रमेश हतुवाली/काठमाण्डू । नेपाल र चीनका उच्च पदस्थ साहित्यकारहरुबीच साहित्य सम्वाद सम्पन्न भएको छ । नेपाल प्रज्ञा प्रतिष्ठान र देवकोटा लु सुन प्रज्ञा प्रतिष्ठानको संयुक्त आयोजनामा आज काठमाण्डू कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा चाइना एकेडेमी अफ सोसियल साइन्सेस, इन्ट्रिच्यूट फर लिटरेचरका पदाधिकारीहरुको सम्मानमा सो सम्वादको आयोजना गरिएको हो ।
राओ वाङचिङ, उपमहानिर्देशक, चाइना एकेडेमी अफ सोसियल साइन्सेस, इन्ट्रिच्यूट फर लिटरेचर
साहित्य सम्वादमा बोल्नुहुँदै चाइना एकेडेमी अफ सोसियल साइन्सेस, इन्ट्रिच्यूट फर लिटरेचरका उपमहानिर्देशक राओ वाङचिङले बौद्ध धर्म ग्रन्थहरुको रुपान्तरण मार्फत सुरु भएको चीन र नेपालबीचको साहित्यीक आदान प्रदान पछिल्ला वर्षहरुमा विकसित र प्रगाढ हुँदै गएको बताउनु भयो । दुई देशबीच कुटनीतिक सम्बन्ध स्थापनाको ७० वर्षको ऐतिहासिक महत्व रहेको जानकारी दिनुहुँदै उपनिर्देशक वाङचिङले बीआरआई मार्फत नीतिगत रुपमै चीन र नेपालबीच अझ गहन साहित्यीक आदान प्रदान हुने विश्वास व्यक्त गर्नुभयो ।
वाङ सिन, डि.सि.एम, चिनियाँ राजदूतावास, काठमाण्डू
नेपालस्थित चिनियाँ राजदूतावासका डि.सि.एम.वाङ सिनले चीन र नेपालबीच सताब्दियौ पहिलेदेखि साहित्यीक तथा साँस्कृतिक आदान प्रदान कायम रहेको बताउनु भयो । चीनका वरिष्ठ लेखक तथा साहित्यकार लु सुन र महाकवि लक्ष्मी प्रसाद देवकोटा साहित्यीक क्षेत्रका मुर्धन्य व्यक्तित्व भएको बताउनु हुँदै डि.सि.एम.वाङ सिनले दुवै देशबीचको साहित्यीक अदान प्रदानलाई जनस्तरमा पनि उच्च महत्व प्रदान गरिएको विचार व्यक्त गर्नुभयो ।
भूपाल राई, कुलपति, नेपाल प्रज्ञा प्रतिष्ठान
नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भुपाल राईले नेपाल र चीनका साहित्यकारहरुबीच वर्षौदेखि सहयोगका विविध क्षेत्रमा आदान प्रदान हुँदै आएको जानकारी दिनुभयो । कुलपति राईले साँस्कृतिक कुटनीति र साहित्यीक कुटनीतिलाई जोड्न अनुवादले महत्वपूर्ण भूमिका निर्वाह गरेको पनि बताउनु भयो ।
सुनिल कुमार पौड्याल, अध्यक्ष, देवकोटा लु सुन प्रज्ञा प्रतिष्ठान
कार्यक्रम आयोजक संस्था देवकोटा लु सुन प्रज्ञा प्रतिष्ठानका अध्यक्ष सुनिल कुमार पौड्यालले नेपाल र चीनका साहित्यीक संस्थाहरुबीच युगौदेखि प्रगाढ मैत्री रहेको जानकारी दिनुहुँदै पछिल्ला वर्षहरुमा यो सम्बन्ध अझ विकसित हुँदै गएको बताउनु भयो । अध्यक्ष पौड्यालले बीआरआई परियोजनामार्फत यत्तिवेला दुवै देशका १३/१३ वटा महत्पूर्ण साहित्यीक कृतिहरुलाई चिनियाँ र नेपाली भाषामा अनुवाद गर्ने काम भैरहेको जानकारी पनि दिनुभयो ।
सो कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति विमल निभा, सदस्य सचिव डा. धन प्रसाद सुवेदीका साथै चीनबाट आउनु भएका विशिष्ट साहित्यकारहरुले नेपाल र चीन बीचको साहित्यीक सम्बन्धका बारेमा चर्चा गर्नुभएको थियो ।
समारोहमा डा. सृजना शर्मा उप्रेती, कृष्ण प्रसाई, प्राज्ञ बाबा बस्नेतले कविता समेत वाचन गर्नुभएको थियो ।

