रे समाचार/काठमाण्डू ।
जेनजी युवाहरूको प्रदर्शन र राजनीतिक दलसँग आवद्ध समूहबीच झडप बढ्दै गएपछि बाराको जीतपुर सिमरा उपमहानगरपालिका क्षेत्रमा जिल्ला प्रशासन कार्यालय बाराले कर्फ्यू आदेश जारी गरेको छ ।
सिमरा विमानस्थल आसपासका क्षेत्रमा जेनजी युवाहरूको प्रदर्शन र राजनीतिक दलसँग आवद्ध समूहबीच झडप बढ्दै गएपछि सुरक्षा जोखिम रोक्न आज दिउँसो १२ः३० बजेदेखि कर्फ्यू आदेश जारी गरिएको हो ।
जिल्ला प्रशासन कार्यालय बाराका अनुसार स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(क) र ६(ख) बमोजिम आज २०८२–०८–०३ गते दिउँसो १२ः३० बजेदेखि बेलुका ८ः०० बजेसम्म कर्फ्यू लागू हुनेछ । कर्फ्यू अवधिभर तोकिएका क्षेत्रमा आवत–जावत, भेला, जुलुस, प्रदर्शन, सभा, बैठक, घेराउ लगायत कुनै पनि गतिविधि पूर्णरूपमा निषेध गरिएको छ ।
बाराको परवानीपुरमा आयोजित नेकपा एमाले निकट युवा संघको कार्यक्रममा सहभागी हुन नेकपा एमालेका महासचिव शंकर पोखरेल, नेता महेश बस्नेतसहितको टोली काठमाण्डूबाट जहाजमा सिमरा जान लाग्नु भएको थियो । तर नेताहरु बारा नपुग्दै सिमरा बजारमा नेकपा एमालेका कार्यकर्ताहरुसँग जेनजी युवाहरुको झडप भएको हो । झडपका कारण सो क्षेत्रको शान्ति र सुव्यवस्थामा असर पर्ने भएपछि कर्फ्यू आदेश जारी गरिएको हो ।

