RayNewsDaily
निर्वाचन आचारसहिंता पालना गर्ने सर्वपक्षीय प्रतिबद्धता    

गण्डकी । कास्कीका राजनीतिक दल, उम्मेदवार, पत्रकार लगायतले निर्वाचन आचारसहिंता पालना गर्ने प्रतिबद्धता जनाएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयले आज आयोजना गरेको निर्वाचन आचारसंहितासम्बन्धी सर्वदलीय÷सर्वपक्षीय बैठकमा निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्नुपर्नेमा जोड दिइएको हो ।     
नेपाली कांग्रेस, कास्कीका सचिव देवेन्द्र रानाभाटले स्वतन्त्र र निष्पक्ष ढङ्गले निर्वाचन सफल पार्नु सबैको दायित्व भएको बताउनुभयो । आचारसंहिता पालनामा मुख्य गरी राजनीतिक दल र उम्मेदवारहरु बढी जिम्मेवार हुनुपर्ने उहाँको भनाइ छ ।     
     
नेकपा (एमाले), कास्कीका उपाध्यक्ष भेषराज बरालले उम्मेदवारले भयरहित वातवरणमा आफूले चाहेको राजनीतिक दल र उम्मेदवारलाई मतदान गर्न पाउने वातावरण सिर्जना गर्नुपर्ने बताउनुभयो ।     
     
नेपाली कम्युनिष्ट पार्टी, कास्कीका संयोजक विश्वप्रकाश लामिछाने आचारसंहिता पालनामा विगतका निर्वाचनमा भएका कमजोरीबाट पाठ सिक्नुपर्ने बताउनुभयो । संसदीय पत्रकार मञ्च, गण्डकीका पूर्वअध्यक्ष भरत कोइरालाले विगतका उदाहरणबाट राजनीतिक दल र सञ्चारमाध्यमबाटै आचारसंहिता उल्लङ्घनका घटना बढी हुने गरेको पाइएको बताउनुभयो । उहाँले पत्रकारलाई निर्वाचनसम्बन्धी समाचार सङ्कलनमा सहज पहुँच दिनुपर्ने बताउनुभयो ।     
     
कास्कीका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले निर्वाचन सफल पार्न सबै पक्षको उत्तिकै महत्त्वपूर्ण भूमिका हुने बताउनुभयो । निर्वाचनलाई लक्ष्य गरी जिल्लाको सुरक्षा व्यवस्था चुस्त पारिएको उहाँको भनाइ छ । तीनै तहका सुरक्षा निकाय सम्मिलित सुरक्षा रणनीति तयार गरी कार्यान्वयनमा गइसकेको प्रजिअ शर्माले बताउनुभयो । उहाँका अनुसार जिल्लामा नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीका गरी झन्डै दुई हजार सुरक्षाकर्मी परिचालन हुनेछन् । दुई हजार ३०३ जना निर्वाचन प्रहरी खटिनेछन् ।     
     
मुख्य निर्वाचन अधिकृत हिमलाल बेलबासेले निर्वाचन आचारसंहिता पालना भए÷नभएको विषयमा प्रभावकारी अनुगमन गरिने बताउनुभयो । “आचारसंहिता आफैँमा कानुनी दस्तावेज त होइन, तर यसको उल्लङ्घन हुँदा कानुन आकर्षित हुन्छ”, उहाँले भन्नुभयो, “आचारसंहिता उल्लङ्घनका घटनामा उम्मेदवारको मनोनयन नै रद्दसमेत हुन सक्ने अवस्था आउन सक्छ ।” मुख्य निर्वाचन अधिकृत बेलबासेले सबैको लक्ष्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्नु रहेको बताउनुभयो ।     
     
सहायक निर्वाचन अधिकृत राजन खनालले मङ्गलबार हुने उम्मेदवार मनोनयनको तयारी पूरा भएको बताउनुभयो । उहाँले एकै पटकमा भीडभाड हुन नदिन राजनीतिक दलहरुलाई आलोपालो गरेर मनोनयन दर्ताका लागि समय व्यवस्थापन गरिएको बताउनुभयो । कास्की–१ को रामघाट, कास्की–२ को ड्यामसाइट र कास्की–३ को मालेपाटनमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन दर्ता गरिने सहायक निर्वाचन अधिकृत खनालले बताउनुभयो ।     
     
कार्यक्रममा प्रदेश निर्वाचन अधिकारी नारायण ढकालले निर्वाचन आचारसंहिता–२०८२ का विषयमा प्रस्तुतीकरण राख्नुभएको थियो । उहाँले आचारसंहिता उल्लङ्घन गर्ने राजनीतिक दल, उम्मेदवारलगायत जो कोहीलाई स्पष्टीकरण सोध्नेदेखि कारबाहीसम्मको कानुनी व्यवस्था रहेको बताउनुभयो । “आचारसंहिता विपरीत मिथ्यापूर्ण सूचना सम्प्रेषण गर्ने, दुष्प्रचार गर्ने, र द्वेषपूर्ण अभिव्यक्ति दिनेलाई रु एक लाखसम्मको जरिवानासहित कानुनी कारबाही हुन्छ”, उहाँले भन्नुभयो, “आचारसंहिता पालनाका सन्दर्भमा प्रभावकारी अनुगमन र निगरानी हुन्छ ।”  रासस

प्रकाशित मिति: सोमबार, माघ ५, २०८२  १६:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update