रे समाचार/काठमाण्डू । नेपाल प्रहरीका प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) र दुईजना प्रहरी नायब महानिरीक्षक (डिआईजी)लाई दर्ज्यानी चिह्न प्रदान गरिएको छ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले प्रहरी प्रधान कार्यालयमा आयोजित एक समारोहबीच तीनजना अधिकृतलाई आज दर्ज्यानी चिह्न प्रदान गर्नुभएको हो ।
दर्ज्यानी चिह्नद्वारा सुशोभित हुनेमा एआईजी ईश्वर कार्की, डिआइजी विश्व अधिकारी र प्राविधिक डिआईजी इञ्जीनीयर रामकुमार चौधरी रहनुभएको छ । सो अवसरमा प्रहरी महानिरीक्षक कार्कीले ज्येष्ठता, कार्यकुशलता, विधि एवम् पद्धतिका साथै व्यावसायिक निष्ठाका साथ निर्वाह गरेको जिम्मेवारीको मूल्याङ्कनको आधारमा पदोन्नति भएको बताउनुभयो ।
उहाँले पदोन्नति भएका प्रहरी अधिकृतको नेतृत्वदायी भूमिका र नेतृत्व क्षमताबाट प्रहरी सेवामा प्रभावकारी योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो । प्रहरी महानिरीक्षक कार्कीले मुलुक संवेदनशील अवस्थामा रहेकाले यस्तो अवस्थामा प्रहरी जनताको सेवामा समर्पित हुन आवश्यक रहेको उल्लेख गर्नुभयो । निःस्वार्थ सेवाभाव, शिष्ट व्यवहार, उत्कृष्ट आचरणलाई आत्मसाथ गरी नागरिकको अपेक्षा अनुरूप प्रहरी सेवा प्रवाह गर्न प्रहरी कर्मचारी थप क्रियाशील हुनुपर्ने उहाँको भनाइ थियो । उहाँले प्रहरी प्रतिको नागरिक विश्वास अभिवृद्धि गर्न व्यावसायिक कार्यसम्पादनमा जोड दिई सेवा प्रवाहलाई थप चुस्त बनाउनसमेत निर्देशन दिनुभयो ।
कार्यक्रममा बढुवा हुनुभएका प्रहरी अधिकृतलाई उहाँले बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो । कार्यक्रममा बढुवा हुनुभएका एआईजी ईश्वर कार्कीले पदोन्नतिसँगै प्राप्त जिम्मेवारीलाई पूर्ण व्यावसायिक निष्ठा र इमानदारीपूर्वक कार्यसम्पादन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । दर्ज्यानी चिह्न सुशोभन समारोहमा प्रहरी अतिरिक्त महानिरीक्षक, प्रहरी नायब महानिरीक्षकलगायत वरिष्ठ प्रहरी अधिकृतको उपस्थिति रहेको थियो ।
नेपाल सरकार मन्त्रिपरिषद्को २०८२ मंसिर ८ गतेको निर्णयअनुसार प्रहरी नायव महानिरीक्षकबाट प्रहरी अतिरिक्त महानिरीक्षक पदमा १ जना, नेपाल सरकार गृहमन्त्रीस्तरको २०८२ मंसिर ८ गतेको निर्णयअनुसार प्रहरी वरिष्ठ उपरीक्षकबाट प्रहरी नायव महानिरीक्षक पदमा १ जना र प्राविधिक प्रहरी वरिष्ठ उपरीक्षकबाट प्राविधिक प्रहरी नायव महानिरीक्षक पदमा १ जना गरी जम्मा ३ जना प्रहरी अधिकृतहरू पदोन्नति हुनुभएको थियो ।
