काठमाण्डू । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहसँग नेपालका चीनका राजदूत चाङ माओमिङले शिष्टाचार भेट गर्नुभएको छ ।
आज मन्त्रालयमा भएको भेटमा नेपाल र चीनबीचको लामो समयदेखिको मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ बनाउने तथा द्विपक्षीय आर्थिक सहकार्य विस्तार गर्ने विषयमा छलफल भएको मन्त्री साहको सचिवालयले जनाएको छ ।
छलफलमा दुई देशबीचको व्यापार तथा लगानी प्रवर्द्धन, नेपाली उत्पादनको अन्तरराष्ट्रिय बजारमा पहुँच विस्तार, औद्योगिक विकास र आर्थिक साझेदारीका सम्भावनालाई अघि बढाउने विषयमा कुराकानी भएको थियो ।
त्यसैगरी, उद्योग तथा पूर्वाधार क्षेत्रमा लगानीका अवसर पहिचान गर्ने, व्यापारिक सहकार्यलाई थप प्रभावकारी बनाउने र दुवै देशबीचको आर्थिक सम्बन्धलाई नयाँ उचाइमा पुर्याउने विषयमा सहकार्यको सम्भावनाबारे विचार आदानप्रदान भएको जनाइएको छ ।
भेटवार्ताले नेपाल–चीनबीचको पारस्परिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै आपसी हित र आर्थिक समृद्धिका क्षेत्रमा सहकार्य अघि बढाउने महत्त्वलाई उजागर गरेको सचिवालयको भनाइ छ । रासस
