RayNewsDaily
आज संविधान दिवस, सैनिक मञ्च, टुँडिखेलमा मूल कार्यक्रम आयोजना गरिने  

काठमाण्डू । संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८२ विगतमा झैँ यस वर्ष पनि विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ । राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यतामा आज बिहान ८ः३० बजे सैनिक मञ्च, टुँडिखेलमा दिवसको मूल कार्यक्रम आयोजना हुने भएको छ ।

समारोहलाई प्रधानमन्त्री सुशीला कार्कीले सम्बोधन गर्नुहुनेछ । अहिलेको विशेष राजनीतिक परिस्थितिमा दिवसका अवसरमा झाँकीलगायत कार्यक्रम भने स्थगन भएका छन् ।

नेपाली जनताको लामो बलिदानीपूर्ण र लामो सङ्घर्षको उपलब्धिस्वरुप संविधानसभाबाट नेपालको संविधान २०७२ असोज ३ गते घोषणा भएको थियो । मुलुकमा भएको दोस्रो संविधानसभाको निर्वाचनपछि गठित संविधानसभाले अथक मेहेनत र लामो विवादपछि ‘नेपालको संविधान, २०७२’ जारी गरेको थियो ।

वि.सं. २०७२ असोज ३ गते राति नयाँ बानेश्वरस्थित तत्कालीन संविधानसभा बैठकस्थल अन्तरराष्ट्रिय सम्मेलन केन्द्रबाट तत्कालीन राष्ट्रपति डा. रामवरण यादवले यो संविधानलाई जारी भएको घोषणा गर्नुभएको थियो ।

प्रकाशित मिति: शुक्रबार, असोज ३, २०८२  ०८:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update