RayNewsDaily
चीन नेपालका लागि एक असल छिमेकीका साथै विकास साझेदारका रूपमा उभिएको छ : अध्यक्ष दाहाल

रमेश हतुवाली/काठमाण्डू । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले चीन नेपालका लागि एक असल छिमेकीमात्र नभई महत्त्वपूर्ण व्यापारिक साझेदार, लगानीकर्ता तथा विश्वसनीय विकास साझेदारका रूपमा उभिएको बताउनुभएको छ ।     

RAY-TV-(110)-1766311138.jpg
काठमाण्डूस्थित रे मिडिया ग्रुपद्वारा आज आयोजित ‘नेपाल-चीन कूटनीतिक सम्बन्धको ७० वर्षः सम्झना र समीक्षा’ कार्यक्रमलाई सम्बोधन गर्दैै अध्यक्ष दाहालले नेपाल-चीन सम्बन्ध आपसी विश्वास, सम्मान र सहकार्यमा आधारित रहेको उल्लेख गर्नुभयो ।     
     
नेपालको स्वतन्त्रता, सार्वभौमिकता र अखण्डताप्रति चीनले सदैव समर्थन गर्दै आएको र नेपालले पनि एक चीन नीतिलाई व्यवहारमा दृढतापूर्वक लागू गर्दै आएको उहाँले स्पष्ट पार्नुभयो ।     

विश्वको दोस्रो ठूलो अर्थतन्त्र बन्न सफल भएको उत्तरी छिमेकी चीनले गरिवी निवारणमा प्राप्त गरेको सफलता र अनुभव नेपाल लगायतका अन्य धेरै देशहरुका लागि पनि महत्वपूर्ण छ।

अध्यक्ष दाहालले भन्नुभयो, “सन् १९५५ अगस्ट १ का दिन नेपाल र चीनबीचको दौत्य सम्बन्ध भएदेखिका ७० वर्षको अवधि हेर्दा कूटनीतिक, आर्थिक, राजनीतिक, सांस्कृतिक, सामाजिक क्षेत्रमा कुनै अप्ठ्यारो नपरी हामीले सहज यात्रा पूरा गरेका छौँ। कूटनीतिक सम्बन्धको ७० औँ वार्षिकोत्सवको अवसरमा सबैलाई हार्दिक शुभकामना व्यक्त गर्दछु।”     

all-pic-1766311238.jpg
 व्यापार, पूर्वाधार विकास, ऊर्जा, पर्यटन, कृषि, स्वास्थ्य, खेलकुद, शिक्षा तथा जनस्तरको सम्बन्धजस्ता विभिन्न क्षेत्रमा चीनको सहयोग र साझेदारीका कारण नेपालले उल्लेखनीय प्रगति हासिल गरेको तथा विशेषगरी सडक, पुल, जलविद्युत्, औद्योगिक विकास तथा पर्यटन पूर्वाधार निर्माणमा चिनियाँ सहयोग महत्त्वपूर्ण रहेको अध्यक्ष दाहालले बताउनुभयो ।     


नेपालको स्वतन्त्रता, सार्वभौमिकता र अखण्डतालाई चीनले सदैव समर्थन गर्दै आएको छ भने नेपालले पनि एक चीनको नीतिलाई व्यवहारमा लागु गरेको छ। क्षेत्रीय तथा विश्व शान्तिमा नेपाल र चीन दुवैले विश्व रंगमञ्चमा महत्वपूर्ण भूमिका निर्वाह गरेका छन्।


“चिनियाँ राष्ट्रपति महामहिम सि चिनफिङको कुशल र दुरदर्शी नेतृत्वका कारण चीनले आफूले मात्रै आर्थिक रुपमा प्रगति गरेको छैन, हामीजस्ता कम विकसित छिमेकी देशको राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक विकास र स्थिरताका लागि पनि उत्तिकै योगदान गरिरहेको छ। नेपालका लागि चीन विगतदेखि नै एक भरोसायोग्य छिमेकी राष्ट्रको रुपमा रहेको यथार्थता हो।” अध्यक्ष दाहालले भन्नुभयो । नेपाल र चीनबीचको साझेदारी शान्ति, विकास र समृद्धिको साझा लक्ष्यतर्फ केन्द्रित रहेको पनि दाहालले बताउनुभयो ।     

कार्यक्रममा नेपाल-चीन कूटनीतिक सम्बन्धको ७०औँ वार्षिकोत्सवका अवसरमा रे मिडिया ग्रुपद्वारा प्रकाशित ‘अजम्बरी साइनो’ पुस्तकको पनि लोकार्पण गरिएको थियो । उक्त पुस्तकमा नेपाल-चीन सम्बन्धका ऐतिहासिक पृष्ठभूमि, वर्तमान अवस्था, कूटनीतिक विकासक्रम तथा भविष्यमा सम्बन्धलाई अझ सुदृढ र प्रभावकारी बनाउने उपायसम्बन्धी सामग्री समेटिएको छ ।     

सहभागीहरूले नेपाल-चीन सम्बन्ध आपसी सम्मान र सहकार्यको उत्कृष्ट उदाहरण रहेको भन्दै आगामी दिनमा यो सम्बन्ध अझ गहिरो र बहुआयामिक बन्दै जाने विश्वास व्यक्त गरेका थिए ।     

RAY-TV-(220)-1766313124.jpg
रे टेलिभिजनका कार्यक्रम निर्देशक रोशन केसी र ब्राण्ड म्यानेजर उपमा पौडेलले सञ्चालन गर्नुभएको सो कार्यक्रममा रे मिडिया ग्रुप र सिजिटिएन नेपाली सेवाले निर्माण गरेका डकुमेन्ट्री साथै रे टेलिभिजनका विविध गतिविधिहरुको जानकारी मुलक भिडियोहरु समेत प्रदर्शन गरिएको थियो । सो समारोहमा नेपालस्थित चिनियाँ राजदूतावासका पदाधिकारीहरु, नेपाल-चीन मैत्री संस्थासँग आवद्ध व्यक्तित्वहरु, सीआरआई श्रोता क्लवहरुको राष्ट्रिय परिषद नेपालका पदाधिकारीहरु, सञ्चारकर्मी, शिक्षक, विद्यार्थी लगायत भण्डै १ सय ५० जनाको सहभागिता रहेको थियो । 

598281702_10214868152054784_7412927646637600282_n-1766311368.jpg
सम्बोधनको पूर्णपाठ

नेपालको स्वतन्त्रता, सार्वभौमिकता र अखण्डतालाई चीनले सदैव समर्थन गर्दै आएको छ भने नेपालले पनि एक चीनको नीतिलाई व्यवहारमा लागु गरेको छ। क्षेत्रीय तथा विश्व शान्तिमा नेपाल र चीन दुवैले विश्व रंगमञ्चमा महत्वपूर्ण भूमिका निर्वाह गरेका छन्।

कार्यक्रमका अध्यक्ष
नेपालस्थित चिनियाँ दूतावासका प्रतिनिधि
माननीय पूर्व मन्त्री,
चीनका लागि नेपाली पूर्वराजदूतहरु
नेपाल(चीनसँग सम्बन्धित विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरु
आयोजक साथीहरु, पत्रकार, सुरक्षाकर्मी एवम् सम्पूर्ण उपस्थित महानुभावहरु
सबैमा नमस्कार। नि हाउ।

सन् १९५५ अगस्ट १ का दिन नेपाल र चीनबीचको दौत्य सम्बन्ध भएदेखिका ७० वर्षको अवधि हेर्दा कूटनीतिक, आर्थिक, राजनीतिक, सांस्कृतिक, सामाजिक क्षेत्रमा कुनै अप्ठ्यारो नपरी हामीले सहज यात्रा पूरा गरेका छौँ। कूटनीतिक सम्बन्धको ७० औँ वार्षिकोत्सवको अवसरमा हामी सबैलाई हार्दिक शुभकामना व्यक्त गर्दछु। 

नेपाल(चीन कूटनीतिक सम्बन्धको ७०औँ वार्षिकोत्सवको अवसरमा रे मिडिया ग्रुपले प्रकाशन गरेको अजम्बरी साइनो पुस्तकको लोकार्पण गर्न पाउँदा मलाई निकै खुसी लागेको छ। यस पुस्तकमा दुई देशबीचको सम्बन्धका विविध ऐतिहासिक पक्ष, वर्तमान अवस्था र भविष्यमा दुई देशबीचको सम्बन्ध अझ प्रगाढ र बलियो बनाउन के गर्न सकिन्छ भन्नेजस्ता सामग्रीहरु रहेको मैले पाएको छु।

यस कार्यक्रममार्फत् म हार्दिकताका साथ चीनका राष्ट्रपति महामहिम सि जिनपिङ, चीन सरकार र चिनियाँ जनताप्रति हार्दिक शुभकामनासहित धन्यवाद ज्ञापन गर्दछु। चिनियाँ राष्ट्रपति महामहिम सि जिनपिङको कुशल र दुरदर्शी नेतृत्वका कारण चीनले आफूले मात्रै आर्थिक रुपमा प्रगति गरेको छैन, हामीजस्ता कम विकसित छिमेकी देशको राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक विकास र स्थिरताका लागि पनि उत्तिकै योगदान गरिरहेको छ। नेपालका लागि चीन विगतदेखि नै एक भरोसायोग्य छिमेकी राष्ट्रको रुपमा रहेको यथार्थता हो।

हामी ढुक्कले भन्न सक्छौँ कि प्राग ऐतिहासिक कालदेखि नै घनिष्ठ सम्बन्ध भएका नेपाल र चीन असल छिमेकी हुन्। विश्वको सर्वोच्च शिखर सगरमाथाको वारिपारी रहेका यी दुवै देशहरुबीचको सम्बन्धलाई जनस्तरसम्म अभिवृद्धि गर्न सयौँ वर्षदेखि निरन्तर प्रयासहरु भैरहेका छन्। फा स्यान, स्वान चाङ, बुद्धभद्र, राजकुमारी भृकुटी र अरनिको जस्ता युग पुरुषहरुले जोडेको दुई देशबीचको सम्बन्ध र भातृत्व हिमाल जस्तै पवित्र, नदी जस्तै स्वच्छ र ग्रेटवाल जस्तै वलियो छ। सभ्यताको मिर्मिरेदेखि गाँसिएको नेपाली र चिनियाँ जनताबीचको नाता मननयोग्य नै छ। 

यस वर्ष दुवै देशमा नेपाल र चीनबीच दौत्य सम्बन्ध स्थापना भएको ७० औं वार्षिकोत्सव विभिन्न कार्यक्रमहरुको आयोजना गरी भव्य रुपमा मनाइरहेको अवस्था छ। हाम्रा पूर्वजहरुले जोड्नु भएको दुई देशबीचको आत्मिय सम्बन्धलाई जनता जनताबीच पुर्‍याउन सरकारी तथा गैरसरकारी क्षेत्रबाट अनेकौं प्रयासहरु भैरहेका छन्। ती प्रयासहरुले सदैव दुई मुलुकहरुको सम्बन्धलाई हराभरा बनाइरहेको छ।

कूटनीतिक सम्बन्ध स्थापना भएपश्चात् नेपालले एक चीनप्रतिको प्रतिवद्धतालाई व्यवहारतः लागु गर्दै आएको छ र अहिले पनि एक चीन सिद्धान्तप्रति नेपाल प्रतिबद्ध छ। दुई देशले पारस्परिक हित, सहकार्य र समृद्धिको मार्गमा अहिलेसम्म धेरै उपलब्धिहरू हासिल गरेका छन्। आज व्यापार, पूर्वाधार, ऊर्जा, पर्यटन, कृषि, खेलकुद, पर्यटन, स्वास्थ्य र जनस्तरको सम्बन्ध जस्ता सबै क्षेत्रमा चिनियाँ सहयोगका कारण उल्लेखनीय प्रगति भएको छ। चीन नेपालका लागि एक असल छिमेकीका साथै महत्वपूर्ण व्यापारिक साझेदार, लगानीकर्ता र विकास साझेदारको रूपमा उभिएको छ।

पछिल्ला वर्षहरुमा विश्वका विभिन्न भागमा देखिएका राजनीतिक तनावहरुको अन्त्य गर्दै मानव मात्रको साझा भाग्य र सुखमय जीवन निर्माणका लागि नेपाल र चीनबीचको साझेदारी र सहकार्य अझ घनिभूत हुनुपर्छ भन्ने हाम्रो मान्यता हो। 

माओत्सेतुङको नेतृत्वमा सन् १९४९ मा चिनियाँ जनवादी क्रान्ति सम्पन्न भयो। चिनियाँ क्रान्ति र जनवादी गणतन्त्र चीनको स्थापना २०औँ शताब्दीको सबैभन्दा ठूलो राजनीतिक र महत्वपूर्ण परिघटनामध्ये एक थियो। त्यो परिघटना विश्वभरका क्रान्तिकारी र प्रगतिशील मानिसहरूका लागि प्रेरणाको स्रोत थियो। क्रान्तिको सफलतापछि माओले भनेझै चीन वास्तवमै एक गौरवशाली राष्ट्रका रूपमा विश्व समुदायको बीचमा दृढतापूर्वक उभिएको छ। त्यसबेलादेखि चीन आधुनिक र समृद्ध देशतर्फ अगाडि बढ्दै अर्थतन्त्र, प्रविधि लगायत विभिन्न क्षेत्रमा उल्लेखनीय प्रगति हासिल गरेको छ। चीनले निरपेक्ष गरिबीलाई उन्मूलन गर्न सफल भएको छ। यसका पछाडि मुख्यतया माओत्सेतुङ, देङ सियाओपिङ र चीनका वर्तमान राष्ट्रपति महामहिम सि जिनपिङजस्ता महान नेताहरूको दूरदर्शी नेतृत्व र चिनियाँ जनताको कडा परिश्रमको कारण नै हो। अहिले राष्ट्रपति सिले चीनको इतिहासमा नयाँ र उल्लेखनीय आयाम थप्न सफल भएको देखिन्छ।

राष्ट्रपति सिले चीनलाई आधुनिक र समृद्ध राष्ट्रमा रूपान्तरण गर्ने र शान्तिपूर्ण एवम् समृद्ध विश्व सिर्जना गर्नका लागि योगदान पुर्‍याउने उद्देश्यले बेल्ट एण्ड रोड इनिसिएटिभको अवधारणा लिएर आएको कुरा सर्वविदितै छ। बिआरआई चीनले दक्षिणी विश्वका देशहरूको साझा लाभका लागि सुरू गरेको एक महत्वपूर्ण परियोजना हो। सन् २०१७ मा नेपाल र चीन सरकारबीच बीआरआई समझदारी पत्रमा हस्ताक्षर भएपछि हामीबीचको सम्बन्ध अझ नयाँ उचाईमा पुगेको छ। बीआरआई सम्झौतामा हस्ताक्षर गरेपछि नेपाललाई अन्तर्राष्ट्रिय पूर्वाधार विकासको सञ्जालमा समावेश गराउने बाटो पनि खुलेको छ। सम्झौता अनुसार, नेपालले चीनसँग सहकार्य गरी सडक, रेल, ऊर्जा, सूचना प्रविधि, कृषि, पर्यटन र वित्तीय क्षेत्रमा परियोजनाहरू अघि बढाउने अवसर पनि प्राप्त भएको छ। विश्वको दोस्रो ठूलो अर्थतन्त्र बन्न सफल भएको उत्तरी छिमेकी चीनले गरिवी निवारणमा प्राप्त गरेको सफलता र अनुभव नेपाल लगायतका अन्य धेरै देशहरुका लागि पनि महत्वपूर्ण छ। त्यसैगरी कृषि, औद्योगिकीकरण र अन्तरीक्ष विज्ञानमा चीनले प्राप्त गरेका सफलताहरु पनि मानव समुदायकै लागि उदाहरणीय छन्। 

यो महत्वपूर्ण अवसरमा म, चीनका महामहिम राष्ट्रपति सी चिनफिङको कुशल नेतृत्वमा चीनले प्राप्त गरिरहेका विश्वव्यापी सफलता र मानवीय हितका लागि भैरहेका प्रयासहरुको हृदयदेखि नै प्रशंसा गर्दछु। साथै चिनियाँ जनताको निरन्तर प्रगतिका लागि शुभकामना समेत व्यक्त गर्दछु। 

चीनको विदेश नीति शान्तिपूर्ण विकास (Peaceful Development) र शान्तिपूर्ण उदय (Peaceful Rise) का सिद्धान्तमा आधारित छ। जसका माध्यमबाट चीनले आफ्नो समृद्धि कायम राख्नको लागि बाह्य संसारसँग सहकार्य गर्न चाहन्छ भन्ने स्पष्ट देखिन्छ। यो पृष्ठभूमिमा चीनको वैदेशिक सम्बन्ध र अन्तर्राष्ट्रिय सहयोगमा पञ्चशीलका सिद्धान्तलाई अवलम्बन गर्दै आएको देखिन्छ। एक(अर्काको क्षेत्रीय अखण्डता र सार्वभौमिकताको पारस्परिक सम्मान, एक(अर्काको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने, पारस्परिक हितका लागि समानता, सहयोग र शान्तिपूर्ण सह(अस्तित्व पञ्चशीलका मुख्य आधार हुन्। यी असंलग्न परराष्ट्र नीतिका मुख्य आधार पनि हुन्, जुन नेपालको परराष्ट्र नीतिका आधारभूत सिद्धान्तहरू हुन्। 

यसरी नेपाल र चीनको धेरै अन्तर्राष्ट्रिय मुद्दा र नीतिहरूमा समान दृष्टिकोण रहेको छ। यी मूल्यमान्यता र सिद्धान्तहरूले नेपाल र चीनलाई एकदम नजिक ल्याएको छ र यी सिद्धान्त र नीतिका आधारमा दुवै देशले विभिन्न अन्तर्राष्ट्रिय मञ्चहरूमा सहयोग र समन्वयात्मक रूपमा काम गरिरहेका छन्। त्यसकारण अन्तर्राष्ट्रिय मामिलामा नेपाल र चीनको दृष्टिकोण लगभग समान छ। जसले अन्तर्राष्ट्रिय मञ्चमा नेपाल र चीन दुवैको साझा दृष्टिकोणलाई प्रतिबिम्बित गर्दछ र दुवै देशलाई अन्तर्राष्ट्रिय मञ्चमा मिलेर काम गर्न साझा आधार प्रदान गर्दछ।

२१ औं शताब्दीलाई एसियाली शताब्दी भनिन्छ। २१ औं शताब्दी एसियाको हुनेछ भन्ने भनाइ कल्पना मात्र नभई यथार्थमा आधारित छ। यो चीन, भारत र अन्य एसियाली शक्तिहरूको उदयको कारणले भएको हो। चीनले एसियाका अन्य देशहरू बीचको बृहत्तर र अर्थपूर्ण सहयोगमार्फत् यसलाई वास्तविकतामा परिणत गर्न कटिबद्ध छ भन्ने मेरो बुझाइ रहेको छ। चिनियाँ सपना र यसको अन्तर्राष्ट्रिय कूटनीतिले विश्वमा खासगरी छिमेकीहरूलाई बढी फाइदा पुर्‍याउने देखिन्छ। किनकि चिनियाँ दृष्टिकोण पूर्वीय मूल्य र मान्यतामा आधारित शान्तिपूर्ण र समृद्ध संसारको लागि हो भन्ने प्रष्ट बुझ्न सकिन्छ।  

चीन नेपालको विकास र स्थिरताको साँचो साझेदार रहदै आएको छ। चीनले नेपाललाई विकास सहयोग मात्र प्रदान गरेको छैन, नेपालको सार्वभौमसत्ता, स्वतन्त्रता र स्थिरताप्रति पनि गम्भीर रहदै आएको कुराप्रति नेपाली जनता प्रष्ट छन्। त्यसैले चीन एक सच्चा मित्र र महत्त्वपूर्ण विकास साझेदार हो भन्नेमा कुनै द्विविधा छैन। चिनियाँ नेताहरूले नेपालको स्थिरता, सार्वभौमसत्ता र विकासलाई समर्थन गर्ने चिनियाँ तत्परता बारम्बार स्पष्ट रूपमा व्यक्त गरेको पाइन्छ। जसप्रति नेपाल र नेपालीहरू सधैं विश्वस्त र आभारी छन्।

नेपाल पनि चीनको सच्चा मित्र रहँदै आएको छ। एक चीन नीतिलाई निरन्तर समर्थन गर्दै आएको छ। नेपालले चीनको संवेदनशीलता बुझेको छ र आफ्नो भूमि चीन विरूद्ध प्रयोग हुन नदिने प्रतिबद्धतालाई निरन्तर दोहोर्‍याउँदै व्यवहारमा पनि लागु गरेको छ।

नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना र नयाँ संविधान निर्माण भएपश्चात् दुई देशबीच उच्च तहका भ्रमण, पारस्परिक सहयोग र सहकार्य तीव्र रुपमा वृद्धि भएको छ। दुवै देशबाट राष्ट्रपतिकै तहबाट औपचारिक भ्रमण हुनु, सरकार प्रमुख, शीर्ष नेता र राजनीतिक तहका भ्रमणको आदान प्रदानले दुई देशका सरकार(सरकारबीच बलियो सम्बन्ध विस्तार गर्न मद्दत पुर्‍याएको छ भने विभिन्न मैत्री संस्था, व्यापारिक प्रतिष्ठान र सांस्कृतिक केन्द्रहरुको माध्यमबाट जनस्तरमा पनि सम्बन्ध झाङ्गिदै गएको मैले महसुस गरेको छु।संघीय संसद नेपाल र चिनियाँ जनकंग्रेसबीचको सहकार्य र आपसी भ्रमणमा देखिएको कमीलाई पूरा गर्न म विशेष ध्यान दिन पनि आग्रह गर्दछु। 

यसै प्रसङ्गमा हामी नेपालीले गर्व गर्नुपर्ने एउटा महत्त्वपूर्ण विषय म यहाँ स्मरण गराउन चाहन्छु। नेपालमा संविधान सभाबाट जननिर्वाचित प्रतिनिधिहरूले समानुपातिक, समावेशी, धर्मनिरपेक्षतासहितको समाजवादउन्मुख संघीय लोकतान्त्रिक गणतान्त्रिक संविधान बनाउन सफल भएका छौँ। यसै क्रममा अघिल्लो वर्ष मात्रै संघीय संसदका दुवै सदनबाट नेपालको शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्न सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता व्यक्तिहरूको छानविन आयोगसम्बन्धी कानून सर्वसम्मत रुपमा पारित भएको छ। विश्वभरिबाट नै नेपालको शान्ति प्रक्रिया मौलिक ढंगबाट टुङ्ग्याउन सफल भएकोमा प्रशंसा भइरहेको छ। अब समाजवादको बाटोमा अगाडि बढ्न आर्थिक रूपले समृद्ध नेपाल निर्माण गर्ने र राजनीतिक स्थायित्व कायम गर्ने बाहेक अरू विकल्प छैन। यसमा चीन सरकारबाट विगतमा झै अझै सहयोग र समर्थन हुनेछ भन्ने मैले विश्वास लिएको छु।

गत भाद्र २३ र २४ गते अर्थात् सेप्टेम्बर ८ र ९ मा भएको जेनजी आन्दोलनले नेपाली समाजमा केही प्रश्न उठाएको छ।मुख्यतः भ्रष्टाचारको अन्त गरि सामाजिक न्यायसहितको सुशासन कायम गर्ने भन्ने प्रश्न हो। तर पनि त्यस आन्दोलनबाट नेपालका मुख्य मुख्य राष्ट्रिय सम्पदा र गैरसरकारी संरचनामा भएको बर्बर आक्रमण र क्षतिले सिङ्गो देश स्तब्ध भएको छ। यसै क्रममा प्रतिनिधि सभाको विघटनसँगै बनेको अन्तरिम सरकारले आगामी फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचन गर्ने निर्णय गरेको छ। बिना धाँधली भयरहित वातावरणमा निर्वाचन गराउने मुख्य दायित्व सरकारको हो। त्यसमा सम्पूर्ण नेपाली जनता र विदेशी मित्रराष्ट्रले निर्वाचन सफलतापूर्वक सम्पन्न गर्न आ-आफ्नो ठाउँबाट सहयोग गर्न अपिल पनि गर्दछु।

अन्तमा, आजको यस भव्य समारोहमा मलाई प्रमुख अतिथिका रुपमा निमन्त्रणा गर्नुभएकोमा रे मिडिया ग्रुप र रे टेलिभिजन परिवारलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछु। रे टेलिभिजनले स्थापनाकालदेखि नै प्रेस स्वतन्त्रता, मानवअधिकारको संरक्षण, कृषि, पर्यटन, स्वास्थ्य, भाषा तथा लोक संस्कृतिको संरक्षण र सम्वर्धन गर्ने विषयलाई उच्च प्राथमिकतामा राखेर कार्यक्रम तथा समाचार उत्पादन एवम् प्रसारण गरिरहेको मैले पाएको छु। त्यसैगरी समय समयमा राष्ट्रिय स्तरका विभिन्न कार्यक्रमहरुको आयोजना गरेर नेपाल र चीनबीचको सम्बन्धलाई जनस्तरसम्म पुर्‍याउन पनि महत्वपूर्ण भूमिका निर्वाह गरेको छ। आज आयोजना भएको यो कार्यक्रमलाई पनि मैले त्यसकै निरन्तरतामा हेरेको छु। जनस्तरमा आयोजना हुने यस किसिमका कार्यक्रमहरुले नेपाल र चीनबीचको मैत्रीपूर्ण सम्बन्धलाई अझ प्रगाढ र हराभरा बनाउने छ भन्ने विश्वास मैले लिएको छु। 

फेरि पनि, नेपाल र चीनबीच दौत्य सम्बन्ध स्थापना भएको ७० औँ वार्षिकोत्सवका अवसरमा सबैलाई हार्दिक शुभकामना व्यक्त गर्दछु। धन्यवाद। नमस्कार। से से।

२०८२ पुस ३, बिहीबार

प्रकाशित मिति: बिहीबार, पुस ३, २०८२  २२:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update