RayNewsDaily
मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवद्वारा राजिनामा 

रे समाचार/काठमाडौं । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले पदबाट राजीनामा दिनु भएको छ । आज दिउँसो बसेको प्रदेश सभा बैठकमा आफ्नो धारणा राख्दै मुख्यमन्त्री यादवले राजीनामा दिनु भएको हो । २४ घन्टाभित्र विश्वासको मत लिन सर्वोच्चले दिएको परमादेशपछि मुख्यमन्त्री यादवले आज विश्वासको मत लिने बताउनु भएको थियो । तर, विश्वासको मत पाउने अवस्था नदेखेपछि मुख्यमन्त्री यादवले पदबााट राजीनामा दिनु भएको हो । 

कात्तिक २३ को मितिमा मुख्यमन्त्री नियुक्त हुनु भएका एमाले मधेस प्रदेश संसदीय दलका नेता समेत रहनु भएका यादवले कात्तिक २४ को बिहान महोत्तरीको बर्दिबासस्थित एक होटलमा शपथ लिनु भएको थियो । तत्कालीन प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीबाट मुख्यमन्त्री नियुक्त भएको पत्र पाएर उहाँले शपथ लिनु भएको थियो । यादवलाई प्रदेश प्रमुख भण्डारीले संविधानको धारा १६८ को ३ अनुसार मुख्यमन्त्री नियुक्त गरेपछि ७ दलका सांसदहरू सर्वोच्च अदालत गएका थिए । सो बमोजिम सोमबार सर्वोच्च अदालतले २४ घन्टाभित्र विश्वासको मत लिन परमादेश दिएको हो । सोही अनुसार आज बिहान प्रदेशसभा बैठक बोलाइएको थियो । तर, बैठकमा सरकारका प्रतिनिधि उपस्थित नभएपछि बैठक दिउँसो २ बजेसम्मका लागि स्थगित भएको थियो । 

त्यसपछि सुरु भएको बैठकमा उपसभामुख बबिताकुमारी राउत इशरले सदनलाई सम्बोधन सहित विश्वासको मत प्राप्त गर्ने प्रस्ताव पेस गर्न मुख्यमन्त्री यादवलाई समय दिनु भएको थियो । त्यसक्रममा बोल्दै मुख्यमन्त्री यादवले संघीयतामा दलहरूको आचरण जनताले पचाउने खालको हुनुपर्ने भन्दै कांग्रेस सहितका विपक्षी दलहरूप्रति रोष प्रकट गर्दै राजिनामा घोषणा गर्नुभएको हो । १०७ सदस्यीय प्रदेशसभामा सरकारलाई टिकाइ राख्न बहुमतका लागि ५४ मत आवश्यक पर्छ । सबैभन्दा ठूलो दल एमालेसँग सभामुखसहित जम्मा २५ सांसद मात्रै छन् । जसमा एक सांसद निलम्बित छन् । 
 

प्रकाशित मिति: बुधबार, मंसिर १७, २०८२  १५:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update