भीष्मराज ओझा/काठमाडौँ । आसन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनको मिति नजिकिँदै जाँदा मुलुकभर निर्वाचनमय वातावरण बन्दै गएको छ । यही फागुन २१ गते हुने निर्वाचनका लागि आजदेखि प्रचारप्रसार गर्ने समय सुरु भएपछि चुनावी माहोल थप तातेको छ ।
सङ्घीय राजधानी काठमाडौँको प्रतिनिधिसभा क्षेत्र नं ५ मा विगतमा विजयी हासिल गरेका र प्रमुख प्रतिस्पर्धी उम्मेदवारदेखि विभिन्न दलबाट नयाँ र स्वतन्त्र गरी २४ जनाले उम्मेदवारी दिनुभएको छ ।
यस निर्वाचन क्षेत्रमा उपप्रधानमन्त्रीदेखि मन्त्रीको जिम्मेवारी सम्हालिसकेका र पार्टीको प्रमुखदेखि वरिष्ठ उपाध्यक्ष, महामन्त्रीलगायत पद सम्हालेका व्यक्तिले उम्मेदवारी दिनुभएको छ ।
काठमाडौँ-५ मा नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेल, नेकपा (एमाले) का वरिष्ठ नेता ईश्वर पोखरेल, राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वअध्यक्ष कमल थापा, नेपाल कम्युनिष्ट पार्टीका कल्पना शर्मा र राष्ट्रिय स्वतन्त्र पार्टीका सस्मित पोखरेल उम्मेदवार हुनुहुन्छ ।
यस निर्वाचन क्षेत्रमा २०७९ सालमा भएको प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसका पौडेल १५ हजार २६९ मत प्राप्त गरी विजयी हुनुभएको थियो । उक्त निर्वाचनमा एमालेका पोखरेल १० हजार १९० मत प्राप्त गरी निकटतम् प्रतिस्पर्धी बन्नुभएको थियो । रास्वपाका डा. प्रणयशम्शेर राणाले पाँच हजार ४७७ मत प्राप्त गर्नुभएको थियो भने राप्रपाका रामप्रसाद उप्रेतीले तीन हजार १६२ मत पाउनुभएको थियो ।
कांग्रेस महामन्त्रीसमेत रहनुभएका पौडेलले जेनजी पुस्तालगायत आमनागरिकले उठाउँदै आएका सुशासन, आर्थिक विकास, समाजिक न्याय, सांस्कृतिक पहिचान जस्ता सवाललाई प्राथमिकतामा राखेको बनाउनुभयो । “प्रविधियुक्त र जीवनोपयोगी शिक्षा, सबैका लागि व्यवस्थित सार्वजनिक पार्क, खुला र सुरक्षित सडक, सहज, सुलभ र प्रविधिमैत्री स्वास्थ्य प्रणालीः सबैका लागि स्वास्थ्य बीमा, हाम्रो सम्पदा, हाम्रो पहिचानः कला– संस्कृतिको संरक्षण र पर्यटन प्रवर्द्धन हाम्रा प्राथमिकतामा छन्”, उहाँले भन्नुभयो, “त्यस्तै खानेपानी र ढल निकास ः एकीकृत र दिगो व्यवस्थापन, युवा रोजगारी र उद्यमशीलताः नवपर्वतन र व्यावसायिक उत्थान, सामाजिक न्याय र सार्वजनिक सेवा प्रभावकारी बनाउनेलगायत विषय पनि हाम्रा मुद्दा हुन् ।”
एमालेको गत मङ्सिर २७ गतेदेखि भएको ११औँ महाविधेशनमा अध्यक्षमा निकटतम् प्रतिपस्पर्धी रहिसक्नुभएका वरिष्ठ नेता पोखरेलले शैक्षिक र स्वास्थ्य संस्थाको पँहुच तथा गुणस्तर अभिवृद्धिका लागि व्यवस्थित गर्नुपर्नेलगायत विषय आफ्नो प्राथमिकतामा रहेको बताउनुभयो । पूर्वउपप्रधानमन्त्रीसमेत रहनुभएका उहाँले भन्नुभयो, “उत्पादन र रोजगारीलाई प्रत्यक्ष रुपमा जनतासँग जोड्नुपर्नेछ, सहरी सुविधा व्यवस्थापनका लागि अधुरा भौतिक पूर्वाधार सम्पन्न गर्नुपर्ने र थप निर्माण गर्नुपर्ने विषय हाम्रो एजेण्डामा छन् ।”
पूर्वउपप्रधानमन्त्रीसमेत रहनुभएका राप्रपाका उम्मेदवार थापाले राष्ट्रियता र भ्रष्टाचार नियन्त्रणका लागि हिन्दू राष्ट्र र राजसंस्था पुनःस्थापनाको विषयलाई मुख्य एजेण्डा बनाउनुभएको छ । “हाँडीगाउँ र टोखालाई सांस्कृतिक नगरका रुपमा विकास गर्नेछौँ, विष्णुमति, धोबिखोला करिडोरलगायतका बस्तीलाई व्यवस्थित बनाउँने छौँ”, उहाँले भन्नुभयो ।
नेकपाका उम्मेदवार शर्माले भ्रष्टाचार नियन्त्रण र सुशासन आफ्नो प्रमुख मुद्दा भएको बताउनुभयो । शिक्षा र स्वास्थ्यमा समयानुकूल परिमार्जन र सहज पँहुचको विषयलाई चुनावी मुद्दा बनाउनुभएका उहाँले भन्नुभयो, “सामाजिक न्याय र सेवा प्रवाहलाई प्रभावकारी र चुस्त बनाउनु हाम्रो प्राथमिकताको विषय हो, समयानुकूल कानुुन निर्माण र संशोधन अपरिहार्य छ, त्यसका लागि हामी तालिकासहित अघि बढ्नेछौँ ।”
रास्वपाका पोखरेलले उत्तरदायित्व, पारदर्शिता र प्रत्यक्ष संवादमार्फत जवाफदेही प्रतिनिधित्व स्थापित गर्ने अठोट व्यक्त गर्नुभयो । यस निर्वाचन क्षेत्रका सबै वडामा, प्रत्येक महिनामा एक वडा केन्द्रित गर्दै सुनुवाइ सञ्चालन गर्ने उल्लेख गर्दै उहाँले भन्नुभयो, “स्थानीयका गुनासा, सुझाव, अपेक्षा र प्राथमिकतालाई प्रत्यक्ष रूपमा अभिलेखीकरण गरी, तिनलाई संसद्मा नीतिगत बहस र कार्यक्रम निर्माणसँग जोड्नेछौँ ।”
आगामी निर्वाचनका लागि यस क्षेत्रमा जनता समाजवादी पार्टी नेपालबाट दानिन्द्र जोशी, नेपाल मजदुर किसान पार्टीबाट शोभालाल श्रेष्ठ, राष्ट्रिय जनमोर्चाबाट अशोक बिक्रम जिसी, प्रगति लोकतान्त्रिक पार्टी विष्णु श्रेष्ठ, मङ्गोल नेशनल अर्गनाइजेशनबाट मीरा गुरुङ, संयुक्त नागरिक पार्टीबाट स्याम काजी सुनुवार उम्मेदवारी दिनुभएको छ ।
नेपाल कम्युनिष्ट पार्टी (संयुक्त) निमेस खनाल, गतिशील लोकतान्त्रिक पार्टीबाट नीशा अधिकारी, जय मातृभूमि पार्टीबाट वसन्तराज कुँवर, श्रम संस्कृति पार्टीबाट अमित थापा, नेपाल कम्युनिष्ट पार्टी (माओवादी) बाट ज्ञानेन्द्र प्रजापति, उज्यालो नेपाल पार्टीबाट श्रीराम गुरुङ, त्रिमूल नेपालबाट रमेश तामाङ, नेपाल कम्युनिष्ट पार्टी (माक्र्सवादी) (एकल चुनाव चिह्न) बाट युवराज काफ्ले, आम जनता पार्टी (एकल चुनाव चिह्न) बाट कोमल पौडेलले उम्मेदवारी दिनुभएको छ । स्वतन्त्र उम्मेदवारका रुपमा क्यामुना मिजार, ढकबहादुर कार्की, धर्म डङ्गोल, प्रभा श्रेष्ठ र रमिता सापकोटा हुनुहुन्छ ।
समानुपातिकतर्फ गत निर्वाचनमा रास्वपाले ११ हजार ६४७, कांग्रेसले १० हजार ४३, एमालेले नौ हजार ६५२, राप्रपाले सात हजार २०१, माओवादी केन्द्रले एक हजार २२४ मत प्राप्त गरेको थियो ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष) निर्वाचन प्रणालीतर्फ मुुलुकभर ६५ राजनीतिक दलले ६१ निर्वाचन चिह्नमा प्रतिस्पर्धा गर्दैछन् । प्रत्यक्षतर्फ तीन हजार ४०६ उम्मेदवार प्रतिस्पर्धामा हुनुहुन्छ ।
त्यस्तै, समानुपातिक निर्वाचन प्रणालीतर्फ ६३ राजनीतिक दलले ५७ निर्वाचन चिह्नमा चुनाव लड्दैछन् । त्यसप्रणालीका लागि महिला एक हजार ७७२ र पुरुष एक हजार ३६३ उम्मेदवार गरी तीन हजार १३५ उम्मेदवारको नाम बन्द सूचीमा समावेश छ । निर्वाचन आयोगले यही माघ ४ गतेदेखि निर्वाचन आचारसंहिता लागू गरेको छ ।
यसपटकको निर्वाचनका लागि ९२ लाख ४० हजार १३१ महिला, ९६ लाख ६३ हजार ३५८ पुरुष र २०० अन्य गरी कूल एक करोड ८९ लाख तीन हजार ६८९ मतदाता कायम रहेका छन् । निर्वाचनका लागि देशभर १० हजार ९६७ मतदानस्थलमा २३ हजार ११२ मतदान केन्द्र निर्धारण गरिएको छ । रासस
