रमेश हतुवाली/काठमाण्डू । रे टेलिभिजनका समाचार निर्देशक तथा अजम्बरी साइनो पत्रिकाका प्रधान सम्पादक व्याकुल पाठकले नेपाल–चीन सम्बन्ध परस्पर विश्वास, सम्मान र सहयोगमा आधारित रहँदै आएको बताउनु भएको छ ।
नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७० वर्षको अवसरमा काठमाण्डूस्थित रे मिडिया ग्रुप र सिजिटिएन नेपाली विभागको सहकार्यमा आज आयोजित नेपाल-चीन सम्वन्धको ७० बर्ष 'सम्झना र समिक्षा' विषयक अन्तरक्रियामा बोल्नुहुँदै पाठकले सो विचार व्यक्त गर्नुभएको हो ।
-1766313124.jpg)
'सन् १९५५ अगस्त १ मा कूटनीतिक सम्बन्ध प्रारम्भ भएदेखि नै नेपाल–चीन सम्बन्ध परस्पर विश्वास, सम्मान र सहयोगमा आधारित रहँदै आएको छ । नेपाल र चीनबीचको द्विपक्षीय सम्बन्ध सन् १९६० अप्रिल २८ मा दुवै देशका प्रतिनिधिले हस्ताक्षर गरिएको चीन–नेपाल शान्ति तथा मैत्रीपूर्ण सन्धिले परिभाषित गरेको छ । सन् १९६० मार्च २१ मा चीन–नेपाल सीमा सन्धि भएपछि चीन नेपाल सम्बन्धले गति लिएको थियो । चीनसँगको सीमा सन्धि अनुमोदन गर्ने नेपाल पहिलो छिमेकी राष्ट्र बनेको थियो । नेपाल र चीन सरकारले सन् १९६१ अक्टोबर ५ मा सीमा सन्धि अनुमोदन गरेका थिए । सीमा जस्तो जटिल विषय बिना झन्झट सहमतिमा पुग्नुले दुई देशबीचको सम्बन्ध कति प्रगाढ र विश्वासमा आधारित छ भन्ने प्रमाणित हुन्छ ।' पाठकले भन्नुभयो ।

निर्देशक पाठकले लिखित इतिहास शुरू हुनुभन्दा अघिदेखि नै दुई देशका जनता एकअर्कामा सहयोगी बन्दै सुमधुर सम्बन्ध कायम राख्दै आएका बताउनुभयो । अजम्बरी साइनो पत्रिकामा नेपाल–चीन सम्बन्धका विविध पक्ष र विधाहरूमा विज्ञहरूले लेख्नुभएका गहकिला लेख–रचनाहरू समावेश गरिएका भन्दै पाठकले शैक्षिक, सामाजिक, साँस्कृतिक, आर्थिक, प्राविधिक तथा राजनीतिक क्षेत्रमा क्रियाशील रहनु भएका चीनसँग नजिकको साइनो र सम्बन्ध रहेका विविध क्षेत्रका विज्ञहरूका भ्रमण अनुभव र विचारहरू पनि पत्रिकामा समावेश गरिएको जानकारी दिनुभयो ।
सम्बोधनको पूर्णपाठ
नेपाल र चीनबीच जनस्तर र राजनीतिक तहमा हजारौं वर्षदेखि सुमधुर सम्बन्ध रहिआएको छ । लिखित इतिहास शुरू हुनुभन्दा अघिदेखि नै दुई देशका जनता एकअर्कामा सहयोगी बन्दै सुमधुर सम्बन्ध कायम राख्दै आएका छन् । नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापना भएको चाहिँ भर्खर ७० वर्ष मात्र पूरा भएको छ । दुई देशबीचको सम्बन्ध र सहकार्यको इतिहास हेर्दा यो समय छोटो महसुस हुन्छ तर विश्वको आधुनिक इतिहासतिर दृष्टिगत गर्दा सात दशकको अवधि त्यति छोटो भने होइन ।
सन् १९५५ अगस्त १ मा कूटनीतिक सम्बन्ध प्रारम्भ भएदेखि नै नेपाल–चीन सम्बन्ध परस्पर विश्वास, सम्मान र सहयोगमा आधारित रहँदै आएको छ । नेपाल र चीनबीचको द्विपक्षीय सम्बन्ध सन् १९६० अप्रिल २८ मा दुवै देशका प्रतिनिधिले हस्ताक्षर गरिएको चीन–नेपाल शान्ति तथा मैत्रीपूर्ण सन्धिले परिभाषित गरेको छ । सन् १९६० मार्च २१ मा चीन–नेपाल सीमा सन्धि भएपछि चीन नेपाल सम्बन्धले गति लिएको थियो । चीनसँगको सीमा सन्धि अनुमोदन गर्ने नेपाल पहिलो छिमेकी राष्ट्र बनेको थियो । नेपाल र चीन सरकारले सन् १९६१ अक्टोबर ५ मा सीमा सन्धि अनुमोदन गरेका थिए । सीमा जस्तो जटिल विषय बिना झन्झट सहमतिमा पुग्नुले दुई देशबीचको सम्बन्ध कति प्रगाढ र विश्वासमा आधारित छ भन्ने प्रमाणित हुन्छ ।
नेपाल र चीनबीच रहँदै आएको यस किसिमको विश्वले नै गर्व गर्न लायकको अद्वितीय सम्बन्धका विविध आयाम समेट्ने उद्देश्यले हामीले ‘अजम्बरी साइनो’ नामको विशेष स्मारिकाको प्रकाशन गरेका हौँ । यस स्मारिकामा नेपाल–चीन सम्बन्धका विविध पक्ष र विधाहरूमा विज्ञहरूले लेख्नुभएका गहकिला लेख–रचनाहरू समावेश गरिएका छन् । त्यसैगरी शैक्षिक, सामाजिक, साँस्कृतिक, आर्थिक, प्राविधिक तथा राजनीतिक क्षेत्रमा क्रियाशील रहनु भएका चीनसँग नजिकको साइनो र सम्बन्ध रहेका विविध क्षेत्रका विज्ञहरूका भ्रमण अनुभव र विचारहरू पनि समेटिएका छन् ।
नेपाल र चीनबीचको सम्बन्धलाई नयाँ पुस्तालाई पनि जानकारी गराउँदै लैजानु उपयुक्त हुन्छ । यसै कुरालाई मध्यनजर गर्दै हामीले जेन्जी पुस्ताका नयाँ लेखकहरूले उपलब्ध गराउनु भएका लेख–रचनाहरु पनि स्मारिकामा समावेश गरेका छौं । चीन र नेपालबीच औपचारिक सम्बन्ध भएयता भए गरेका ऐतिहासिक सन्धि सम्झौताको प्रतिलिपिहरू पनि दस्तावेजका रूपमा हामीले समेटेका छौं । यसबाट नेपाल र चीनबीचको सम्बन्धमा अध्ययन र अनुसन्धान गर्न चाहने विज्ञहरूका लागि पनि सन्दर्भ स्रोत हुनसक्छ भन्ने विश्वास मैले लिएको छु । स्मारिकामा समावेश गरिएका लेख-रचनाहरू नेपाल-चीन मैत्रीका विषयमा अध्ययन गर्न चाहने र चीन भ्रमण गर्न चाहने जो कोहीका लागि पनि महत्वपूर्ण हुने छ भन्ने आशा गरेको छु ।
यो स्मारिकाको अर्को महत्वपूर्ण पाटो भनेको यसमा समेटिएका तस्वीरहरू हुन् । दस्तावेजका रूपमा समेटिएका ऐतिहासिक महत्व बोकेका तत्कालीन नेता गणहरुका फोटोका साथै पछिल्लो समयमा दुई देशबीच भएका उच्चस्तरीय भ्रमणलाई झल्काउने तस्वीरहरू पनि सन्दर्भ मिलाएर समावेश गरिएको छ । यसबाट पनि पाठकहरूलाई दुई देशबीचको सम्बन्ध बुझ्न धेरै सजिलो हुन्छ भन्ने लागेको छ ।
रे मिडिया ग्रुपका अध्यक्ष प्रकाश बाबु पौडेलको सल्लाह र सहयोग अनि मेरा सहकर्मी सम्पादक रमेश कुमार भट्टराई हतुवालीको साथले यो स्मारिका यस अवस्थामा प्रकाशित हुन सकेको हो । स्मारिकाका लागि आफ्ना अमूल्य रचना दिएर सहयोग गर्नुहुने सम्पूर्ण लेखक र फोटोग्राफरहरूलाई म हार्दिक आभार व्यक्त गर्दछु ।
महिनौंको मेहनत र हाम्रो बुद्धि र बर्कतले भ्याएसम्म स्मारिकामा त्रुटि र कमी कमजोरी नहोस् भन्नेतर्फ हामी सचेत भएका हौँ । यति गर्दागर्दै पनि केही कमी कमजोरी भएका हुन सक्छन् । त्यसप्रति क्षमाप्रार्थी हुँदै भविष्यमा यस्ता स्मारिका प्रकाशन गर्नका लागि विद्वत् वर्गबाट सहयोग र सुझाव प्राप्त हुने नै छ भन्ने आशा गरेको छु ।
यति भन्दै मेरो यो सानो मन्तव्य यहीं अन्त्य गर्छु । धन्यवाद ।।
