RayNewsDaily
राष्ट्रपति पौडेलसमक्ष चार जना मन्त्रीको शपथ
राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नवनियुक्त चार जना मन्त्रीले पद तथा गोपनीयताको शपथ लिनुहुँदै । तस्बिरः राष्ट्रपतिको सचिवालय

रे समाचार/काठमाडौं ।  राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष चार जना नवनियुक्त मन्त्रीहरुले आज पद तथा गोपनीयताको शपथ लिनुभएको छ । राष्ट्रपतिको कार्यालय शीतल निवासमा दिउँसो ३ बजे आयोजित विशेष कार्यक्रममा उहाँहरुले शपथ ग्रहण गर्नुभएको हो । 

नवनियुक्त मन्त्रीहरुमा महावीर पुन शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री, अनिलकुमार सिंहले उद्योग वाणिज्य, आपूर्ति तथा भूमिसुधार, मदन परियार कृषि तथा पशुपन्छी विकास, जगदीश खरेलले सञ्चार तथा सूचना प्रविधिमन्त्रीको शपथ लिनुभयो । 

शपथ कार्यक्रममा उपराष्ट्रपति रामसहायक प्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल, प्रधान न्यायाधीश प्रकाशमानसिंह राउतसहित सरकारका उच्च पदस्थ कर्मचारी तथा व्यक्तित्वहरुको सहभागिता थियो । 

minister-sapath3-1758535615.jpg
राष्ट्रपति पौडेलले अन्तरिम सरकारका प्रधानमन्त्री कार्कीको सिफारिसमा उहाँहरूलाई आइतबार नियुक्त गर्नुभएको हो । कानुन व्यवसायी पृष्ठभूमि रहेका मन्त्री सिन्हा सर्वाेच्च अदालतका पूर्वन्यायाधीश हुनुहुन्छ । त्यस्तै दुर्गम क्षेत्रमा ताररहित इन्टरनेट सेवा विस्तार गरी विश्वमै ख्याति कमाउनुभएका मन्त्री पुन राष्ट्रिय आविष्कार केन्द्रका प्रमुख हुनुहुन्छ । यसैगरी मन्त्री परियार कृषि विज्ञ हुनुहुन्छ भने मन्त्री खरेल वरिष्ठ पत्रकार हुनुहुन्छ ।

वर्तमान मन्त्रिपरिषदमा यसअघि गत भदौ ३० गते रामेश्वर खनाल अर्थ,  कुलमान घिसिङ ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास र ओमप्रकाश अर्याल गृह मन्त्रालयको जिम्मेवारीमा हुनुहुन्छ । बाँकी मन्त्रालयको कार्यभार प्रधानमन्त्री कार्कीले नै सम्हाल्नुभएको छ ।

‘जेनजी’ समूहको आन्दोलन र त्यसपछि उत्पन्न विषम परिस्थितिका बीच राष्ट्रपति पौडेलले पूर्वप्रधानन्यायाधीश कार्कीलाई यही भदौ २७ गते अन्तरिम सरकारको प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको थियो ।

प्रधानमन्त्री सुशीला कार्कीले चार जना मन्त्रीको नाम राष्ट्रपति कार्यालयमा सिफारिस गर्नुभएको थियो । स्वास्थ्यमन्त्रीमा डा. सङ्गीता कौशल मिश्राको नाम यसअघि सिफारिस भए पनि अन्तिममा आएर उहाँको नाम रोकिएको छ । सोही कारण उहाँले आज शपथ खान नपाउनुभएको गोरखापत्र अनलाइनले लेखेको छ । 

प्रकाशित मिति: सोमबार, असोज ६, २०८२  १५:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update