रे समाचार/काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहले अहिलेकै विषम परिस्थितिमा र राष्ट्रिय समस्या समाधान नगरी चुनावमा जानु उचित नहुने धारणा राख्नुभएको छ ।
७४औँ राष्ट्रिय प्रजातन्त्र दिवसको पूर्वसन्ध्यामा आज एक भिडियो सन्देश जारी गर्दै पूर्वराजाले उक्त अधारणा अघि सार्नुभएको हो । प्रजातन्त्र दिवस भोलि बिहीबार मनाइँदै छ ।
प्रजातन्त्रमा आवधिक निर्वाचन स्वाभाविक भए पनि वर्तमान अवस्थामा चुनावको औचित्यमाथि उहाँले प्रश्न उठाउनुभएको छ । यतिबेलाको आम जनभावना चुनावभन्दा पहिले देशको संकट समाधानतर्फ केन्द्रित हुनुपर्ने रहेको पूर्वराजा शाहले औंल्याउनुभएको छ ।
'‘मुलुकमा पहिले राष्ट्रिय समस्याको समाधान गरेर मात्र आसन्न निर्वाचन प्रक्रियातर्फ जानु उचित हुने र निर्वाचनपछि कुनै द्वन्द्व, अशान्ति र खिचातानी नहोस् भन्ने विषयलाई ध्यानमा राखेर राष्ट्रिय सहमति र सबैलाई समेटेर जाने समझदारी बनाएर मात्र निर्वाचनमा जाँदा नै त्यसले सही बाटो समात्ने थियो'’, पूर्वराजाको सन्देशमा उल्लेख छ ।मुलुक अस्वाभाविक छटपटीको भुमरीमा फसेको टिप्पणी गर्दै पूर्वराजा शाहले जुनसुकै व्यवस्थाका पनि राम्रा पक्षलाई लिनुपर्ने तर खराब पक्षलाई त्याग्नुपर्नेमा जोड दिनुभएको छ । ''कुनै व्यवस्थाको राम्रा र असल पक्षहरू टिप्नु र राख्नुपर्छ । जुनै व्यवस्थाको नराम्रो र खराब पक्षहरू हुन्छन्, त्यस्तालाई फाल्नु र फ्याँक्नुपर्छ '’, शाहले सन्देशमा उल्लेख गर्नुभएको छ ।
अहिलेको राजनीतिक नेतृत्वप्रति कडा प्रहार गर्दै पूर्वराजाले ‘आलोपालो र भाग लगाएर खाऔँ’ भन्ने सोचले देश नबन्ने बताउनुभयाे । उहाँले अधिकार मात्र खोज्ने तर कर्तव्य नसोच्ने प्रवृत्ति मौलाएको र कसैलाई खुसी पार्न वा कसैबाट तोकिन बाध्य ‘बाध्यात्मक व्यवस्थाको जञ्जिर’ मा देश बाँधिएको टिप्पणी गर्नुभयो । अरूको भरमा परेर अक्करमा नपर्न समेत उहाँले राजनीतिक नेतृत्वलाई सचेत गराउनुभएको छ ।
विगतमा भएका आन्दोलन र संघर्षले ल्याएका परिवर्तनले देश र जनतालाई वास्तवमा के दियो भन्ने आत्मसमीक्षा गर्ने बेला आएको पूर्वराजा शाहले बताएउनुभएको छ । देशको अस्मिता र अस्तित्व नै संकटमा परेको महसुस हरेक देशभक्त नेपालीले गरिरहेको भन्दै उहाँले एउटा नेपालीले अर्को नेपालीलाई वैरी ठान्ने अवाञ्छित संस्कृतिको अन्त्य हुनुपर्नेमा जोड दिनुभयो ।
झापा बसाइपछि काठमाडौँ फर्कने क्रममा जनताबाट प्राप्त स्नेह र समर्थनले आफूलाई राष्ट्रप्रति थप जिम्मेवार बनाएको बताउँदै उहाँले गरिबी र अस्थिरता नै नेपालको मुख्य शत्रु रहेको औंल्याउनुभएको छ ।
