RayNewsDaily
जनताले पटकपटक गरेकोे क्रान्ति, सङ्घर्ष र लोकतान्त्रिक आन्दोलनको एउटा महत्त्वपूर्ण उपलब्धि संविधान : सभापति देउवा   

काठमाण्डू । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपालको संविधान नेपाली जनताले पटकपटक गरेकोे क्रान्ति, सङ्घर्ष र लोकतान्त्रिक आन्दोलनको एउटा महत्त्वपूर्ण उपलब्धि बताउनुभएको छ ।    
    
संविधान दिवसका अवसरमा आज जारी गर्नुभएको सन्देशमा उहाँले मुलुकमा लोकतन्त्रको स्थापना र पुनःस्थापनाका लागि भएका ऐतिहासिक क्रान्ति, सङ्घर्ष र जनआन्दोलनको उपलब्धिस्वरुप संविधानसभाबाट संविधान जारी भएको उल्लेख गर्नुभएको हो । यस अवसरमा सभापति देउवाले आफ्नो जीवन उत्सर्ग गर्नुहुने सम्पूर्ण ज्ञातअज्ञात वीर सहिदहरूको समर्पण र बलिदानको उच्च कदर गर्दै संविधान दिवसका अवसरमा उहाँहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्नुभएको छ । 
    
सन्देशमा सभापति देउवाले कांग्रेसको नेतृत्वमा, जनताका निर्वाचित प्रतिनिधिद्वारा असोज ३, २०७२ मा संविधानसभाबाट पारित भई संविधान घोषणा भएको बताउनुभएको छ । यो संविधानले लोकतन्त्र, मानवअधिकार र सामाजिक न्यायका विश्वव्यापी मान्यतालाई आत्मसात् गर्दै सबैको हक र अधिकार सुनिश्चित गरेको छ । संविधान जारी भएको एक दशक पूरा भएको यो ऐतिहासिक दिनलाई सबैले गौरवसाथ स्मरण गर्दै हरेक नागरिकले आफू स्वतन्त्र र समान भएको महसुस गर्दै प्रत्येक वर्ष हर्सोउल्लासका साथ संविधान दिवस मनाउँदै आएको उहाँको सन्देशमा उल्लेख छ ।    
    
उहाँले न्याय, समानता र स्वतन्त्रता एवं बहुलवादमा आधारित बहुदलीय संसदीय लोकतान्त्रिक व्यवस्था स्थापना गर्न पटकपटक भएका राजनीतिक एवं सामाजिक क्रान्ति, सङ्घर्ष र आन्दोलनमा आफ्नो प्राण उत्सर्ग गर्ने महान् सपुतहरूप्रति संविधान दिवसको यस पावन अवसरमा उच्च सम्मानका साथ हार्दिक श्रद्धासुमन अर्पण गर्दै संविधान दिवसको शुभकामना व्यक्त गर्नुभएको सन्देशमा उल्लेख छ । रासस     

  

प्रकाशित मिति: शुक्रबार, असोज ३, २०८२  ११:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update