
काठमाण्डू । प्रधानमन्त्री सुशीला कार्कीले विजया दशमीको अवसरमा जेनजी आन्दोलनका सहिद परिवारसँग भेटघाट गर्नुभएको छ ।
प्रधानमन्त्री कार्कीले काठमाण्डूको बनस्थलीमा पुगेर सहिद सौरन किशोर श्रेष्ठको परिवारसँग भेटघाट गर्नुभएको हो । यसैगरी प्रधानमन्त्रीले नागार्जुन नगरपालिका–३ पुगेर सहिद कान्छी नगरकोटीका परिवार र कीर्तिपुरस्थित मैत्रीनगर पुगेर सहिद बुद्धिबहादुर तामाङको परिवारसँग भेट गर्नुभएको छ ।
प्रधानमन्त्री कार्कीसँगै सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल पनि सहिद परिवारलाई भेटन जानुभएको थियो । मन्त्री खरेलले सहिद परिवारसँग भेट गरिसकेपछि सञ्चारकर्मीसँग सङ्क्षिप्त कुराकानी गर्दै भन्नुभयो, “सम्माननीय प्रधानमन्त्रीज्यूले यसवर्ष विजया दशमीका अवसरमा टीका लगाउनु भएन, मैले पनि टीका लगाइन, जेनजी आन्दोलनका सहिद परिवारसँग आज भेटघाट र कुराकानी गरियो, सहिदको रगतले न्याय पाउनुपर्छ भन्ने चाहना सहिद परिवारको रहेको थियो ।” रासस