RayNewsDaily
चीनसँग हामी भूमिमा मात्र छैनौं अन्तरिक्षमा पनि छौं : पूर्वमन्त्री साह

रमेश हतुवाली/काठमाण्डू । पूर्वमन्त्री गणेश साहले नेपाल अब चीनसँग भूमिमा मात्र नभएर अन्तरिक्षमा पनि सँगै रहेको बताउनु भएको छ । 

नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७० वर्षको अवसरमा काठमाण्डूस्थित रे मिडिया ग्रुप र सिजिटिएन नेपाली विभागको सहकार्यमा आज आयोजित नेपाल-चीन सम्वन्धको ७० बर्ष 'सम्झना र समिक्षा' विषयक अन्तरक्रियामा बोल्नुहुँदै उहाँले सो कुरा बताउनु भएको हो । 

नेपाल र चीनबीचको सम्बन्ध जनता-जनता माझको सम्बन्ध रहेको बताउनुहुँदै साहले अहिले दुई देशबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७० औं वार्षिकोत्सव मनाए पनि चीन र नेपालको सम्बन्ध हजारौं वर्ष पुरानो रहेको धारणा व्यक्त गर्नुभयो । "शताब्दीऔँ पहिले जतिबेला हामीसँग हाम्रो परम्परागत ज्ञान थियो, त्यो हामीले चीनमा पठाएको थियौं जुन कुरा इतिहासमा पाइन्छ । नेपालका महान कलाकार, नेपालका छोरा अरनिकोले तिब्बत र चीनमा गएर विभिन्न गुम्वा र चैत्यहरु बनाएर ख्याति कमाएर चिनियाँ जनतालाई नेपाली मौलिक कलाकारिताको ज्ञान दिए ।" पूर्वमन्त्री साहले भन्नुभयो । 

पूर्वमन्त्री साहले चीनका राष्ट्रपति सि चिनफिङको कुशल नेतृत्वमा चीनले गरिबीलाई पूर्ण रुपमा हटाउन सफल भएको भन्दै शुभकामना पनि व्यक्त गर्नुभयो । चीनले गरिबी निवारण गर्न सफल हुनुका पछाडि विज्ञान, प्रविधि र नवप्रवद्र्धन पनि भएको उल्लेख गर्नुहुँदै साहले गरिबी निवारण गर्ने हो भने अब हामीले पनि प्रविधिको क्षेत्रमा विकास गर्नुपर्छ भन्नुभयो । चीनले विश्वलाई नै आश्चर्यमा पार्ने हिसावबाट प्रविधिको विकास गरेको जानकारी दिनुहुँदै साहले अब चीनसँग यस क्षेत्रमा सहकार्य गर्ने समय आएको पनि बताउनुभयो । 

"नेपालका चेपाङ विद्यार्थीहरुले निर्माण गरेको स्याटेलाइट यतिवेला चीनमा पुगेको छ, त्यसैले अब चीनसँग हामी भूमिमा मात्र छैनौं हामी अन्तरिक्षमा पनि छौं " पूर्वमन्त्री साहले भन्नुभयो ।  

सम्बोधनको पूर्णपाठ

नेपाल र चीनबीचको सम्बन्ध जनता-जनता माझको सम्बन्ध हो र यो जनताको कूटनीतिक सम्बन्ध पनि हो । अहिले हामीले दुई देशबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७० औं वार्षिकोत्सव मनाए पनि चीन र नेपालको सम्बन्ध हजारौं वर्ष पुरानो छ । शताब्दीऔँ पहिले जतिबेला हामीसँग हाम्रो परम्परागत ज्ञान थियो, त्यो हामीले चीनमा पठाएको थियौं जुन कुरा इतिहासमा पाइन्छ । नेपालका महान कलाकार, नेपालका छोरा अरनिकोले तिब्बत र चीनमा गएर विभिन्न गुम्वा र चैत्यहरु बनाएर ख्याति कमाएर चिनियाँ जनतालाई नेपाली मौलिक कलाकारिताको ज्ञान दिए ।

अहिलेको युग विज्ञान, प्रविधि र एआईको हो । चीनले यी सबै क्षेत्रमा तीव्र विकास गरेको छ । हामी दुई देशबीच विज्ञान र प्रविधिका विभिन्न क्षेत्रमा सहयोग र सहकार्य हुनु आवश्यक छ । चीन विश्वको सबैभन्दा धेरै जनसंख्या भएको देश हो । त्यहाँ राष्ट्रपति सि चिनफिङको कुशल नेतृत्वमा गरिबीलाई पूर्ण रुपमा हटाइएको छ । गरिबी उन्मुलन गर्न सफल भएकोमा म चिनियाँ कम्युनिष्ट पार्टी, राष्ट्रपति सि चिनफिङ र चिनियाँ जनतालाई हार्दिक शुभकामना व्यक्त गर्दछु । चीनका लागि गरिबी उन्मुलन महत्वपूर्ण उपलब्धि हो । अब चीन विश्वको सम्पन्न देश बन्ने लक्ष्यका साथ अघि बढिरहेको छ ।

चीनले गरिबी निवारण गर्न सफल हुनुका पछाडि विज्ञान, प्रविधि र नवप्रवद्र्धन पनि हो । त्यसैले हामीले के कुरामा हेक्का राख्नु पर्छ भने गरिबी निवारण गर्ने हो भने अब हामीले पनि प्रविधिको क्षेत्रमा विकास गर्नुपर्छ । चीनले विश्वलाई नै आश्चर्यमा पार्ने हिसावबाट प्रविधिको विकास गरेको छ । त्यसैले विगतमा यात्रा गर्दा लाग्ने कैयौं दिन र घण्टाहरु अब छोटिन थालेका छन् । द्रूत रेलसेवाको निर्माणले चीनलाई नयाँ युगमा पु¥याएको छ भन्दा पनि हुन्छ । 

नेपालले चीनसँग मिलेर विज्ञान र प्रविधिका क्षेत्रमा काम गर्न केही कुराहरु विचार गर्नुपर्छ । पहिलो कनेक्टीभिटी, सडक मात्र कनेक्टीभिटी होइन, अहिले त डिजिटल कनेक्टीभिटीको युग आएको छ । त्यसैगरी डिजिटल कनेक्टीभिटी पनि महत्वपूर्ण क्षेत्र हो । मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय मार्फत भविष्यमा हामी दुई देशका बीचमा पनि सहयोग आदानप्रदान हुन सक्छ । अहिले विश्व ग्रिन टोक्नोलोजी र ग्रिन इकोनमीको पछाडि कुँदिरहेको छ । यी विषयहरुमा चीनको लामो अनुभव र विज्ञता रहेको छ ।

त्यसैले आगामी दिनमा यस क्षेत्रमा पनि चीनसँग मिलेर काम गरौं भन्ने मेरो विचार हो । बाढी, पहिरो, भूकम्प जस्ता विपत्तिहरुको जोखिममा नेपाल रहेको हुनाले यस क्षेत्रमा पनि चीनसँग सहकार्य गर्नु उपयक्त हुन्छ । नेपालका चेपाङ विद्यार्थीहरुले निर्माण गरेको स्याटेलाइट यतिवेला चीनमा पुगेको छ, त्यसैले अब चीनसँग हामी भूमिमा मात्र छैनौं हामी अन्तरिक्षमा पनि छौं । 

प्रकाशित मिति: बिहीबार, पुस ३, २०८२  २३:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update