RayNewsDaily
प्रतिनिधिसभा निर्वाचन : तनहुँमा आठ हजार ३६६ मतदाता थपिए   

दमौली (तनहुँ) । जिल्लामा आठ हजारभन्दा बढी नयाँ मतदाता थपिएका छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मतदाता दर्ता अभियान सञ्चालन गरिएकामा जिल्लामा आठ हजार ३६६ मतदाता थपिएका हुन् ।    
    
गत असोज ९ देखि मङ्सिर ५ गतेसम्म मतदाता दर्ता गर्न सकिने व्यवस्था रहेकामा कार्यालयमा पुगेर र राष्ट्रिय परिचयपत्रमार्फत मतदाता नामावली दर्ता भएको जिल्ला निर्वाचन अधिकारी विकास लम्सालले जानकारी दिनुभयो ।    
    
लम्सालका अनुसार कार्यालयमै पुगेर तीन हजार २०० जनाले नाम दर्ता गराएका छन् । त्यसमध्ये महिलाको सङ्ख्या एक हजार ३८२ र पुरुषको सङ्ख्या एक हजार ८१८ रहेको छ । यस्तै राष्ट्रिय परिचयपत्रमार्फत पाँच हजार १६६ जनाले नाम दर्ता गराएका छन् ।    
    
राष्ट्रिय परिचयपत्र बनाएकाले सिधै अनलाइनमार्फत नाम दर्ता सक्ने व्यवस्था गरिएपछि मतदातालाई सहज भएको छ । कार्यालयमा पुगेरभन्दा धेरै मतदाताले राष्ट्रिय परिचयपत्रमार्फत नाम दर्ता गराएको कार्यालयले जनाएको छ ।    
    
यसैगरी नौ सय छ जनाले ठाउँसारी र दुई सय ९७ जनाले त्रुटि सच्याउनका लागि कार्यालयमा निवेदन दिएको लम्सालले बताउनुभयो । विसं २०८२ असोज ८ गतेसम्म जिल्लामा दुई लाख ४७ हजार चार जना मतदाता छन् । त्यसमध्ये एक लाख १९ हजार ८९ पुरुष र एक लाख २७ हजार ९१५ महिला रहेको कार्यालयले जनाएको छ ।    
    
तनहुँमा दुईवटा मतदान केन्द्र थप्नका लागि निर्वाचन आयोगमा सिफारिस गरिसकिएको छ । प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा रहेको जिल्ला मतदानस्थल तथा मतदान केन्द्र सिफारिस समितिको बैठकले ऋषिङ गाउँपालिका–४ स्थित पद्मज्योति आधारभूत विद्यालय र ऋषिङ गाउँपालिका–६ स्थित धर्म आधारभूत विद्यालयमा मतदान केन्द्र थप्न आयोगमा सिफारिस गरेको छ ।    
    
प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीले ऋषिङ गाउँपालिका–४ र ६ मा यसअघि एक–एक मतदान केन्द्र रहेकामा थप एक–एक मतदान केन्द्र थप्न आवश्यक रहेकाले सोहीबमोजिम आयोगमा पठाइएको जानकारी दिनुभयो । जिल्लाका दुईवटा प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्रमा तीन सय पाँच मतदान केन्द्र छन् । रासस   
 

प्रकाशित मिति: आइतबार, मंसिर ७, २०८२  ०९:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update