RayNewsDaily
नेपाली कांग्रेसबाट गगन-विश्व निष्काशित, पार्टी फुटको संघारमा

रे समाचार/काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मालाई पार्टी संस्थापन समूहले कारबाही गरेसँगै पार्टी फुटकाे संघारमा पुगेको छ ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमितिको बैठकले गगन-विश्वसहित सहमहामन्त्री फरमुल्ला मन्सुर लगायतलाई ५ वर्षका लागि निष्काशन गर्ने निर्णय गरेको हो । बैठकले विशेष महाधिवेशनको पक्षमा लाग्नेहरूलाई आ-आफ्नो भूमिकामा फर्किन आग्रह गरेको छ ।

पार्टीका कार्यवाहक सभापति पूर्णबहादुर खड्काको अध्यक्षतामा आज सानेपामा बसेको पार्टी केन्द्रीय कार्यसमितिको बैठकले पार्टी विधान र हितविपरीत गतिविधिमा संलग्न रहेको आरोपमा पार्टी सदस्यबाट पाँच वर्षका लागि उहाँहरूलाई  निष्कासन गरेको केन्द्रीय सदस्य तथा प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जानकारी दिनुभयो । 

महामन्त्री थापा र शर्मा तथा सहमहामन्त्री मन्सुरले कांग्रेसको विशेष महाधिवेशन पक्षद्वारा आह्वान गरिएको विशेष महाधिवेशनको अगुवाइ गर्नुका साथै नयाँ नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया अघि बढाउने कार्यमा संलग्न रहेको आरोप छ ।

बैठकबाट बाहिरिनेक्रममा केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले पार्टीको केन्द्रीय कार्यसम्पादन समितिले निर्णय गरी पेस गरेको १५ औँ महाधिवेशनको कार्य तालिकासहित सबै निर्णयहरु पारित गरेको जानकारी दिनुभयो । 

पार्टी निर्णयविपरीत विशेष महाधिवेशन आह्वान गरेको आरोप लगाउँदै महामन्त्री लगायतलाई कारबाही गरिएको बताइएको छ । पार्टीको ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले माग गरेको विशेष महाधिवेशनलाई बेवास्ता गरिएको भन्दै महामन्त्रीद्वयले आह्वान गरेका थिए । विशेष महाधिवेशन आह्वान गरेका थापा र शर्माले बन्द सत्रको हलले गरेको निर्णय नै अन्तिम निर्णय हुने भन्दै निर्वाचन समिति गठन गरी चुनावी प्रक्रिया अघि बढाएका थिए ।

पार्टी विभाजन रोक्न भन्दै विभिन्न चरणमा नेताहरू छलफलमा बसे पनि त्यसबाट सकारात्मक परिणााम आउन सकेन । अब विशेष महाधिवेशन पक्षधरले भृकुटीमण्डपबाट नयाँ नेतृत्व चयनको तयारी गरेको छ । 
 

प्रकाशित मिति: बुधबार, पुस ३०, २०८२  १६:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update