RayNewsDaily
एमाले महाधिवेशनको तयारी शुरू  

भक्तपुर । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को यही मङ्सिर २७ गतेदेखि सुरु हुने ११औँ राष्ट्रिय महाधिवेशनको तयारी सुरु गरेको छ ।     
     
महाधिवेशनको उद्घाटनस्थल भक्तपुरको सल्लाघारीस्थित नेपाल ट्रष्टको १०८ रोपनीको चौरमा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीसहितको टोलीले आज निरीक्षण गरेको छ ।     
     
उपमहासचिव ज्ञवाली, एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमलगायतका नेताहरुले कार्यक्रमस्थलको अनुगमन गरेका हुन् । उपमहासचिव ज्ञवालीले उद्घाटनस्थलमा करिब दुई लाख अट्न सक्ने क्षमता रहेको बताउँदै उक्त चौर भरिभराउ हुने बताउनुभयो । उहाँले महाधिवेशनका सबै तयारीहरू उत्साहजनक रूपमा अगाडि बढिरहेको जानकारी दिनुभयो ।     
     
महाधिवेशनमा करिब दुई हजार ५०० बढी प्रतिनिधि सहभागी हुने छन् । उद्घाटन सत्रमा देशभरबाट एक लाख ५० हजार बढी कार्यकर्ता सहभागी हुने अनुमान गरिएको छ ।     
     
प्रचार विभाग प्रमुख गौतमले मञ्चलगायतका संरचनाहरु कसरी बनाउने भन्ने तयारी स्वरुप आजको निरीक्षण गरिएको बताउनुभयो । उहाँले मञ्च निर्माणदेखि नै करिब ६०० स्वयंसेवक पोसाकमा खटिने जनाइएको छ । पार्टी जिल्लाका उपाध्यक्ष किरण थापाले आजबाटै डोजर लगाएर कार्यक्रमस्थल तयारी सुरु गरेको जानकारी दिनुभयो । रासस

प्रकाशित मिति: बिहीबार, मंसिर १८, २०८२  १६:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update