खोटाङ । यहाँको साकेला गाउँपालिका-२ रतन्छास्थित धन्नेश्वरी गुफा जनश्रमदानमार्फत सरसफाइ गरिएको छ ।
गाउँपालिकाको ‘श्रम साकेला अभियान’ अन्तर्गत वडा कार्यालय रतन्छाको अगुवाइमा गाउँपालिका प्रमुख रविप्रकाश राई, उपप्रमुख बिर्सिका राई, जनप्रतिनिधि, कर्मचारी तथा स्थानीयको सहभागितामा सरसफाइ गरिएको हो ।
लामो समयदेखि संरक्षण र प्रचारप्रसारको अभावमा ओझेलमा परेको यस गुफाको धार्मिक तथा पर्यटकीय विकासका लागि वर्तमान जनप्रतिनिधि र साकेला गाउँपालिकाले चासो देखाएका छन् । आगामी दिनमा गुफासम्म पुग्ने व्यवस्थित पैदलमार्ग निर्माण, गुफा वरिपरि आकर्षक संरचना निर्माण, गुफाभित्र उज्यालोका लागि बत्ती जडान तथा भित्री भागसम्म पुग्न सिँढी निर्माण गर्ने कार्य अघि बढाइने गाउँपालिकाले जनाएको छ ।
रतन्छाका स्थानीयवासीका अनुसार धन्नेश्वरी गुफाको सुरुङ दायाँ-बायाँ करिब सयौँ मिटरभन्दा बढी फैलिएको अनुमान गरिएको छ । गुफाभित्रका ठूलाठूला नागका आकृति एवं विभिन्न देवी-देवताका आकृतिले आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्ने गरेको छ ।
परापूर्वकालमा भगवान शिवजी राक्षसबाट बच्न धन्नेश्वरी गुफामा लुकेर बसेको र पछि त्रिधार्मिकस्थल हलेसी गएर बसोबास गरेको भन्ने किम्बदन्ती छ । रामनवमी, बालाचतुर्दशी, तीज तथा एकादशी जस्ता महत्वपूर्ण पर्वहरूमा यहाँ मेला लाग्ने गर्दछ ।
गाउँपालिका प्रमुख रविप्रकाशले धार्मिक तथा पर्यटकीयस्थलहरुको विकासका लागि गाउँपालिका दीर्घकालीन योजनाका साथ लागि परेको जानकारी दिनुहँदै धन्नेश्वरी गुफालाई व्यवस्थित धार्मिक-पर्यटकीय गन्तव्यका रूपमा विकास गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो । “हामी निर्वाचित भएर आएपछि जनजीविकाको कामसँगै गाउँपालिकाभित्रका सबै धार्मिक तथा पर्यटकीयस्थलहरुको स्तरोन्नति गरिरहेका छौँ । हाम्रो पालिका आफैँमा पर्यटकीयस्थल हो”, उहाँले भन्नुभयो, “यहाँ रहेका पर्यटकीय गन्तव्यहरुको स्तरोन्नति गर्दै पर्यटन प्रवर्द्धनको काम गरिरहेका छौँ ।” रासस
