
काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्याल आज प्रहरी प्रधान कार्यालय जानुभई जेनजी आन्दोलनका क्रममा भएका क्षतिका बारेमा जानकारी लिनुभएको छ । सो अवसरमा उहाँले उच्च मनोबलका साथ राष्ट्र र जनताका हितमा समर्पित हुन प्रहरी कर्मचारीलाई निर्देशन दिनुभयो ।
गृहमन्त्री अर्यालले भन्नुभयो, “आन्दोलनका क्रममा क्षतिग्रस्त प्रहरी इकाईको पुनःस्थापना र प्रहरी कर्मचारीको मनोबल उच्च राख्नका लागि समुदायले देखाएको सदायताप्रति प्रहरीको आवश्यकता र महत्व पुष्टि भएको छ, तपाईंहरु उच्च मनोबलका साथ जनताको हितमा काम गर्नुस् ।”
उहाँले नेपाल प्रहरीको कार्यक्षेत्रमा भएका कमीकमजोरी सुधार गर्दै अगाडि बढ्नुपर्ने बताउनुभयो । गृहमन्त्री अर्यालले कानुनबमोजिम आफ्नो कार्यसम्पादन गर्न प्रहरीलाई निर्देशनसमेत दिनुभयो । उहाँले भन्नुभयो,“तपाईंहरू कर्तव्यनिष्ठ र संयमित भएर आफ्नो जिम्मेवारी पालनामा लाग्नुहुनेछ भन्ने विश्वास वर्तमान सरकारले लिएको छ, यो सरकार उच्च मनोबलयुक्त प्रहरी कर्मचारीको पक्षमा छ ।” यसअघि गृहमन्त्री अर्यालले काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरी, प्रहरी वृत्त दरबारमार्ग र प्रहरी वृत्त महाराजगञ्जको क्षतिको स्थलगत अनुगमन गर्नुभएको थियो ।
उक्त कार्यक्रममा नेपाल प्रहरीका सातै प्रदेशका प्रहरी प्रमुख, जिल्ला प्रहरी कार्यालयका प्रमुख, इलाका प्रहरी कार्यालयका प्रमुखलगायतको भर्चुअल माध्याममार्फत उपस्थिति रहेको थियो । रासस