RayNewsDaily
राष्ट्रियसभाको १९औँ अधिवेशन शुरू   

काठमाडौँ । सङ्घीय संसद् राष्ट्रियसभाको १९औँ अधिवेशन सुरु भएको छ । सिंहदरबारस्थित सङ्घीय संसद् सचिवालय परिसरको राष्ट्रियसभाको पुरानो भवनमा सुरु भएको अधिवेशनमा सभाका अध्यक्ष नारायणप्रसाद दाहालले अधिवेशन प्रारम्भ भएको घोषणा गर्दै सदस्यहरूलाई स्वागत गर्नुभयो ।     
     
उहाँले अधिवेशन आह्वानसम्बन्धी राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र वाचन गरेर सुनाउनुभयो । त्यसलगत्तै लोकतन्त्रका लागि योगदान पुर्‍याउने सहिदहरूप्रति सम्मानका लागि मौन धारण गरियो । बैठकले सभाका सदस्य वलदेव बोहराको निधनप्रति शोकप्रस्ताव पारित गरेको छ । विसं २००८ मा जन्मनुभएका कञ्चनपुर निवासी बोहराको गत पुस ३० निधन भएको थियो । उहाँ विसं २०७० मा संविधानसभा सदस्य र २०८० सालमा राष्ट्रियसभामा निर्वाचत हुनुहुन्थ्यो ।     
     
माथिल्लो सदनका रुपमा रहेको ५९ सदस्यीय राष्ट्रियसभा स्थायी सदन हो । यस सभामा समाजका विभिन्न क्षेत्रका अनुभवी, प्रबुद्ध व्यक्तिहरूको सहभागिता रहन्छ । राष्ट्रियसभाका सदस्यहरूको कार्यकाल छ वर्षको हुन्छ । त्यसमध्ये सभाका एक तिहाइ सदस्यको कार्यकाल भने प्रत्येक दुई वर्षमा सकिन्छ ।     
     
हाल राष्ट्रियसभामा नेपाली कम्युनिष्ट (नेकपा) को २५, नेपाली कांग्रेस १६, नेपाल कम्युनिष्ट (एमाले) नौ, जनता समाजवादी पार्टी (जसपा) तीन, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) एक, राष्ट्रिय जनमोर्चाको एक र मनोनीत तीन सदस्य हुनुहुन्छ । यही माघ ११ गते १९ जना नयाँ सदस्य चयनका लागि निर्वाचन हुँदैछ । राष्ट्रियसभाको अर्को बैठक यही माघ ९ गते शुक्रबार दिउँसो १ः१५ बजे बस्नेछ । रासस

प्रकाशित मिति: आइतबार, माघ ४, २०८२  १४:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update