काठमाडौँ । नेपाली कांग्रेसले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि उम्मेदवार टुङ्गो लगाएको छ ।
पार्टी केन्द्रीय कार्यसम्पादन समितिको आजको बैठकले उम्मेदवार टुङ्गो लगाउँदै त्यसलाई अनुमोदन पनि गरेको छ ।
पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार संसदीय समितिको आजैको बैठकले उम्मेदवार मनोनयनको निर्णयलाई कार्यसम्पादन समितिको बैठकले अनुमोदन गरेको हो ।
बैठकले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनमा कोशी प्रदेशबाट सुनिलबहादुर थापा (अन्य), मधेस प्रदेशबाट धर्मेन्द्र पासवान (दलित) र रन्जित कर्ण (अपाङ्गता÷अल्पसङ्ख्यक), बागमती प्रदेशबाट गीता देवकोटा (महिला), गण्डकी प्रदेशबाट जगत् तिमिल्सिनालाई (अन्य)मा उम्मेदवार कायम गरेको छ ।
यसैगरी, लुम्बिनी प्रदेशबाट वासुदेव जङ्गली (अपाङ्गता÷अल्पसङ्ख्यक) र चन्द्रबहादुर केसी (अन्य), कर्णाली प्रदेशबाट ललितजङ्ग शाही (अन्य) र सुदूरपश्चिम प्रदेशबाट खम्मबहादुर खाती (अन्य)लाई उम्मेदवार बनाएको छ ।
आजको बैठकमा महामन्त्री गगनकुमार थापा, सहमहामन्त्रीहरू फरमूल्लाह मन्सुर,महेन्द्र यादव, केन्द्रीय सदस्यहरु विजयकुमार गच्छदार, अर्जुननरसिंह केसी, प्रवक्ता डा प्रकाशशरण महत र लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले समसामयिक विषयमा विचार व्यक्त गर्नुभएको थियो । रासस

