RayNewsDaily
शेयर बजारमा हरियाली

काठमाडौं । गत हप्तादेखि लगातार बढिरहेको शेयर बजारमा आज पनि हरियाली छाएको छ । आज शेयर बजार मापक नेप्से परिसूचक ५१.३१ अंकले  बढेर १९४२.६३ विन्दुमा पुगेको छ । यो वृद्धिदर  २०८० साल सुरु भएयताकै उच्च विन्दु हो । यसअघि २०७९, चैत २९ गते नेप्से परिसूचक १९६३.५५ विन्दुमा रहेको थियो । सोपश्चात पहिलो पटक नेप्से यस उचाईमा पुगेको हो ।

नेप्से बढेसँगै आज कारोबार रकम पनि बढेको छ । २७१ स्टकको ३८ हजार ७९६ पटकको कारोबारमा २ अर्ब २० करोड रुपैयाँ बराबरको ६० लाख ६७ हजार कित्ता शेयर खरिदबिक्री भएको छ । आजको कारोबार रकम पनि ३ महिनायताकै उच्च हो । यसअघि गत फागुन १४ गते साढे २ अर्ब रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो । आज ४ स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । कालिका लघुवित्त वित्तीय संस्था, खप्तड लघुवित्त वित्तीय संस्था, आत्मनिर्भर लघुवित्त वित्तीय संस्था र सामुदायिक लघुवित्त वित्तीय संस्थाको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ ।

कारोबार रकमका आधारमा आज शिवम् सिमेन्ट्स शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको १० करोडभन्दा बढीको शेयर कारोबार भएको छ । त्यस्तै, नेपाल टेलिकमको करिब ९ करोडको शेयर खरिदबिक्री भएको छ भने एनआईसी एशिया बैंक र हिमालयन एभरेष्ट इन्स्योरेन्सको ७ करोडभन्दा बढीको शेयर किनबेच भएको छ ।

आज १३ वटै उपसमूहको परिसूचक बढेको छ । जसमध्ये उत्पादन तथा प्रशोधन र लघुवित्त उपसमूहको परिसूचक ४ प्रतिशतभन्दा बढी बढेको छ । त्यसैगरी, वित्त, होटल तथा पर्यटन, जीवन बीमा, निर्जीवन बीमा र व्यापार उपसमूहको परिसूचक ३ प्रतिशतभन्दा बढीले बढेको छ भने विकास बैंक, जलविद्युत, लगानी र अन्य उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढीले बढेको छ ।
 

प्रकाशित मिति: मंगलबार, जेठ ९, २०८०  १५:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update