काठमाण्डू । उपराष्ट्रपति रामसहाय प्रसाद यादवले राष्ट्रिय प्रजातन्त्र दिवस, २०८२ का अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिका लागि हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ ।
उपराष्ट्रपति यादवले १०४ वर्ष लामो जहानियाँ निरङ्कुश शासनविरुद्ध जनताले गरेको बलिदानीपूर्ण संघर्षका परिणामस्वरूप २००७ सालमा प्राप्त ऐतिहासिक उपलब्धिको स्मरणमा प्रत्येक वर्ष फागुन ७ गते राष्ट्रिय प्रजातन्त्र दिवस मनाइने उल्लेख गर्नुभएको छ । उहाँले यो दिवसले सहिदहरूको अमूल्य योगदान, स्वतन्त्रताको महत्व तथा राष्ट्रिय एकताको सन्देशलाई पुनः स्मरण गराउने बताउनुभयो ।
उहाँले अग्रजहरूको त्याग, बलिदान र दृढ संकल्पकै कारण नेपाली जनता आज संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको नागरिक बन्न सफल भएको उल्लेख गर्दै मुलुकलाई द्रुत गतिमा विकास, समृद्धि र सामाजिक सद्भावतर्फ अघि बढाउने संकल्प गर्न सबैलाई आह्वान गर्नुभएको छ ।
शुभकामना सन्देशमा उपराष्ट्रपति यादवले प्रजातन्त्रले नागरिक अधिकारको रक्षा, समान अवसरको सुनिश्चितता तथा सामाजिक न्यायमा आधारित समतामूलक समाज निर्माणको मार्ग प्रशस्त गर्ने बताउनुभएको छ । लोकतन्त्र शासन प्रणाली मात्र नभई सामाजिक मूल्य, सांस्कृतिक आदर्श र नैतिक आचारसंहिताको आधारसमेत भएको उल्लेख गर्दै उहाँले जाति, धर्म, भाषा, लिङ्ग वा वर्गका आधारमा हुने कुनै पनि भेदभाव स्वीकार्य नहुने स्पष्ट पार्नुभएको छ ।
उहाँले संविधानमा निहित संघीयता, समावेशिता, समानुपातिक प्रतिनिधित्व र कानुनी राज्यको सिद्धान्तलाई अक्षुण्ण राख्दै गरीबी, अशिक्षा, बेरोजगारी र विभेद अन्त्य गर्न सबै एकजुट हुनुपर्नेमा जोड दिनुभएको छ । लोकतन्त्र सुदृढ बनाउन राजनीतिक दल, नेतृत्व र नागरिक सबैले जिम्मेवार आचरण र सकारात्मक सोच अपनाउनुपर्ने उहाँको भनाइ छ ।
साथै, विभिन्न कालखण्डमा भएका ऐतिहासिक जनआन्दोलन, सशस्त्र संघर्ष, मधेश विद्रोह तथा आदिवासी जनजाति आन्दोलनमा जीवन आहुति दिने सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै उपराष्ट्रपति यादवले लोकतान्त्रिक मूल्य र आदर्शको संरक्षणमार्फत मुलुकमा शान्ति, स्थिरता, विकास र समृद्धि सुनिश्चित गर्न दिवसले प्रेरणा प्रदान गरोस् भन्ने कामना गर्नुभएको छ ।
