RayNewsDaily
राष्ट्रिय सभामा कांग्रेस नेता थापा निर्विरोध निर्वाचित

रे समाचार/काठमाण्डू । नेपाली कांग्रेसका उम्मेदवार सुनीलबहादुर थापा राष्ट्रिय सभा सदस्य पदमा निर्विरोध निर्वाचित हुनुभएको छ । आगामी माघ ११ गतेलाई तोकिएको राष्ट्रिय सभा निर्वाचनका लागि आज भएको मनोनयनका क्रममा उहाँको क्षेत्रबाट कसैको पनि उम्मेदवारी नपरेपछि थापा निर्विरोध हुनुभएको हो ।

नेपाली कांग्रेस, नेकपा एमाले र जनता समाजवादी पार्टी मिलेर बनेको गठबन्धनका तर्फबाट थापाले खुल्लामा उम्देवारी दिनुभएको थियो ।

कोशीमा उहाँसहित तीनजनाले उम्मेदवारी दिनुभएको थियो । कोशीमा एमाले बलियो भएकोले २ सिट लिएको थियो । कांग्रेसले लिएको एक सिटमा थापा निर्विरोध हुनुभएको हो ।

कोशीमा पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेकपाले थापालाई सघाउने उद्देश्यले खुलातर्फ उम्मेदवारी दिएन । त्यहीकारण उहाँ निर्विरोध भएको जानकारी निर्वाचन अधिकृत भीष्मराज प्रसाईंले दिनुभएको छ ।

थापा पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाका पुत्र हुनुहुन्छ । यसअघि उहाँ राष्ट्रपति रामचन्द्र पौडेलको राजनीतिक सल्लाहकार हुनुहुन्थ्यो । राष्ट्रियसभा सदस्यमा प्रतिस्पर्धा गर्न सल्लाहकार पदबाट राजिनामा दिनुभएको थियो ।

प्रकाशित मिति: बुधबार, पुस २३, २०८२  १६:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update