काठमाण्डू । नेपाल रेडक्रस सोसाइटीले भोटेकोशी बाढी प्रभावित क्षेत्रमा प्रभावित परिवारलाई आर्थिक सहयोग लगायत अन्य विभिन्न प्रतिकार्यका कार्यक्रम अगाडि बढाएको छ । सोसाइटीले बाढीको खोज उद्धार पश्चात नगद सहित प्रतिकार्यका थप विभिन्न कार्यक्रम अगाडि बढाएको हो ।
रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीको अन्तरराष्ट्रिय महासङ्घ (आइएफआरसी)को महासचिव तथा प्रमुख कार्यकारी अधिकृत जगन चापागाईँ हालै बाढी प्रभावित क्षेत्रको अवलोकनका क्रममा सो घोषणा गर्नुभएको थियो ।
यसका लागि नेपाल रेडक्रस सोसाइटी र विदुर नगरपालिकाबीच बाढीको प्रतिकार्य, पुनःलाभ तथा पुनःस्थापनाका लागि सहकार्य भएको छ । बाढीबाट प्रभावित समुदायको तत्कालीन मानवीय आवश्यकता सम्बोधन गर्नुका साथै पुनःलाभ, पुनःस्थापना र भविष्यमा हुनसक्ने विपद् एवं जलवायुजन्य जोखिमप्रति उत्थानशीलता अभिवृद्धिका लागि सहकार्य गर्ने उद्देश्यले साझेदारी सम्झौता गरिएको हो ।
विदुर नगरपालिकाको कार्यालयमा बुधबार आयोजित कार्यक्रममा विदुर नगर प्रमुख राजन श्रेष्ठ, नेपाल रेडक्रस सोसाइटीका महामन्त्री ऋषिरमण खनाल, नेपालस्थित आइएफआरसीका नेपाल प्रमुख डेभिड फिसर र नेपाल रेडक्रस नुवाकोटका सभापति हरि श्रेष्ठले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको छ ।
सम्झौतापत्रमा स्वास्थ्यसम्बन्धी सहायता, खानेपानी सरसफाइ तथा स्वच्छता, आवास तथा आश्रय सहायता, मर्मत तथा पुनःस्थापना, जीविकोपार्जन तथा आर्थिक पुनःलाभ, नगद सहायता तथा आवश्यकतामा आधारित नगद सहयोग र विपद् जोखिम न्यूनीकरण, पूर्वतयारी तथा समुदायको उत्थानशीलता अभिवृद्धिका क्षेत्रमा सहकार्य गर्ने उल्लेख गरिएको रेक्रसव्दारा जारी विज्ञप्तिमा उल्लेख छ ।
सम्झौताअनुसार रेडक्रसले बाढीका कारण बेपत्ता परिवारका एकल महिला, अभिभावक गुमाएका बालबालिका तथा ज्येष्ठ नागरिक भएका परिवारलाई प्रतिपरिवार एक लाख रुपैयाँ तथा दुई हजार घरधुरीलाई बहुद्देश्यीय नगद सहायता रु १५ हजार उपलब्ध गराउने छ ।
यसैगरी, एक हजार परिवारलाई जीविकोपार्जन पुनःस्थापना सहायता, दुई हजार घरधुरीलाई स्थायी आवासको व्यवस्था नभएसम्म घरभाडा भुक्तानी, ६०० घरधुरीलाई सङ्क्रमणकालीन आवासको व्यवस्थापन रेडक्रसले गर्ने समझदारीपत्रमा उल्लेख छ ।
यसैगरी, रेडक्रसले बाढीका कारण प्रभावित विदुर खानेपानी आयोजनाको साढे सात किलोमिटर पाइपलाइनको मर्मतका साथै बिदुर, बुधसिँघाट, सिर्खाली र महारानिडिही क्षेत्रमा ३० हजार जनसङ्ख्या लाभान्वित हुनेगरी खानेपानी प्रणालीको मर्मत तथा पुनःस्थापना गर्नेछ ।
यस्तै, स्वास्थ्य तथा सामाजिक पूर्वाधारको पुनर्निर्माण तथा पुनःस्थापना, आधारभूत स्वास्थ्य तथा आपतकालीन स्वास्थ्य सेवा, विद्यालय तथा शैक्षिक पूर्वाधारको पुनःस्थापना, शिविर व्यवस्थापना तथा प्रभावित व्यक्तिको सहयोगलगायत क्षेत्रमा रेडक्रसले काम गर्ने समझदारीपत्रमा उल्लेख छ ।
समझदारीअन्तर्गतका कार्यक्रम तथा गतिविधिको समन्वय, मार्गदर्शन, अनुगमन तथा समीक्षा गर्न नगरप्रमुख वा नगरप्रमुखले तोकेको प्रतिनिधिको संयोजकत्वमा संयुक्त समन्वय तथा कार्यक्रम सञ्चालन समिति गठन गरिनेछ ।
सो अवसरमा रेडक्रसका महामन्त्री खनालले बाढी प्रभावित क्षेत्रका नागरिकको बहुपक्षीय सहयोगमा रेडक्रसको निरन्तर क्रियाशिलता रहने जनाउँदै निर्धारित कार्यक्रमहरुको प्रभावकारी कार्यान्वयनका लागि स्थानीय तह र रेडक्रसका संरचनाहरुको प्रभावकारी समन्वयमा जोडदिनुभयो ।
आइएफआरसीका नेपाल प्रमुख फिसरले मानवीय सहयोग निरन्तर जारी रहने जानकारी दिँदै यो सहकार्यले अकल्पनीय बाढी प्रतिकार्यमा थप सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । बिदुर नगर प्रमुख श्रेष्ठले रेडक्रसको प्रभावित क्षेत्रमा सहयोग गर्ने तत्परता र क्रियाशिलताले बाढी प्रभावित क्षेत्रको पुनस्र्थापना र नागरिकको सहज जीवन यापनका लागि महत्वपूर्ण योगदान पुग्ने बिश्वास ब्यक्त गर्नुभयो । उहाँले विपदलाई अवसरका रुपमा समेत लिँदै रेडक्रससंगको प्रभावकारी सहकार्य मार्फत विपदको पीडालाई बिस्मृतिमा पु¥याउन स्थानीय तह क्रियाशील रहने प्रतिबद्धता ब्यक्त गर्नुभयो । रासस
