
काठमाण्डू । नेकपा (एमाले)को १०औं केन्द्रीय कमिटीको तेस्रो दिनको बैठक सुरु भएको छ । उक्त बैठक ललितपुरको जावलाखेलमा प्रारम्भ भएको हो ।
यही असोज २९ र ३० गते बोल्न बाँकी रहेका केन्द्रीय सदस्य र पदाधिकारीले पार्टी अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गर्नुभएको राजनीतिक प्रतिवेदनमाथि आज आ-आफ्नो धारणा राख्नु हुने प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभयो । यस अघि करिब २०० केन्द्रीय सदस्यले आआफ्नो धारणा राख्नुभएको छ ।
आजको बैठकमा पोलिटब्युरो, स्थायी कमिटी र पदाधिकारीहरुले आफ्ना धारणा राख्ने छन् । एमालेमा स्थायी र पदाधिकारीसहित ९९ नेताहरु रहेका छन् । स्थायी र पदाधिकारीलाई पनि पनि तीन मिनेटकै समय उपलब्ध गराइने प्रचार विभाग प्रमुख गौतमले बताउनुभयो । सबैले धारणा राखेपछि अन्त्यमा अध्यक्ष ओलीले प्रतिवेदनमाथिको सुझावको एकमुष्ट जवाफ दिएर बैठक समापन गरिने छ ।
अध्यक्ष ओलीको विशेष प्रस्तावमा केन्द्रीय सदस्यहरुले दिएका सुझाव, वर्तमान राजनीतिक परिस्थिति पार्टीको आगामी बाटो र पार्टीका नेता कार्यकर्ताको भूमिका आदिका बारेमा निर्देशन दिनुहुने छ । यस्तै आजको बैठकमा उपमहासचिव प्रदीप ज्ञवालीले समसामयिक प्रस्ताव पनि प्रस्तुत गर्ने कार्यतालिका रहेको छ । रासस