रमेश हतुवाली/काठमाण्डू । सीजीटीएन नेपाली सेवाका प्रमुख लिउ वन सुमेघाले नेपाल चीन कूटनीतिक सम्बन्धको ७० वर्ष सम्झना र समीक्षाले निकै गहन कुरा बोकेको बताउनु भएको छ ।
नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७० वर्षको अवसरमा काठमाण्डूस्थित रे मिडिया ग्रुप र सिजिटिएन नेपाली विभागको सहकार्यमा आज आयोजित नेपाल-चीन सम्वन्धको ७० बर्ष ’सम्झना र समिक्षा’ विषयक अन्तरक्रियामा बोल्नुहुँदै प्रमुख सुमेघाले सो धारणा व्यक्त गर्नुभएको हो ।
-1766311138.jpg)
सत्तरी वर्ष व्यतीत हुँदै गर्दा दुई देशबीचमा विस्तार भएको घनिभूत विश्वास, प्रगाढ मैत्री, न्यानो आदानप्रदान, आत्मीय सहकार्य, जनस्तरमा फैलिएको कटिवद्ध मित्रता र सगरमाथाजस्तै स्वच्च र उच्च सम्बन्धको आज हामी सम्झना र समीक्षा गर्दैछौँ। समेघाले भन्नुभयो ।
चीन र नेपालले कूटनीतिक सम्बन्ध स्थापना भएको ७० वर्षमा थुप्रै घुम्तीहरु पार गरेका बताउनुहुँदै उहाँले यस अवधिमा कयौँ उपलब्धिहरु प्राप्त भएका जानकारी दिनुभयो । आगामी समयमा दुवै मुलुकबीचको आपसी सहयोग तथा मैत्रीमा बढोत्तरी हुँदै जाने कुरामा पूर्ण विश्वस्त रहेको पनि सुमेघाको भनाई छ । मिडियाकर्मीको हैसियतमा रहेर आफुहरु नेपाली मिडियाहरू र विभिन्न पक्षका व्यक्तिहरूसित हातमा हात मिलाएर चिनियाँ तथा नेपाली जनताबीचको पारस्परिक जानकारी बढाउन इच्छुक रहेको पनि प्रमुख सुमेघाले बताउनु भयो ।
-1766499702.jpg)
'आगामी वर्ष सन् २०२६ परम्परागत चिनियाँ पात्रो अनुसार घोडा वर्ष हो। त्यसकारण आगामी वर्ष दुई देशबीचको सम्बन्ध पनि घोडा जस्तै मजबुत, तीब्र गति लिने र लक्ष्य प्राप्त गर्ने हुनेछ। म नयाँ वर्ष सन् २०२६ सँग चिनियाँ घोडा वर्षको पनि शुभकामना व्यक्त गर्दछु।' सुमेघाले भन्नुभयो ।
सम्बोधनको पूर्णपाठ
आजको यस समारोहका प्रमुख अतिथि राष्ट्रिय सभाका सम्माननीय अध्यक्षज्यू
मञ्चमा आशिन उच्च पदस्थ महानुभावहरु तथा प्रत्यक्ष प्रसारण हेरिरहेका नेपाली साथीहरू,
केही दिन अगाडि बेइजिङमा हिउँ परेकाले यहाँको मौसम निकै चिसो छ। काठमाण्डूमा पनि हिउँदे याममा चिसोपन बढिरहेको होला। वातावरण चिसो भए पनि चीन र नेपालबीचको सम्बन्ध न्यानो र आत्मीय रहेको छ। त्यसकारण म आजको यस समारोहमा सीजीटीएन नेपाली सेवाकी प्रमुख सुमेघा यहाँहरुलाई न्यानो अभिवादन व्यक्त गर्दछु।
चालु वर्ष चीन र नेपालबीचमा कूटनीतिक सम्बन्ध स्थापना भएको ७० औँ वार्षिकोत्सव हो। चालु वर्षभरि दुईदेशमा विभिन्न कार्यक्रम आयोजना गरेर कूटनीतिक सम्बन्ध स्थापना भएको ७० औँ वार्षिकोत्सव मनाइएको छ। मेरो विचारमा चालु वर्षको यो अन्तिम कार्यक्रम हुन सक्छ। किनभने हामी सन् २०२५ को उत्तरार्द्धमा छौँ। हाम्रा संघारमा नयाँ वर्ष सन् २०२६ उभिएको छ। त्यसकारण म सम्पूर्ण नेपाली साथीहरुलाई नयाँ वर्ष सन् २०२६ को शुभकामना पनि व्यक्त गर्दछु।
आजको कार्यक्रमको शीर्षक निकै महत्वपूर्ण छ। नेपाल चीन कूटनीतिक सम्बन्धको ७० वर्ष सम्झना र समीक्षाले निकै गहन कुरा बोकेको छ। सत्तरी वर्ष व्यतीत हुँदै गर्दा दुईदेशबीचमा विस्तार भएको घनिभूत विश्वास, प्रगाढ मैत्री, न्यानो आदानप्रदान, आत्मीय सहकार्य, जनस्तरमा फैलिएको कटिवद्ध मित्रता र सगरमाथाजस्तै स्वच्च र उच्च सम्बन्धको आज हामी सम्झना र समीक्षा गर्दैछौँ।
चालु वर्ष सन् २०२५ चीनका लागि पनि निकै महत्वपूर्ण वर्ष रह्यो। चालु वर्ष चीनको चौधौँ पञ्च वर्षीय योजनाको अन्तिम वर्ष हो। गत अक्टोबर २० देखि २३ सम्म चिनियाँ कम्युनिष्ट पार्टी बीसौँ केन्द्रीय समितिको चौथो पूर्ण बैठक सम्पन्न भयो। उक्त बैठकले आगामी वर्षदेखि चीनमा लागु हुने पन्ध्रौँ पञ्चवर्षीय योजनाको तर्जुमा गर्दै चौधौँ पञ्चवर्षीय योजनाको मूल्याङ्कन गरेको थियो। उक्त मूल्याङ्कन अनुसार चौधौँ पञ्चवर्षीय योजनाका उपलब्धिहरु समयभन्दा अगाडि नै पूरा भएको र चीनले सुधार र खुलापनलाई अझै गहन बनाएको भन्दै चिनियाँ विकास र अर्थतन्त्र उत्साहजनक रहेको किटान गरेको थियो। वितेको केही दिनअगाडि आयोजित चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको आर्थिक कार्य सम्मेलनमा चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव एवं जनगणतन्त्र चीनका राष्ट्राध्यक्षले सन् २०२६ का लागि आर्थिक कार्यको रूपरेखा पनि प्रस्तुत गर्नुभयो। उक्त सम्मेलनमा प्रस्तुत भएको तथ्याङ्क अनुसार चिनियाँ अर्थतन्त्र स्थिर रुपमा विकास हुँदै नयाँ उपलब्धिहरु प्राप्त गरेको छ। चीनको पन्धौँ पञ्च वर्षीय योजना सन् २०२६ देखि २०३० सम्म रहनेछ। यस अवधिमा चीनले केही मूलभूत प्रगति गरेर नयाँ कोशेढुङ्गा सिर्जना गर्ने लक्ष्य राखेको छ।
मैले यो घटनालाई यहाँ किन उल्लेख गरेकी छु भने सन् २०२५ चीनका लागि सकारात्मक, सन्तोषजनक, प्रगतिउन्मुख र गतिशील रह्यो। तपाईं हामी सबैलाई थाहा छ कोभिड महामारीपछि विश्व अर्थतन्त्र पूर्ववत रुपमा अझै फर्कन सकेको छैन। आर्थिक मन्दीले सबैतिर असर पारेको छ। यस्तो प्रतिकूल अवस्थामा पनि चिनियाँ अर्थतन्त्र भने पूर्ववत अवस्थामा फर्किएर स्थिर विकास गरेको कुरा तथ्याङ्कहरुले पुष्टि गर्छन्। चीनले आफ्नो यो प्रगति र विकासलाई अन्य देशमा पनि बाँड्न चाहेको छ।
सीजीटीएन नेपालीले चिनियाँ विकास र प्रगतिका कुरालाई नियमित रुपमा आफ्नो वेभसाइट र आफ्नो फेसबुक पेजमा राख्दै आएको छ। चालु वर्षमै चीनको सिचाङ स्वायत्त प्रदेश स्थापनाको साठीऔँ वर्षगाँठका अवसरमा हामीले सिचाङको कृषि, भौतिक पूर्वाधार, सांस्कृतिक सम्पदा संरक्षण, हरित विकास, तिब्बती बौद्ध धर्मको संरक्षण र विकास आदि कुराहरु समेटेर श्रव्यदृश्य सामग्रीहरु तयार बनाएर नेपालीलाई देखाएका छौँ। हामीले केही भागको टेलिशृङ्खला पनि बनाएका छौँ। हामीलाई धेरै नेपालीले चिनियाँ कृषि, प्रविधि, आश्चर्यजनक चिनियाँ विकास आदिका बारेमा जान्न चाहेको विचार व्यक्त गर्नुहुन्छ। त्यही सुझाव अनुसार हामी सकेसम्म त्यस्ता जानकारी दिँदै जानेछौँ।
विगत सत्तरी वर्षमा चीन र नेपाल दुवैले निकै विकास गेका छन्। दुई देशबीचमा स्थल मार्ग अन्तर्गत थुप्रै नाकाहरु सञ्चालनमा छन्। हवाइ मार्गबाट पनि दुवै देशबीचमा समुमधुर आदानप्रदान गराएको छ।
नेपालको भौतिक पूर्वाधार, कृषि, स्वास्थ्य, सेवा, पर्यटन आदि क्षेत्रमा चीनले सहयोग गरिरहेको कुरा हामी सबैलाई थाहा भएकै कुरा हो। दुई देशका सरकार र जनताबीचमा अत्यन्त घनिष्ट सम्बन्ध रहँदै आएको छ। एक अर्कामा अप्ठ्यारो पर्दा सहयोग गर्नु नै असल मित्रता र छिमेकीको कर्तव्य हो। यो भावना दुवै देशका मन, आत्मा र मस्तिष्कमा रहेको छ। त्यही भएर त चिनियाँ र नेपालीले सधैँ हातेमालो गर्ने गरेका छन्।
मेरो विचारमा चीन र नेपालले कूटनीतिक सम्बन्ध स्थापना भएको ७० वर्षमा थुप्रै घुम्तीहरु पार गरेका छन्। हजारौँ कोशेढुङ्गा लेखिएका छन्। कयौँ उपलब्धिहरु प्राप्त भएका छन्। अनि आगामी समयमा यी कुरामा बढोत्तरी हुँदै जाने कुरामा म पूर्ण विश्वस्त छु। मिडियाकर्मीको हैसियत्तमा रहेर हामी नेपाली मिडियाहरू र विभिन्न पक्षका व्यक्तिहरूसित हातमा हात मिलाए चिनियाँ तथा नेपाली जनता बीचको पारस्परिक जानकारी बढाउन इच्छुक छौँ।
आगामी वर्ष सन् २०२६ परम्परागत चिनियाँ पात्रो अनुसार घोडा वर्ष हो। त्यसकारण आगामी वर्ष दुई देशबीचको सम्बन्ध पनि घोडा जस्तै मजबुत, तीब्र गति लिने र लक्ष्य प्राप्त गर्ने हुनेछ। म नयाँ वर्ष सन् २०२६ सँग चिनियाँ घोडा वर्षको पनि शुभकामना व्यक्त गर्दछु। धन्यवाद। स्ये स्ये।
