काठमाण्डू । प्रधानसेनापति अशोकराज सिग्देलले आसन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई शान्तिपूर्ण रुपमा सम्पन्न गराउन विशेष निर्देशन दिनुभएको छ ।
महाशिवरात्रि तथा २६२औँ सेना दिवसका अवसरमा आज सैनिक मुख्यालयमा आयोजित विशेष कार्यक्रममा नेपाली सेनाका सकल दर्तालाई शुभकामनासहित सम्बोधन गर्दै उहाँले नेपाली सेनाले विभिन्न क्षेत्रहरुमा निर्वाह गर्दै आइरहेको जिम्मेवारीलाई उत्कृष्ट ढंगले पूरा गर्ने क्रममा निर्वाचनलाई शान्तिपूर्ण रुपमा सम्पन्न गराउन समेत विशेष निर्देशन दिनुभयो ।
उहाँले नेपालको गौरवमय गाथा, परम्परा, सस्कृति, चिन्न, गौरव गर्न तथा इतिहासका पाठहरुबाट सिक्न सबै सैनिक तालिममा नेपाल र नेपालीको इतिहास अध्ययन र अध्यापन गराउन समेत निर्देशन दिनुभएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
आजै आयोजित एक फरक कार्यक्रममा उहाँले कर्तव्य पालनाको सिलसिलामा जीवन उत्सर्ग गर्ने सैनिकहरुको सम्मानमा वीर स्मारक तथा सैनिक मञ्च टुँडिखेलमा श्रद्धासुमन अपर्ण गर्नुभयो । त्यसैगरी उहाँले छाउनीस्थित वीर स्मारकमा पनि वीरगति प्राप्त सैनिकका परिवारलाई सम्मान गर्नुभएको निर्देशनालयले जनाएको छ ।
