनचयन खल्बलिन नदिन सबै नेपाली सजग हुनुपर्छ ।     
     
यही फागुन २१ गते हुन गइरहेको आम निर्वाचनको सन्दर्भमा मतदातालाई के भन्न चाहनुहुन्छ ?     
     
यसपटकको आवधिक चुनाव होइन, संविधान माथि भएको क्षतिको पूर्ति गर्ने यो चुनावको धेरै ठूलो राजनीतिक महत्व छ । देशको स्थायित्वका लागि यो सुखद पक्ष हुनेछ । सही पार्टीलाई छानेर देशलाई अगाडि बढाउन आवश्यक छ । सम्पूर्ण देशवासीलाई सस्तो लोकप्रियता र चर्चाको भरमा भन्दा पनि राष्ट्रिय हितलाई ध्यानमा राखी निर्वाचनमार्फत आफ्नो मत दिन आग्रह गर्दछु । लोकतन्त्र र मुलुकको सार्वभौमिकताको रक्षा गर्नु नै अहिलेको मुख्य विषय हो । अन्त्यमा म सम्पूर्ण नेपाली दिदीबहिनी, दाजुभाइहरुमा प्रजातान्त्रिक मूल्य-मान्यतालाई जीवनशैलीका रूपमा अंगीकार गर्दै निर्वाचनको माध्यमबाट देशको स्थायित्व, समृद्धि र सुशासनका लागि आ-आफ्नो स्थानबाट सकारात्मक योगदान गर्न हार्दिक आह्वान गर्दछु । रासस

प्रकाशित मिति: बिहीबार, फागुन ७, २०८२  १४:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update