RayNewsDaily
जेनजी आन्दोलनको भावनाअनुरुप सेवा प्रवाह गर्न प्रधानमन्त्रीको निर्देशन        
प्रधानमन्त्री सुशीला कार्की बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र अन्तर्गतका निकायहरूको आर्थिक वर्ष २०८२/८३ मा सञ्‍चालित कार्यक्रमहरूको प्रथम त्रैमासिक अवधिको प्रगति समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकलाई सम्बोधन गर्नुहुँदै । तस्बिर सौजन्यः प्रधानमन्त्रीको सचिवालय/रासस

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले जेनजी आन्दोलनको भावना र मर्मअनुसार जनआकाङ्क्षाअनुरूप सेवाप्रवाह गर्न निर्देशन दिनुभएको छ ।     
     
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र अन्तर्गतका निकायको चालु आवमा सञ्चालित कार्यक्रमको प्रथम त्रैमासिक प्रगति समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा प्रधानमन्त्री कार्कीले उच्च मनोवलका साथ निर्धारित लक्ष्य हासिल गर्नेगरी कार्यसम्पादन गर्न निर्देशन दिनुभएको हो ।     
     
उहाँले जेन्जी आन्दोलनका क्रममा भएका तोडफोड र आगजनीबाट मन्त्रिपरिषद्को कार्यालयको क्षतिसहित अन्य भौतिक सम्पत्तिलगायत सम्पूर्ण क्षतिको विवरण यथासक्य छिटो अद्यावधिक गर्न सम्बद्ध अधिकारीलाई निर्देशन दिनुभयो । यसैगरी अन्य निकायमा भएका क्षतिको एकीकृत विवरणको प्रतिवेदन तयार गर्न उहाँले निर्देशन दिनुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।     
     
प्रधानमन्त्री कार्कीले विद्युतीय खरिद प्रणाली सार्वजनिक निकायको खरिद प्रक्रियासँग जोडिएको संवदेनशील विषय भएकाले त्यसको स्तरोन्नतिका लागि आवश्यक पर्ने उपकरण खरिदको काम निर्धारित समयमै पूरा गरिसक्नुपर्ने बताउनुभयो । उहाँले ‘ग्रे लिष्ट’बाट नेपाललाई बाहिर निकाल्न नियमनकारी, अनुसन्धानकारी तथा अन्य सम्बद्ध निकायबाट सम्पादन भएका काम कारबाहीको मन्त्रिपरिषद्को कार्यालयले आवश्यक सहजीकरण, समन्वय एवम् अनुगमन गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।     
     
“सुशासनयुक्त र भ्रष्टाचारमुक्त राष्ट्र निर्माणप्रति वर्तमान सरकार प्रतिबद्ध रहेको छ, सार्वजनिक निकायबाट सम्पादन भएका काम कारवाही निष्पक्ष, स्वच्छ, सहज र सेवाग्राहीमैत्री भए-नभएको शुक्ष्म निगरानी तथा अनुगमन गर्न राष्ट्रिय सतर्कता केन्द्रले थप पहल गर्नुपर्छ”, प्रधानमन्त्री कार्कीले भन्नुभयो । रासस

प्रकाशित मिति: बिहीबार, कात्तिक २७, २०८२  १६:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update