रे समाचार/काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकले जेनजी आन्दोलनका विषयमा जाँचबुझ आयोगमा बयान दिनुभएको छ । गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा भएको जनधनको क्षतिको विषयमा बयान दिन लेखक आज सिंहदरबारस्थित जाँचबुझ आयोग पुगनु भएको थियो । मध्याह्न करिब साढे १२ बजे बयानका लागि पुग्नु भएका उहाँ करिब ३ बजे आयोगको कार्यालयबाट बाहिरिनु भएको थियो ।
जेनजी आन्दोलन हुँदा लेखक गृहमन्त्री रहनु भएको थियो । आयोगले यसअघि लेखकलाई पुस १३ गते उपस्थित हुन भनेको थियो । तर उहाँ एक दिन ढिला गरी आज बयानका लागि सिंहदरबार पुग्नु भएको हो ।
पूर्व गृहमन्त्री लेखकले आजै पत्रकार सम्मेलन गरेर जेनजी आन्दोलनको विषयमा आफ्नो धारणा पनि सार्वजनिक गर्ने तयारी गर्नुभएको छ । जेनजी आन्दोलनको घटना छानबिन गर्नका लागि सरकारले पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा उच्चस्तरीय जाँचबुझ आयोग गठन गरेको छ ।
उक्त आयोगले घटनामा छानबिन गर्नुका साथै सम्बन्धीत व्यक्तिहरुसँग बयान लिने काम गरिरहेको छ । आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि घटनाका बारेमा बयान लिने तयारी गरेको छ । यद्यपी ओलीले आयोगमा उपस्थित भएर बयान दिन अस्वीकार गर्नुभएपछि आयोगले अन्य माध्यमबाट उहाँको बयान लिने तयारी गरिरहेको जनाएको छ ।
