काठमाडौँ । मुलुकमा १०४ वर्षे जहानियाँ एकतन्त्रीय राणाशासन अन्त्य गर्ने क्रममा नेपाली जनताले लामो सङ्घर्ष र बलिदान दिनुपरेको थियो । प्रजातन्त्रका लागि मुलुकका होनाहार योद्धाले ज्यानको आहूति दिनुभयो । राणाशासनको विरोध गर्दा कयौँ नागरिक देश निकाला हुनुपर्यो भने जेलनेल भोग्न बाध्य पारियो ।
प्रजातन्त्रिक आन्दोलनका क्रममा दशरथ चन्द, धर्मभक्त माथेमा, गङ्गालाल श्रेष्ठ, शुक्रराज शास्त्रीलगायत अमर शहीदको विशिष्ट योगदान छ । तत्कालीन राजा त्रिभुवन शाह र नेपाली जनताको सामूहिक प्रयत्नबाट मुलुकमा १०४ वर्षसम्म कायम रहेको जहानियाँ राणाशासनको अन्त्य भई प्रजातान्त्रिक, राजनीतिक र संवैधानिक व्यवस्थाको प्रारम्भ भयो ।
जनताको बलिदानीबाट प्राप्त भएको सो व्यवस्था एक दशक नपुग्दै गुम्न पुगेको थियो । विसं २०१७ को राजा शाहको महेन्द्रको प्रतिगामी कदमबाट तत्कालीन समयको शिशु प्रजातन्त्र गुमेर देशमा पुनःदलविहीन कठोर राजनीतिक व्यवस्थाको सुरुआत भएको थियो ।
मुलुकमा अहिले प्राप्त सङ्घीय लोकतान्त्रिक गणतन्त्रसहित नागरिक अधिकार प्राप्तिको जग २००७ सालको क्रान्ति रहेको र त्यसबेलाका शहीदको बलिदानले नै प्रजातन्त्रको नयाँ बिहानी प्राप्त भएको राजनीतिक र सामाजिक क्षेत्रका अग्रजहरूको भनाइ छ ।
त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति प्रा. केदारभक्त माथेमाले प्रजातन्त्र उदय भएको र नेपाली जनता ठूलो फालमे साङ्ग्लोबाट मुक्त भएको दिनका रूपमा फागुन ७ गतेलाई स्मरण गर्नुभयो । “नेपाली जनता दबिएका, थिचिएका, अशिक्षित र धेरै कुराको दुःख थियो, २००७ सालपछि हरेक जनताका लागि विकासको बाटो खुला भयो”, उहाँले भन्नुभयो, “अब नेपालले विकास गर्छ भन्ने ‘स्फूर्ति’ थियो भन्ने कुराको सम्झना फागुन ७ गते हुन्छ ।”
शहीदहरूले जुन सपना बाकेर ज्यानको आहूति दिनुभयो, त्यसबाट प्रजातन्त्र कति महत्वपूर्ण रहेछ भन्ने उहाँहरूको बलिदानीले देखाएको माथेमाले धारणा राख्नुभयो । “प्रजातन्त्रले केही वर्ग र व्यक्तिलाई मात्रै होइन, सबै जनतालाई सँगसँगै राजनीतिक, सामाजिक र आर्थिक रूपले समृद्ध गराउनुपर्छ”, उहाँले भन्नुभयो, “आर्थिक, शैक्षिक, मानवीय विकासको हिसाबले समृद्धि आउँछ भन्ने सोचाइ थियो ।”
जनतामाथि अत्याचार गर्ने, पढ्नलेख्न नदिने संस्थाको अवसान भएको र जनताको हातमा बागडोर आएपछि ‘अब उन्नति गर्छौँ’ भन्ने त्यसबेलाको दृष्टिकोण रहेको माथेमाले सुनाउनुभयो । “सहिदका सपना र जनताको आकाङ्क्षा यहाँसम्म आइपुग्दा धेरै कुरा साकार भए, केही बाँकी छन्”, उहाँले भन्नुभयो ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले)का नेत्री अष्टलक्षी शाक्यले फागुन ७ गते नेपालमा पहिलोपटक प्रजातन्त्र स्थापना भएको दिनका रूपमा हामीले सम्झनुपर्नेमा जोड दिनुभयो । “प्रजातन्त्र ल्याउन धेरै योद्धाले बलिदान दिनुभएको छ । जसले बलिदान दिनुभयो, उहाँहरूलाई विशेष सम्मान गर्नुपर्छ”, उहाँले भन्नुभयो, “प्रजातन्त्र जनताको भावना अभिव्यक्ति गर्ने स्वतन्त्रता हो ।”
नेपालमा निरङ्शुकताका कुरा बोल्ने, लेख्ने, सभाजुलुस गर्ने हकअधिकार खोसिएको त्यसबेलाको राजनीतिक अवस्था र चेतनाको स्मरण गर्दै नेत्री शाक्यले भन्नुभयो, “नेपाली जनताको त्याग र बलिदानबाट प्रजातन्त्र आएको हो । यसर्थमा प्रजातन्त्रलाई सबै मिलेर जोगाउनुपर्छ, अझ बलियो बनाउनुपर्छ । अब मुलुकलाई स्थायित्व दिनुपर्छ भन्ने नेपाली जनताको भावनालाई पूरा गर्नुपर्छ ।”
नेपाली जनताको हक अधिकारलाई सुरक्षित गर्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ तुल्याउन नेपाली जनता एकताबद्ध हुनुपर्ने उहाँले आवश्यकता औँल्याउनुभयो । विसं २००७ मा प्रजातन्त्र नआएको भए अहिले लोकतन्त्र र गणतन्त्र प्राप्त गर्न ठूलो चुनौती हुने उहाँको बुझाइ छ ।
लोकतन्त्रवादी नेता लक्ष्मणलाल कर्णले २००७ साल नेपालका लागि ठूलो पविर्तनको प्रस्थानबिन्दु बनेको बताउनुभयो । “त्यहीँबाट जहानियाँ राणाशासन समाप्त भई देशमा प्रजातन्त्रको सुरुआत भयो । प्रजातन्त्रको चाहना जनतामा हमेसा रहिरहेको छ । त्यो प्रजातन्त्र धेरै वर्ष टिक्न सकेन, त्यसबाट पाठ लिएर प्रजातन्त्रलाई जोगाइराख्नुपर्छ । जनताका लागि प्रजातन्त्र आधारभूत विषय हो । अबका दिनमा प्रजातन्त्रको मूल्यमान्यता नखोसियोस् भन्ने हिसाबले एकताबद्ध भएर लाग्नुपर्छ”, उहाँले भन्नुभयो ।
प्रजातन्त्र दिवसका अवसरमा फागुन ७ गते स्वदेश तथा विदेशमा सहिदको बलिदानीको चर्चा परिचर्चा गर्दै मनाइँदैछ । दिवसका अवसरमा सरकारले बिहीबार (भोलि) सार्वजनिक बिदा दिएको छ । नेपाल सरकारद्वारा गठित प्रजातन्त्र दिवस मुल समारोह समितिले सैनिक मञ्च टुँडिखेलमा प्रजातन्त्र दिवस विशेष कार्यक्रमको आयोजना गर्दैछ ।
राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यमा हुने सो समारोहमा उपराष्ट्रपति, प्रधानमन्त्रीलगायत विशिष्ट व्यक्तित्वको सहभागिता रहनेछ । रासस
