काठमाडौँ । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले कुनै पनि किसिमका मत सर्वेक्षण नगर्न सञ्चारमाध्यमसँग अनुरोध गर्नुभएको छ । दशौँ निर्वाचन दिवसका अवसरमा आज निर्वाचन आयोगले आयोजना गरेको कार्यक्रममा उहाँले मत सर्वेक्षणलाई निर्वाचन आचारसंहिताले निषेध गर्ने भएकाले यस्ता घटना भए कारबाही गरिने बताउनुभयो ।
निर्वाचनका समयमा सत्य समाचारलाई झुट र झुट समाचारलाई सत्य बनाएर प्रस्तुत गर्नसक्ने भएकाले पनि सचेत हुन कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले आग्रह गर्नुभयो । “राजनीतिक दलका समर्थकले पनि निर्वाचन आचारसंहिता पालना गरेर निर्वाचन गराउनतिर लाग्नुस्, सामाजिक सञ्जाल प्रयोग गरेर कसैलाई मानमर्दन नगरौँ, सत्य र तथ्यमा आधारित भई काम गरौँ, निर्वाचनमा सामाजिक सञ्जाल पेचिलो विषय भएकाले यसको प्रयोग गर्दा ध्यान दिऔँ”, उहाँले भन्नुभयो ।
कसैको दबाब र प्रभावमा नपरी सही प्रतिनिधि छान्न उहाँले मतदातालाई पनि आह्वान गर्नुभयो । सुरक्षाको बैठक गरेर निर्वाचन सुरक्षाका विषयमा नीति र रणनीति तय गर्न लागिएको जानकारी पनि कार्यवाहक प्रमुख आयुक्त भण्डारीले सो अवसरमा गराउनुभएको थियो ।
निर्वाचन आचारसंहिता बाहिर गएर प्रचारप्रसार गरे जिल्लाजिल्लामा निर्वाचन अधिकृतको कार्यालयले कारबाही गर्ने भएकाले सचेत हुन पनि उहाँले ध्यानाकर्षण गराउनुभयो । पर्यवेक्षण गर्नेले तोकिएका काम मात्र गनुपर्नेमा आयोगले सचेत गराएको छ ।
धेरै भन्दा धेरै मत खसाल्न लगाउने र खसेका मत सबै सदर गराउने गरी काम गर्न उहाँले मतदाता शिक्षामा संलग्न स्वयंसेवक, निर्वाचन प्रक्रियामा खटिएका कर्मचारी, सुरक्षाकर्मी र सम्बद्ध सबैमा अनुरोध गर्नुभयो । निर्वाचनमा सानो गल्तीले पनि ठूलो समस्या आउन सक्ने भएकाले उच्च मनोबलका साथ सचेत भएर काम गर्नुपर्नेमा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले जोड दिनुभयो ।
आयोगका सचिव कृष्णबहादुर राउतले फागुन २१ गतेको निर्वाचनका लागि जिल्लाजिल्लामा मतदान अधिकृत तोक्ने र तालिम दिने काम भइरहेको जानकारी गराउनुभयो । निर्वाचन शिक्षासम्बन्धी धेरै विषय आयोगले वेबसाइट र आयोगको आधिकारिक सामाजिक सञ्जालका पृष्ठबाट राखिरहेको पनि उहाँले उल्लेख गर्नुभयो ।
अहिले देशभरका छ हजार ७४३ वटै वडामा मतदातालाई शिक्षा दिने काम भइरहेको सचिव राउतले जानकारी दिनुभयो । निर्वाचनलाई पारदर्शी बनाउन यसपटक आयोगले खर्च व्यवस्थापन कार्यविधि पारित गरी राजनीतिक दल र उम्मेदवारले पनि निर्वाचन प्रयोजनका लागि छुट्टै खाता खोल्नुपर्ने व्यवस्था गरेको जानकारी उहाँले उल्लेख गर्नुभयो ।
आयोगका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईले २०१५ साल फागुन ७ गते नेपालमा पहिलोपटक निर्वाचन भएको सम्झनामा आयोगले २०७३ साल फागुन ७ गतेदेखि निर्वाचन दिवस मनाउन थालेको जानकारी दिनुभयो । पहिलोपटक नागरिकले मत हालेर सार्वभौम भएको दिनको स्मरणमा आयोगले प्रत्येक वर्ष फागुन ७ गते यो दिवस मनाउन थालेको उहाँले उल्लेख गर्नुभयो । रासस
