रमेश हतुवाली/काठमाण्डू । चीनले प्राप्त गरेका उपलब्धिहरुबाट नजीकको छिमेकी हुँदा हुँदै पनि नेपालले प्रयाप्त फाईदा लिन नसकेको विज्ञहरुले बताएका छन् । फ्रेन्डस् अफ सिल्क रोड क्लव नेपालले आज काठमाण्डूमा आयोजना गरेको चीनको १५ औं पञ्चवर्षीय योजना र नेपालको विकासका लागि यसको सान्दर्भिकता विषयक अन्तरक्रियामा बोल्नुहुँदै विज्ञहरुले सो विचार व्यक्त गर्नुभएको हो ।
अन्तरक्रियामा बोल्नुहुँदै राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा. मिन बहादुर श्रेष्ठले चीन विश्व अर्थतन्त्रमा महत्वपूर्ण खेलाडीको रुपमा उपस्थित भएको हुनाले पनि नेपालमा चीनको विकास र प्रगतीबाट सकारात्मक प्रभाव पर्ने बताउनु भयो । डा. श्रेष्ठले चीनको बिआरआई परियोजनाबाट नेपालले प्रसस्त फाईदा लिन सक्ने अवस्था हुँदा हुँदै पनि त्यस विषयमा नेपालका शासकहरुले परिपक्व कुटनीति देखाउन नसकेको गुनासो गर्नुभयो ।

डा. मिन बहादुर श्रेष्ठ, पूर्व उपाध्यक्ष, राष्ट्रिय योजना आयोग
अन्तरक्रियामा बोल्नुहुँदै चीनमा अध्ययन गरेर फर्किनु भएका युवा विद्यार्थी गणेश पौडेलले चीनमा उत्पादन भएका सामानहरु विश्व बजारमा पुग्न सफल हुनु, मरुभूमिमा ठूला ठूला सोलार प्लान्ट बनाएर त्यस मार्फत देशलाई हरियाली बनाउनु, टिकटक जस्ता सामाजिक सञ्जालको माध्यमबाट विश्वको ध्यान केन्द्रित गर्नु चीनका महत्वपूर्ण उपलब्धि भएको जानकारी दिनुभयो । पौडेलले चीनमा उद्यम व्यवसाय गर्न चाहने युवाहरुलाई सरकारले विभिन्न सुविधाहरु दिने गरेको जानकारी दिनुहुँदै नेपालमा पनि त्यस्तै सुविधा दिने हो भने युवाहरुलाई आत्मनिर्भर बनाउन सकिने बताउनुभयो ।

गणेश पौडेल, युवा विद्यार्थी
लेखक तथा राजनीतिक विश्लेषक झलक सुवेदीले पछिल्लो समय चीन उच्च गुणस्तरीय प्रविधिको विकासमा केन्द्रित भएको जानकारी दिनुभयो । भारत र चीनले तिब्र गतिमा आर्थिक तथा प्राविधिक क्षेत्रमा विकास गरिरहँदा नेपालले केही पनि गर्न नसक्नु चिन्ताको विषय रहेको सुवेदीको भनाइ छ ।

झलक सुवेदी, लेखक तथा राजनीतिक विश्लेषक
त्रिभूवन विश्व विद्यालय अन्तर्गत अर्थशास्त्र विभागका प्राध्यापक संजय आचार्यले चीन आफ्नो परम्परागत विकासको ढाचालाई परिवर्तन गर्दै आधुनिक ढाचामा रुपान्तरण गर्न लागिरहेको जानकारी दिनुभयो । चीनको पन्धौं पञ्चवर्षिय योजना देश विकाससँगै जनताको जीवनस्तर पनि अघि बढोस भन्ने उद्धेश्यमा केन्द्रित रहेको प्राध्यापक आचार्यले बताउनुभयो ।

संजय आचार्य, प्राध्यापक, अर्थशास्त्र विभाग, त्रि.वि.
कार्यक्रम आयोजक संस्था फ्रेन्डस् अफ सिल्क रोड क्लव नेपालका महासचिव डा. कल्याणराज शर्माले नेपालको आर्थिक विकासका लागि चीन र भारत जस्ता विश्वका उदयीमान आर्थिक शक्तिहरुसँगको सहकार्य नै प्रर्याप्त हुने बताउनुभयो । चीनमा भख्खरै सम्पन्न भएको चिनियाँ कम्युनिष्ट पार्टीको २० औं केन्द्रिय समितिको चौथो पूर्ण बैठक चीनको सामाजिक तथा आर्थिक विकासलाई अझ जोड दिन केन्द्रित भएको शर्माको भनाइ छ ।

डा. कल्याणराज शर्मा, महासचिव, फ्रेन्डस् अफ सिल्क रोड क्लव नेपाल
अन्तरक्रियाका सहभागीहरुले चीनको द्रुततर विकासका बारेमा नेपालमा प्रशस्त चर्चा भए पनि नेपालले चीनबाट लिनु पर्ने जति फाईदा लिन नसकेको बताएका थिए ।
