RayNewsDaily
सुदूरपश्चिमबाट कांग्रेसका खाती र एमालेकी भण्डारी विजयी   

सुदूरपश्चिम । राष्ट्रियसभा निर्वाचन २०८२ अन्तर्गत सुदूरपश्चिम प्रदेशको धनगढीमा आज सम्पन्न निर्वाचनमा नेपाली कांग्रेसका खम्मबहादुर खाती र नेकपा (एमाले) की लिलाकुमारी भण्डारी विजयी हुनुभयो । अन्य समूहतर्फ खाती र महिलातर्फ भण्डारी विजयी हुनुभएको हो ।     
    
 कांग्रेस उम्मेदवार खातीले तीन हजार ९६९ मतभार पाउनुभयो । उहाँका निकटतम प्रतिद्वन्दी नेपाली कम्युनिष्ट पार्टीका टीकाराम जैसीले एक हजार ८०५ मतभार प्राप्त गर्नुभएको प्रदेश निर्वाचन कार्यालयका प्रमुख प्रेमराज भट्टले जानकारी दिनुभयो ।    
    
 यस्तै महिलातर्फ विजयी एमालेकी भण्डारीले तीन हजार ९८४ मतभार पाउनुभयो । उहाँका निकटतम प्रतिद्वन्दी नेपाली कम्युनिष्ट पार्टीकी रोजी बस्नेतले एक हजार ६७६ मतभार पाउनुभयो । कुल २२४ मतदाता रहेकामा ४९ प्रदेशसभा सदस्य र १७१ पालिकाका प्रमुख÷उपप्रमुख तथा अध्यक्ष÷उपाध्यक्ष गरी २२० मतदाताले मतदानमा भाग लिनुभयो ।    
    
 धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमाल, प्रदेशसभा सदस्यद्वय नेपाली कांग्रेसका प्रकाशबहादुर देउवा र राप्रपाकी खेमादेवी विष्ट, कैलालीको जोशीपुर गाउँपालिकाकी उपाध्यक्ष रेखा कठरिया मतदानमा अनुपस्थित रहनुभयो । सुदूरपश्चिम प्रदेशबाट राष्ट्रियसभामा निर्वाचित दुई सदस्य पदको पदावधि आगामी फागुनमा सकिन लागेकाले यी दुई पदका लागि निर्वाचन भएको हो ।    
    
 त्रिपन्न सदस्यीय सुदूरपश्चिम प्रदेशसभाका एक सदस्य निलम्बनमा पर्नुभएको र अर्का एक सदस्यले राजीनामा दिनुभएको छ । यस्तै ८८ पालिका तहका प्रमुख, उपप्रमुख/अध्यक्ष, उपाध्यक्ष गरी १७६ मतदाता छन् । नेपाली कांग्रेस र नेकपा (एमाले)ले राष्ट्रिय सभा सदस्यको चुनावमा गठबन्धन गरेको थियो । रासस   
 

प्रकाशित मिति: आइतबार, माघ ११, २०८२  २१:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update