RayNewsDaily
एमाले महाधिवशेनमा मतदान अत्यन्त सुस्त, बुधबार रातिसम्म ११०५ जनाद्वारा मतदान

रे समाचार/काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशनको नयाँ नेतृत्वका लागि भएको मतदान अत्यन्त सुस्त गतिमा अघि बढिरहेको छ ।  बुधबार राति ८  बजेसम्म जम्मा  ११०५ मत मात्र खसेको छ । 

यही गतिमा मतदान जारी रहने हो भने बिहीबार बिहान ८ बजेसम्म मतदान जारी रहने एमालेका नेताहरुले बताएका छन् ।      
     
बिहान ९ः१२ बजेदेखि मतदान सुरू भएको हो । एमाले केन्द्रीय निर्वाचन आयोग उपाध्यक्ष सानुराज पोखरेलले मतदानमा मतदाताले ढिलोमा दुई घण्टा पाँच मिनेट र छिटोमा नौ मिनेटससम्म समय लगाएर मतदान गर्नु भएको बताउनुभयो । उहाँका अनुसार मतदान गर्नका लागि सरदर एक जना मतदातालाई २५ देखि ३० मिनेट लाग्ने गरेको छ ।     
     
उहाँले साँझ ८ः०० बजेभित्र मतदान केन्द्रमा प्रवेश गरेका प्रतिनिधिलाई राति अबेरसम्म मतदान गर्न पाउने व्यवस्था गरिने बताउनुभयो । अहिले लाइनमा रहेका मतदातालाई सहजताका लागि टोकन वितरण गरिएको छ ।     
     
एमालेमा नयाँ नेतृत्वका लागि वर्तमान अध्यक्ष केपी शर्मा ओली र वर्तमान वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको समूह प्रतिस्पर्धामा हुनुहुन्छ । एमालेमा ३०१ केन्द्रीय सदस्यीय लागि करिव ६४२ जनाको उम्मेदवारी परेको छ । मतदानमा ८० वटा विद्युतीय भोटिङ् मेसिन प्रयोगमा ल्याइएको छ ।     
     
आयोगका उपाध्यक्ष पोखरेलका अनुसार मतदान सकिएको दुई घण्टामा परिमाण सार्वजनिक हुनेछ । महाधिवेशनमा दुई हजार २६३ मतदाता सहभागी छन् ।

प्रकाशित मिति: बुधबार, पुस २, २०८२  २०:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update