काठमाण्डू । सहिद धर्मभक्त माथेमाले सहादत प्राप्त गर्नुभएको स्थान काठमाण्डूको सिफल उकालोमा आज स्मृति सभा सम्पन्न भएको छ ।
सहिद सप्ताह आयोजक समितिको आयोजनामा प्रजातन्त्र प्राप्तिका लागि धर्मभक्त माथेमाले अमरत्व प्राप्त गर्नुभएको दिन र स्थानमा स्मृति सभा गरिएको हो ।
सहिदको सालिकमा पुष्पगुच्छा अर्पण गर्दै सहिद सप्ताह मूल समारोह समितिका संयोजक एवं काठमाण्डू महानगरपालिका कार्यवाहक प्रमुख सुनिता डङ्गोलले विगतको शासनमा नागरिकले भोग्नु परेका क्रूरता, असमानता तथा कुण्ठित अवस्था नवपुस्ताले अनुभूति गर्नु नपरोस् भन्नका लागि सहिदको सङ्घर्ष र बलिदानी स्मरण गर्न कार्यक्रम आयोजना गरिएको बताउनुभयो ।
माथेमाले प्रजातन्त्र प्राप्तिका लागि खेल्नुभएको भूमिका र सामाजिक रुपान्तरणमा पु-याउनु भएको योगदानको चर्चा गर्दै डङ्गोलले भन्नुभयो, “माथेमामा राजनीतिक चेतना थियो, उहाँ शारीरिक सुगठन (व्यायाम) का प्रवद्र्धक हुनुहुन्थ्यो । राजालाई व्यायाम सिकाउने शिक्षक भएर पनि निरङ्कुस शासनविरुद्ध सङ्घर्ष गर्ने उहाँको आँट युवाहरुले सिक्नुपर्ने पाठ हो । स्मरण गर्नुपर्ने इतिहास हो । शासकसँगको सम्बन्धका कारण व्यक्तिगत रुपमा उहाँलाई सुख सुविधा सबै प्राप्त हुन सक्थ्यो । त्यो सुख सयल त्यागेर नागरिक स्वतन्त्रताका लागि ज्यान दिन तयार हुनुभयो । उहाँको बलिदानीका कारण आज हामी मनमा लागेका कुरा यहाँ उभिएर बोलिरहेका छौँ ।”
सभामा काठमाण्डू महानगर-७ का अध्यक्ष बिमल होडाले असलशासन र विधिको शासनको संस्थागत विकासले मात्र सहिदको सपना पूरा हुने बताउनुभयो । अधिकार प्राप्तिको इतिहास जोगाइराख्न माथेमाले सहादत प्राप्त गर्नुभएको स्थानको संरक्षणका लागि गुरुयोजना बनाएर काम थालिएको उहाँको भनाइ थियो ।
नवपुस्तालाई सहिदहरुको आदर्श बुझाउन पाठ्यपुस्तकमा विषय राखेर अध्ययन गराउनुपर्छ । सभामा त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति प्रा डा केदारभक्त माथेमाले भन्नुभयो, “आदर्श बुझाउन सकिएन भने मानव अधिकार र नागरिक स्वतन्त्रता पटक पटक सङ्कटमा पर्छ ।”
वि.सं. १९६६ असोज ९ गते काठमाण्डूको ओमबहाल, नवहिलमा जन्मनुभएका माथेमालाई तत्कालीन शासकहरुको विरुद्धमा गतिविधि सञ्चालन गरेको आरोपमा १९९७ साल कात्तिक २ गते पक्राउ गरिएको थियो । विसं १९९७ माघ १३ गते धर्मभक्त माथेमालाई सिफल उकालोमा झुन्ड्याएर मृत्युदण्ड दिइएको थियो ।
काठमाण्डूको सिफलमा तत्कालीन राणा प्रधानमन्त्री जुद्धशम्शेरले वि.सं. १९९७ साल माघ ६ गते शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, गङ्गालाल श्रेष्ठ र दशरथ चन्दलाई मृत्युदण्ड दिने निर्णय गरेका थिए । निर्णय भएको चार दिनपछि शुक्रराज शास्त्रीलाई टेकु मचलीमा झुन्ड्याएर, सात दिनपछि धर्मभक्त माथेमालाई सिफल उकालोमा झुन्ड्याएर र नौ दिनपछि दशरथ चन्द र गङ्गालाल श्रेष्ठलाई विष्णुमती नदी किनार शोभाभगवतीमा गोली हानी उहाँहरुलाई मृत्युदण्ड दिइएको थियो । रासस
