RayNewsDaily
नेपाललाई थप राजनीतिक संकटतर्फ धकेलिन नदिन सतर्क हुनुपर्ने : प्रधानमन्त्री कार्की

रमेश हतुवाली, काठमाण्डू । प्रधानमन्त्री सुशीला कार्कीले नेपाललाई थप राजनीतिक संकटतर्फ धकेलिन नदिन सतर्क हुनुपर्ने अवस्था रहेको बताउनु भएको छ । 

Sushila-Karki-1766671115.jpg
आज काठमाण्डूमा बाह्रखरी कथा प्रतियोगिताका विजेता घोषणा तथा पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै उहाँले सो विचार व्यक्त गर्नुभएको हो । उहाँले नेपाललाई बंगलादेश बनाउन दिन नहुने पनि बताउनु भयो । प्रधानमन्त्री कार्कीले अन्तरिम सरकार अचानो जस्तो बनेको टिप्पणी पनि गर्नुभयो । राजनीतिक दल र जेन-जीका विभिन्न समूहहरुले दिनदिनै सरकार छोड् भन्दै गालीगलौज गर्ने गरेको कार्कीको गुनासो छ । उहाँले सबैतिरबाट गाली आएको भन्दै दिग्दारी समेत व्यक्त गर्नुभयो । प्रधानमन्त्री कार्कीले आफूहरु अहिले धैर्यधारण गरेर सबैकुरा सहेर बसेको जानकारी पनि गराउनुभयो । 

प्रधानमन्त्री कार्कीले आफूहरु कहीँ जाँदा पनि सुख नहुने दिक्दारी अवस्थामा रहेको बताउनुभयो । उहाँले निर्वाचन सम्पन्न गर्न सरकार सकसका साथ काम गरिरहेको जानकारी दिनु भयो । प्रधानमन्त्री कार्कीले केही युवाहरुले निर्वाचन किन गर्ने ? भनेर प्रश्न गर्ने गरेको उल्लेख गर्दै वैधानिकता र कानून कार्यान्वयनका लागि निर्वाचन अपरिहार्य भएको बताउनु भयो । उहाँले जेन्जी युवा पुस्ताहरुले पनि दुःख दिने गरेको गुनासो सुनाउनु भयो । ३० वटा छुट्टा छुट्टै जेनजी समूहहरुले आ-आफ्नो मागहरु ल्याएर हैरानी दिने गरेको उहाँको गुनासो छ । 

यसैबीच यस वर्षको बाह्रखरी कथा प्रतियोगितामा शिवराज शाहीले प्रथम स्थान प्राप्त गर्नुभएको छ । बाह्रखरी मिडियाले हरेक वर्ष आयोजना गर्दै आएको प्रतियोगितामा कथाकार शाहीको ‘एक मान्ठ एक देउता’ शिर्षकको कथा उत्कृष्ट घोषणा गरिएको हो । यससँगै उहाँले ट्रफीसहित दुई लाख रुपैया पुरस्कार प्राप्त गर्नुभयो । विजेता घोषणा तथा पुरस्कार वितरण समारोहमा प्रधानमन्त्री सुशीला कार्कीले शाहीलाई पुरस्कार प्रदान गर्नुभयो । यसैगरी रितेश गुरुङको ‘भूइँकुहिरोको बीचमा’ दोस्रो र इन्द्रप्रसाद गोतामे ‘जगतजङ्ग’को ‘अधुरो प्रतिलिपि’ शीर्षकको कथाले तेस्रो स्थान प्राप्त गरेका थिए । उहाँहरुले क्रमशः एक लाख र साठी हजार रुपैयाँ प्राप्त गर्नुभयो । बाह्रखरीले प्रतियोगिताका विजेतासहित २५ जना कथाकारका उत्कृष्ट कथा समावेश गरेर पुस्तक समेत प्रकाशनमा ल्याएको छ । उक्त पुस्तकको समेत आज विमोचन गरिएको थियो ।
 

प्रकाशित मिति: बिहीबार, पुस १०, २०८२  १९:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update