रमेश हतुवाली/काठमाण्डू । वरिष्ठ लेखक तथा परराष्ट्रविद् हिरण्यलाल श्रेष्ठले नेपाल र चीनबीचको सम्बन्ध प्राचिन सिल्क रोडदेखि आधुनिक सिल्क रोडसम्म पनि कायमै रहेको बताउनु भएको छ ।
नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७० वर्षको अवसरमा काठमाण्डूस्थित रे मिडिया ग्रुप र सिजिटिएन नेपाली विभागको सहकार्यमा आज आयोजित नेपाल–चीन सम्वन्धको ७० बर्ष ’सम्झना र समिक्षा’ विषयक अन्तरक्रियामा बोल्नुहुँदै परराष्ट्रविद् श्रेष्ठले सो विचार व्यक्त गर्नुभएको हो ।
नेपाल र चीनबीचको सम्बन्ध हजारौं वर्ष पुरानो रहेको जानकारी दिनुहुँदै श्रेष्ठले चिनियाँ कम्युनिष्ट पार्टीका अध्यक्ष माओ चतोङले स्थापना गर्नुभएकोे जनवादी गणतन्त्र चीनसँग नेपालको सम्बन्ध जोडिएको मात्र ७० वर्ष भएको पनि बताउनुभयो ।
विदेशी अथवा चीन विरोधीहरुले नेपाल र चीनबीचको सम्बन्धलाई हिमालले छेकिएको सम्बन्ध भनि सम्बोधन गर्ने गरेको स्मरण गर्नुहुँदै उहाँले चिनियाँ र नेपालीहरुले दुई देशबीचको सम्बन्धलाई पहाड, पर्वत, खोला र नदीहरुले जोडिएको सम्बन्ध भनि सम्बोधन गर्ने गरेको स्मरण समेत गराउनु भयो । नेपाल र चीनबीचको सम्बन्ध विश्वमै गर्व गर्न लायक सम्बन्ध भएको पनि परराष्ट्रविद् श्रेष्ठको धारणा रहेको छ ।
एक अर्को प्रसंगमा परराष्ट्रविद् श्रेष्ठले नेपाल र चीनकाबीचमा यातायात र पारवहन सम्झौता भएपछि वैकल्पिक बाटोको प्रयोग गर्ने सुविधा नेपालले प्राप्त गरेपछि जमिन जमिन जोडिएका नेपाल र चीनबीचको सम्बन्ध अझ घनिष्ठ भएको भन्दै भारतले भविष्यमा नेपाललाई नाकाबन्दी लगाउन सक्ने सम्भावनाको पनि अन्त्य भएको बताउनु भयो । नेपाल र चीनबीचको मित्रता अझ व्यापक र फराकिलो हुँदै गएको परराष्ट्रविद् श्रेष्ठको भनाइ छ ।
नेपाल र चीन दुवैका लागि नचाहिने तिब्बती शरणार्थी शिविर चीनलाई हस्तक्षेप गर्न खोज्नेहरुका लागि जोगाएर राखिरहनु पर्ने आवश्यकता नभएको पनि उहाँको भनाइ छ । “अब तिब्बती शरणार्थी शिविरको नेपालमा आवश्यकता छैन । तिब्बती शरणार्थीहरुलाई नेपालको कानून स्विकार गरेर नेपालमै बस्ने, चीन फर्कने अथवा तेस्रो देश जाने तीनवटा विकल्प दिएर नेपालमा शरणार्थी शिविर बन्द गर्नुपर्छ । त्यसैले नेपाल र चीन दुवैका लागि नचाहिने तिब्बती शरणार्थी शिविर चीनलाई हस्तक्षेप गर्न खोज्नेहरुका लागि जोगाएर राखिरहनु पर्ने आवश्यकता छैन । चीनसँगको नेपालको ७० वर्षको कूटनीतिक सम्बन्धको अनुभवले भन्छ क्लोज तिब्बती रिफ्युजी क्याम्प । अब अर्काको लागि त्यो शरणार्थी क्याम्प राख्नु आवश्यक छैन । हामीले मानवीय आधारमा तिब्बतीहरुलाई शरण दिएका हौं तर खम्पा विद्रोही फेरी जन्माउने जस्ता स्वार्थ पुरा गर्न अब हामी उनीहरुलाई दिँदैनौं ।” परराष्ट्रविद् श्रेष्ठले भन्नुभयो ।
सम्बोधनको पूर्णपाठ
नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७० वर्षकोे अवसरमा म दुवै देशका मित्रताप्रेमी सबैलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु ।
नेपाल र चीनबीको सम्बन्धलाई म टाइम टेस्टेड फ्रेण्डसिप भन्छु । मैले टाइम टेस्टेड फ्रेण्डसिप भन्नुका दुईवटा कारणहरु छन् । वीपी कोइराला प्रधानमन्त्री भएको समयमा खम्पा विद्रोहीले नेपालमा बसेर चीनका विरुद्ध जतिवेला अभियान चलाईरहेका थिए त्यत्तिवेला एक जना नेपाली सेनाका अफिसरलाई खम्पानै हो कि भनि चिनियाँ सेनाले गोली प्रहार गर्दा उनको निधन भयो । त्यो घटना हुँदा चीनले विश्वमै पहिलो पटक कुनै देशसँग माफि मागेको छ र क्षतिपूर्ती दिएको छ भने त्यो देश नेपाल नै हो । त्यत्तिवेला चीनले विशाल देश भएकोमा घमण्ड देखाएन त्यसैले यो एउटा पृथक उदाहारण हो । दोस्रो उदाहरण के हो भने बाहिरीया शक्तिहरुले खम्पा विद्रोहीहरुलाई तालिम, हातहतियार र पैसा दिएर नेपालमा चीनका विरुद्ध आन्दोलन गर्न पठायो तर एक चीननीति मान्ने नेपालका लागि त्यो सहन सक्ने कुरा थिएन, त्यसैले नेपालले एकचीन नीतिलाई मुखले मात्र भन्ने होइन कि कामले पनि देखाउँछौं, चीन विरोधी गतिविधी हाम्रो भूमिमा गर्न दिन्नौं नेपालको सेनाले खम्पा विद्रोहीहरुलाई निशस्त्रीकरण गर्ने काम गर्यो, विदेशी पिलाटस पोटर्स हवाई जहाजले उनीहरुलाई मुस्ताङदेखि बाटो देखाउँदै लग्यो र नेपालको लिपुलेकनिर पुगेर भारतिर जान लागेको समयमा कर्णेल वाङ दीलाई नेपाली सेनाले गोली ठोकेर मारिदियो । खम्पा विद्रोही नेता कर्णेल वाङ दी को हत्यालाई चीनले नेपालबाट प्राप्त कहिल्यै विर्सन नसकिने गुन भनेर सम्मान गर्यो । त्यसैले मैले टाइम टेस्टेड फ्रेण्डसिप भनेको हुँ ।
नेपाल र चीनबीचको सम्बन्ध प्राचिन सिल्क रोडदेखि आधुनिक सिल्क रोडसम्म पनि कायमै रहेको छ । त्यसैले नेपाल र चीनबीच ७० वर्ष अघि भएको कूटनीतिक सम्बन्ध पहिलो पनि होइन भन्न सकिन्छ । नेपाल र चीनबीचको सम्बन्ध हजारौं वर्ष पुरानो छ । चिनियाँ कम्युनिष्ट पार्टीका अध्यक्ष माओले स्थापना गरेको जनवादी गणतन्त्र चीनसँग हाम्रो सम्बन्ध जोडिएको मात्र ७० वर्ष भएको हो ।
विदेशी अथवा चीन विरोधीहरुले नेपाल र चीनबीचको सम्बन्धलाई हिमालले छेकिएको सम्बन्ध भनि सम्बोधन गर्ने गर्दछन् तर चिनियाँ र नेपालीहरुले भन्छौं पहाड, पर्वत, खोला र नदीहरुले जोडिएको नेपाल–चीन सम्बन्ध । त्यसैले नेपाल र चीनबीचको सम्बन्ध विश्वमै गर्व गर्न लायक सम्बन्ध हो । त्यसैले विदेशीहरुले गर्ने नेपाल–चीन सम्बन्धको परिभाषा र हाम्रो परिभाषा नै फरक छ, विशिष्ट छ । त्यसैगरी नेपाल र चीनकाबीचमा यातायात र पारवहन सम्झौता भएपछि वैकल्पिक बाटोको प्रयोग गर्ने सुविधा नेपालले प्राप्त गरेपछि जमिन जमिन जोडिएका नेपाल र चीनबीचको सम्बन्ध अझ घनिष्ट भएको छ भने भारतले भविष्यमा नेपाललाई नाकाबन्दी लगाउन सक्ने सम्भावनाको पनि अन्त्य भएको छ । त्यसैले नेपाल र चीनबीचको मित्रता अझ व्यापक र फराकिलो हुँदै गएको छ । त्यसैगरी चीनसँग जोडिएका १४ वटा नाका पनि अहिले खोलीएका छन् । त्यसैले नेपाल र चीनबीचको सम्बन्ध हिमालले छेकिएको नभएर हिमालको जग जस्तो वलियो र भरपर्दो छ । ७० वर्षको सबैभन्दा ठूलो उपलब्धि भनेको भारतले कहिल्यै पनि नेपाललाई नाकाबन्दी गर्न नसक्नु हो, चीनसँग भएको ट्रान्जीट र ट्रान्सपोर्ट सम्बन्धी सम्झौता हो । त्यसैले अब नेपाल लेन्ड लक कन्ट्रीबाट लेन्ड लिंक कन्ट्री भएको छ र हामीलाई अब कसैले पनि नाकाबन्दी गर्न सक्दैन, जुन चीनसँगको दरिलो मित्रताको परिणाम हो । यो कुरालाई हामीले कहिल्यै विर्सन हुँदैन । अमेरिका लगायतका पश्चिमा देशहरुले भुटानी शरणार्थी शिविर बन्द गर्न सहयोग गरेको थियो किनकी नेपालबाट भुटानमाथि कुनै प्रभाव पर्छ भनेर अब नेपालमा रहेका तिब्बती शरणार्थी शिविर बन्द गर्न पनि उनीहरुले सहयोग गर्नुपर्छ यो मेरो प्रस्ताव हो । अब तिब्बती शरणार्थी शिविरको नेपालमा आवश्यकता छैन । तिब्बती शरणार्थीहरुलाई नेपालको कानून स्विकार गरेर नेपालमै बस्ने, चीन फर्कने अथवा तेस्रो देश जाने तीनवटा विकल्प दिएर नेपालमा शरणार्थी शिविर बन्द गर्नुपर्छ । त्यसैले नेपाल र चीन दुवैका लागि नचाहिने तिब्बती शरणार्थी शिविर चीनलाई हस्तक्षेप गर्न खोज्नेहरुका लागि जोगाएर राखिरहनु पर्ने आवश्यकता छैन । चीनसँगको नेपालको ७० वर्षको कूटनीतिक सम्बन्धको अनुभवले भन्छ क्लोज तिब्बती रिफ्युजी क्याम्प । अब अर्काको लागि त्यो शरणार्थी क्याम्प राख्नु आवश्यक छैन । हामीले मानवीय आधारमा तिब्बतीहरुलाई शरण दिएका हौं तर खम्पा विद्रोही फेरी जन्माउने जस्ता स्वार्थ पुरा गर्न अब हामी उनीहरुलाई दिँदैनौं । नेपालको वर्तमान जेन्जी सरकारले पनि एक चीन नीति प्रतिको समर्थन जनाएको अवस्था विद्यमान छ । यसरी नेपाल र चीनबीचमा बहुआयामिक सम्बन्ध झांगिएर बढ्दैछ । चीनसँग सम्बन्ध जोड्ने हाम्रा तीनवटा च्यानल छन् । पहिलो चीनको तिब्बत स्वायत्त प्रदेशलाई जोड्ने च्यानल, मैले ४ पटक तिब्बतको भ्रमण गरेको छु र मैले पटक पटको तिब्बत भ्रमणबाट देखेको छु कि, तिब्बती युवाहरु अब दलाई लामाको दास युगमा फर्कन चाँहदैनन् । तिब्बत अब आधुनिक भैसक्यो, त्यहाँ यातायात, सञ्चार र प्रविधिको ठूलो विकास भैसकेको छ । तिब्बतको आधुनिक विकासले नेपाललाई पनि सोझो उभिन र व्यापार, प्रविधि लगायतका क्षेत्रको विकासमा मद्दत गर्छ । त्यसैले तिब्बत दलाई लामाको दास युगमा जाने छैन भन्ने कुरा तिब्बतका नागरिकलाई भेटेर आएछि मैले बुझेको कुरो हो । त्यसैले कसैले पनि तिब्बतमा दास युग फर्काउने र तिब्बतलाई विथोल्छु अथवा डिस्टर्ब गर्छु भन्ने नसोचे पनि हुन्छ । साथै एसेसनिष्टहरुलाई त्यहाँ लगेर राख्छु भन्ने पनि कसैले नसोचे हुन्छ ।
विश्व अब एकधु्रवीय प्रभुत्वबाट बहुध्रुवतर्फ जाँदैछ र चीनको त्यसमा नेतृत्वदायी भूमिका छ । भख्खरै मात्र रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले भारतको भ्रमण पुरा गरेपछि मैले भनेको थिँए कि भारत र चीन दुवैको साझा मित्र पुटिन हुन् । त्यसैले भारत, नेपाल र चीन मिलेर नेपालको भूराजनीति विरुद्ध नेपालमा चलखेल गर्न चाहनेहरुलाई जवाफ दिएर यो युग डोमिनेसन, इन्टरफेयर (हेपाहा प्रवृत्ति र हस्तक्षेप)को होइन त्यसैले हामी मिलेर अगाडी बढ्न सक्छौं भनेर भन्नका लागि चीनको नेतृत्वमा जुन योजनाहरु आएका छन् त्यसले के देखाउँछ भने अब दश वर्ष चीनको विषयलाई लिएर कुनै युद्ध भएन भने चीनले अमेरिकलाई त्यसै पनि जित्नेछ । त्यसैले नेपाल र चीनबीच दौत्य सम्बन्ध स्थापनाको अर्को दशक मनाउँदाखेरी चीन विश्वको दोस्रो शक्ति होइन विश्वकै पहिलो शक्ति हुनेछ । त्यसैले चीनको विकास नेपालका लागि पनि लाभदायक हुन्छ किनकी नेपालको विकासको साझेदार भनेको छिमेकी चीन हो ।
अन्त्यमा मेरो भनाई यो छ कि, भारतले नेपालमा पेट्रोल आउने पाईपलाईन विछ्यायो पर पिच्योल डिपेन्ड (perpitchyul dipend) नाउनलाई तर चीनले नेपाललाई आत्मनिर्भर बनाउन नेपालको पश्चिममा ग्याँस र पेट्रोलको भण्डारण पत्ता लगाउन ड्रिल गरेर नेपाल आत्मनिर्भर हुन मात्र होइन विदेशमा बेच्न सक्ने पनि बनाउने योजना ल्याएको छ । त्यसैले सहयोगको कुरा गरेर मात्र हुन्न आफुमा स्थायी रुपमै निर्भर गराउन पाईप लाईन निर्माण र नेपाललाई आत्मनिर्भर बनाउन ग्याँस र पेट्रोलको भण्डारणको गहिरो अध्ययन र अनुसन्धान । त्यसैले भारत र चीनलाई तुलना गरेर पनि हामी हेर्न सक्छौं कि नेपाललाई आत्मनिर्भर बनाउने विकासको साझेदार चीन नै हो । आफु पनि समृद्ध र नेपाल जस्ता छिमेकी पनि समृद्ध पार्ने विश्वासिलो र भरपर्दो छिमेकी चीन नै हो । त्यसैले जसरी नेपालमा जेनजी पुस्ताले भ्रष्टाचारका विरुद्धमा आवाज उठाईरहेका छन् त्यसैगरी चीनमा पनि राष्ट्रपति सि चिनफिङको नेतृत्वमा ठूला ठूला नेताहरुलाई भ्रष्टाचार गरेको हुनाले जेल हाल्ने र मृत्युदण्ड दिने जुन कामका साथ चीनको आधुनिक विकासको गाडी हुईकिरहेको छ । त्यसैले भ्रष्टारले विगार्न नसकोस नेपाल र चीनबीचको सम्बन्धलाई र यो सम्बन्ध अग्रगामी दिशामा जान सकोस् ७० वर्षमा प्राप्त उपलब्धिहरुको रक्षा गर्दै आगामी दिनहरुमा यो सम्बन्ध अझ उचाईमा अघि बढोस भन्ने शुभकामना व्यक्त गर्दछु ।
